Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

साँघुरिँदै कालीगण्डकी नदी : हराउँदै मौलिक स्वरुप   


सूचना कुण्ड
साँघुरिँदै कालीगण्डकी नदी : हराउँदै मौलिक स्वरुप   

     
    सूचनाकुण्ड समाचारदाता 

  गलेश्वर, चैत  ५: नदी किनारमा मोटरबाटो र अव्यवस्थितरुपमा बढ्दै गएका बस्तीका कारण कालीगण्डकी साँघुरिँदै गएको छ । अव्यवस्थित बसोबासले पहिरो र कटानको जोखिम बढाएसँगै समस्या देखिन थालेको हो ।    
    
 पछिल्लो समय मुस्ताङको लेतेदेखि म्याग्दीको सदरमुकाम बेनीसम्मको कालीगण्डकी नदी क्षेत्रको मौलिक स्वरुप नै परिवर्तन भएको छ भने बेनीदेखि गुल्मीको रिडीसम्मको नदी क्षेत्र साँघुरिँदै गएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।    
    
 धार्मिक, सांस्कृतिक र जैविक महत्वयुक्त, बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको प्राकृतिकस्वरुप पछिल्ला केही वर्षयता नासिँदै गएको कालीगण्डकी नदीसम्बन्ध जानकार पुरुषोत्तमाचार्यले बताउनुभयो    
    
 बहुचर्चित कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडकखण्डको स्तरोन्नति थालिएसँगै सडक विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा, माटो, गेगर र सडककै कारण बर्सेनि पहिराले कालीगण्डकीको मौलिकस्वरूपमा परिवर्तन आएको पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनको भनाइ छ ।    
    
 हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि सडक विस्तार गर्ने नाउँमा त्यहाँको ढुङ्गा र गेगर कालीगण्डकीमा खसाल्दै आइएको छ ।    
    
 कालीगण्डकी नदी वर्षाको समयमा बाढीपहिरो र हिउँदको समयमा अवैधरुपमा ढुङ्गा, बालुवा निकाल्ने गिरोहका कारण सबैभन्दा बढी मारमा परेको छ । यहाँ सामान्य वर्षा हँुदासाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरो खस्नुका साथै बाटो बगाउने र कालीगण्डकीमा गएर मिसिने गरेको छ ।    
    
    
 सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभिर, बाँदरजुङ्गे भिरमा बर्सेनि ठूलाठूला पहिरो जाँदा कालीगण्डकीको जलचक्र प्रणाली नै परिवर्तन हुने गरेको नदी संरक्षणकर्मी सागरजीवी उपाध्यायले बताउनुभयो ।    
    
 वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँठाउँमा पहिरो जाने र त्यो पहिरो कालीगण्डकी नदीमा मिसिने हुँदा खोँचयुक्त कालीगण्डकी पुरिँदै र साँघुरिँदै जान थालेको जानकारहरूले बताएका छन् ।    
    
 डोजर र स्काभेटरले जथाभावी उत्खनन् गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली नै खल्बलिँदै गएको छ । बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खननका कारण नदीले आफ्नो मौलिक र प्राकृतिक धारपरिवर्तन गर्नुका साथै त्यहाँका जलचर प्राणी बसाइँ सर्दै गएपछि नदीको जलचक्र प्रणाली नै खल्बलिएको वतावरणविद्ले बताउँदै आएका छन् ।    
    
    
तटीय बस्ती जोखिममा    
    
 राज्यले प्रभावकारी कदम चाल्न नसक्दा नदीको दोहन, उत्खनन, अतिक्रमण र नदीजन्य पदार्थको चोरी निकासीका कारण विश्वमै दुर्लभ मानिएको बहुमूल्य शालिग्राम शिला सङ्कटमा परेका छन् । पहिलेको जस्तो कालीगण्डकी नदीमा शालिग्राम शिला पाइन छाडेको मुस्ताङ जोमसोमका यमबहादुर शेरचनले बताउनुभयो ।    
    
 “पहिलेपहिले नदी किनारमा नै शालिग्राम भेटिन्थे तर, अहिले बीचबीचमा गएमा खोज्दा पनि मुस्किलले पाइन्छन्”, उहाँले भन्नुभयो । नदीको जलचक्र प्रणाली परिवर्तन हुँदा प्राकृतिक र मानवीय सङ्कटसमेत बढ्दै गएको छ । नदीले मौलिक धार परिवर्तन गर्दा बाढीपहिराका कारण तटीय बस्ती जेखिममा पर्दै जान थालेका छन् । नदी साविककोभन्दा गहिरो र साँघुरो बन्दै गएको व्यवसायी इन्द्रमान शेरचनले बताउनुभयो ।    
    
 उहाँका अनुसार कालीगण्डकी नदीको जलचक्र प्रणालीमा समेत परिवर्तन आएको छ । नदीको जलचक्र प्रणालीमा आएको परिवर्तनले बाढीपहिरो र नदी कटानको जोखिम उच्चरूपमा बढ्दै गएको छ । कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै पनि काम नगर्न र नगराउन सर्वोच्च अदालतले गत साउनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका नाममा अन्तरिम आदेश दिएको थियो ।    
    
 “तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले विवादको अन्तिम आदेश नभएसम्मका लागि कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै कार्य नगर्न मन्त्रिपरिषद्को कार्यालय समेतलाई अन्तरिम आदेश दिएको थियो । तर कालीगण्डकीको न त दोहन रोकिएको छ न शालिग्रामको चोरी निकासीमा नै नियन्त्रण आउन सकेको छ”, कालीगण्डकी संरक्षण अभियन्ता सागरजीवी उपाध्यायले बताउनुभयो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend