Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

     नेदरल्याण्ड्ससँग फाइनलमा पराजित भएपछि के भन्छन् प्रशिक्षक र कप्तान ?  


सूचना कुण्ड
     नेदरल्याण्ड्ससँग फाइनलमा पराजित भएपछि के भन्छन् प्रशिक्षक र कप्तान ?  

काठमाडौँ, फागुन  २२: घरेलु मैदानमा त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेदरल्याण्ड्ससँग चार विकेटले पराजित भएपछि कप्तान र प्रशिक्षक दबाबमा खेल्न चुक्दाको परिणाम भएको प्रतिक्रिया दिनुभएको छ ।    
    
 कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हजारौँ दर्शकलाई निशब्द बनाउँदै नेदरल्याण्ड्सले चार विकेटको रोमाञ्चक जित निकाल्यो । नेपालले प्रस्तुत गरेको एक सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ दशमलव तीन ओभरमा छ विकेटको क्षतिमा पूरा ग¥यो । विजेता नेदरल्याण्ड्सलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ट्रफी प्रदान गर्नुभयो ।    
    
 खेलपछि पत्रकारसँग कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय सामूहिक भएको बताउनुभयो । “टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय सामूहिक थियो”, उहाँले भन्नुभयो, “पहिलो पारीमा विकेट राम्रो देखिएको थियो भने दोस्रो पारीमा विकेट ‘स्लो’ थियो ।”    
    
 कप्तान पौडेलले सुरुआत राम्रो भए पनि योजनाअनुसार ‘फिनिसिङ’ गर्नबाट चुकेको बताउनुभयो । “जुन तरिकाले हामीले सुरुआत पाएका थियौँ, त्यसअनुसार दुई सय रन बनाउने योजना थियो तर हामीले १०÷१५ रन कम बनायौँ”, उहाँले भन्नुभयो, “मध्यम ओभरमा रनको गति कम भयो भने विकेट पतन पनि चाँडो भयो ।” उहाँले ‘पावरप्ले’ र ‘डेथओभर’मा कमजोरी सुधार हुन नसकेको पनि बताउनुभयो । “यस प्रतियोगिताबाट धेरै कुरा सिकेका छौँ । ‘पावर प्ले’ र ‘डेथओभर’ राम्रो प्रदर्शन गर्न सकेनौँ तर विश्वकपसम्म त्यसमा सुधार गर्नेछौँ ।”    
    
 राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाइले प्रतियोगिताले आगामी दिनमा योजना कार्यान्वयन गर्नका लागि धेरै कुरा सिकाएको बताउनुभयो । “नेदरल्याण्ड्स पनि ठूला टोलीलाई हराएको टिम हो, हामीले दबाबमा राम्रो प्रदर्शन गर्नबाट चुक्यौँ”, उहाँले भन्नुभयो, “यसअघि पनि धेरै ‘क्लोज गेम’हरु खेलेका छौँ । प्रतियोगिताले विश्वकपको तयारीका लागि फाइदा पुगेको छ ।”    
    
 उहाँले यही मार्च ९ देखि सुरु हुने हङकङविरुद्धको खेल ‘बेञ्च’ बलियो बनाउनका लागि सहयोगी हुने बताउनुभयो । “विश्वकपको तयारीका लागि अहिले धेरै प्रयोग भइरहेका छन् । यसले हामीलाई आगामी दिनमा राम्रो नतिजा दिन सहयोग पु¥याउनेछ ।” उहाँले फाइनल खेलमा अभिनास बोहोरालाई मौका दिइएको विषयमा नामिबियासँग राम्रो गरेकाले टीममा सहभागी गराइएको बताउनुभयो ।    
    
शृङ्खलामा नेदरल्याण्ड्स पाँच अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने नेपाल चार अङ्कका साथ फाइनलमा प्रवेश गरेको हो । चार खेलमा एक जित, दुई हार र एक ड्र गरी तीन अङ्क जोडेको नामिबिया तालिकाको पुछारमा रह्यो ।    
    
शृङ्खलाको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सले नेपाललाई दुई रनले पराजित गरेको थियो । साथै तेस्रो खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ५९ रनले पराजित गरेको थियो भने चौथो खेलमा नेपालले नामिबियाविरुद्ध तीन रनको रोमाञ्चक जित निकालेको थियो । साथै पाँचौँ खेलमा नेपालले नेदरल्याण्ड्सलाई छ विकेटको सहज जित निकालेको थियो । त्यसैगरी नामिबिया र नेदरल्याण्ड्सबीचको खेल वर्षाले प्रभावित भएको थियो । 

त्रिकोणात्मक टी-२० शृङ्खलाको उपाधि नेदरल्याण्ड्सलाई   

 त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेदरल्याण्ड्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हजारौ दर्शकलाई निशब्द बनाउँदै नेदरल्याण्ड्सले चार विकेटको रोमाञ्चक जित निकाल्याे । नेपालले प्रस्तुत गरेको एक सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ दशमलव तीन ओभरमा छ विकेटको क्षतिमा पूरा गर्‍यो ।    
    
 नेदरल्याण्ड्सको जितमा माइकल लेभिटले अर्धशतकीय पारी खेले । बिस्फोटक ब्याटिङ गरेका उनले २९ बलमा तीन छक्का र छ चौकाको सहयोगमा ५४ रन बनाए । म्याक्स ओ डाउडले २३ बलमा एक छक्का र दुई चौकाको सहयोगमा २२ रन बनाए ।    
    
 उत्कृष्ट सुरुआत गरेको नेदरल्याण्ड्सका लागि ओपनरद्वय लेभिट र ओ डाउडले पहिलो विकेटका लागि ८३ रनका साझेदारी गरे । नवौँ ओभरमा बलिङका लागि आएका कुशल मल्लले आफ्नो पहिलो ओभरमा दुई विकेट लिँदै नेपाललाई राहत दिलाए पनि त्यो जितका लागि पर्याप्त भएन ।    
    
 उनले नवौँ ओभरको पहिलो बलमा म्याक्स ओ डाउडलाई दीपेन्द्र सिंह ऐरीबाट क्याच आउट गराए भने सोही ओभरको पाँचौ बलमा माइकल लेभिटलाई कप्तान रोहित पौडेलबाट क्याच आउट गराउँदै पवेलियन फर्काए ।    
    
 नेदरल्याण्ड्सले एक सय ३४ रन छँदा तेस्रो विकेटका रुपमा विक्रम जित सिंहलाई गुमायो । सिंहले २३ बलमा तीन छक्कासहित २९ रन बनाए । साथै एक सय ४१ रन छँदा नेदरल्याण्ड्सले कप्तान स्कट एडवार्डलाई गुमायो । एडवार्डले जम्मा दुई रन बनाए ।    
    
 नेदरल्याण्ड्सले एक सय ६६ रन बनाउँदा पाँचौ विकेटका रुपमा साइब्राण्ड एङ्गलब्रेक्टलाई गुमायो । एङ्गलब्रेक्टले २९ बलमा तीन छक्का र चार चौकाको सहयोगमा ४८ रनको योगदान दिए । साथै छैटौँ विकेटका रुपमा एक सय ७३ रन छँदा तेजा निदामानुरु दुई रनमा आउट भए ।    
    
 नेदरल्याण्ड्सकाे जितमा बलर टिम भान डेर गुग्टेन पाँच बलमा दुई छक्का र दुई चौकाको सहयोगमा २१ रनकाे याेगदान दिए भने रोलफ भान डर पर्व दुई बनाए । यी दुवै खेलाडी अविजित रहे ।    
    
 नेदरल्याण्ड्सका लागि ५४ रन र दुई विकेट लिएका लेभिट प्लेयर अफ दि म्याच घोषित भए ।    
    
 त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । नेपालका लागि ओपनर आशिफ सेखले ३७ बलमा तीन छक्का र एक चौकाको सहयोगमा ४७ रनको योगदान दिए भने अर्का ओपनर कुशल भुर्तेलले २० रन बनाए । कप्तान रोहित पौडेलले २५ बनाए भने गुलशन झाले ३४ रनको योगदान दिए ।    
    
 दीपेन्द्र सिंह ऐरी एक रनमा आउट हुँदा कुशल मल्लले ११ बलमा तीन छक्काको सहयोगमा २६ रन बनाए । साथै करन केसीले नौ रन बनाउँदा आरिफ सेखले खाता खोल्न सकेनन् । पुच्छारका ब्याटरद्वय सोमपाल कामी र प्रतिस जिसीले समान छ÷छ रन बनाए ।    
    
 नेदरल्याण्ड्सका लागि फ्रेड काल्सेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र साइब्राण्ड एङ्गलब्रेक्टले समान दुई/दुई विकेट लिए ।    
    
 जारी शृङ्खलामा नेदरल्याण्ड्स पाँच अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने नेपाल चार अङ्कका साथ फाइनलमा प्रवेश गरेको हो । चार खेलमा एक जित, दुई हार र एक ड्र गरी तीन अङ्क जोडेको नामिबिया तालिकाको पुच्छारमा रह्यो ।    
    
 शृङ्खलाको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सले नेपाललाई दुई रनले पराजित गरेको थियो । साथै तेस्रो खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ५९ रनले पराजिति गरेको थियो भने चौथो खेलमा नेपालले नामिबियाविरुछ तीन रनको रोमाञ्चक जित निकालेको थियो । साथै पाँचौ खेलमा नेपालले नेदरल्याण्ड्सलाई छ विकेटको सहज जित निकालेको थियो । त्यसैगरी नामिबिया र नेदरल्याण्ड्सबीचको खेल वर्षाले प्रभावित भएको थियो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend