Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

  मुस्ताङको ढि खोलाको तातोपानी मुहान संरक्षणको पर्खाइमा 


सूचना कुण्ड
  मुस्ताङको ढि खोलाको तातोपानी मुहान संरक्षणको पर्खाइमा 

   

म्याग्दी, माघ  १८: मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ ढि खोलाको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ । अध्ययन अनुसन्धान र उपयुक्त प्रविधिको पहिचान हुन नसक्दा ढि खोलाले बनाएको खोंचभित्र रहेको तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो । लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ का पूर्ववडाध्यक्ष हिरा गुरुङले ढि खोलाको तातोपानी खेर गइरहेको बताउनुभयो ।    
    
 “चिसो हावापानी र मौसम हुने मुस्ताङको तातोपानी प्रकृतिको वरदान हो”, उहाँले भन्नुभयो, “तातोपानीलाई व्यवस्थितरुपमा उपभोग गर्नसक्ने हो भने पर्यटन र आर्थिक हिसाबले धेरै राम्रो हुने थियो ।”    
    
 मुहानको तातोपानीलाई नजिकै स्नान गृह र पोखरी बनाएर प्रयोगमा ल्याउन पहल गरिए पनि अनुसन्धान तथा प्रविधिमा पहुँच नपुग्दा सफल हुन नसकेकामा पूर्ववडाअध्यक्ष गुरुङले चिन्ता व्यक्त गर्नुभयो ।    
    
 खोंचभित्र पहाडबाट तातोपानीको फोहरा निस्कने गर्छ । बर्खामा तातोपानीको फोहोराभन्दा माथि खोलाको सतह पुग्छ । हिउँदमा खोलामा हिँडेर करिब ५० डिग्री सेल्सियस तातोपानीको फोहरा निस्कने ठाउँसम्म सहजै पुग्न सकिने लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ ताङ्ग्या गाउँका पासाङ छिरिङ गुरुङले बताउनुभयो ।    
    
 “पाइपबाट जस्तै पहाडको प्वालबाट निस्कने तातोपानीको फोहराले मानिसलाई ढलाउला झैँ गर्छ”, उहाँले भन्नुभयो, “मुहानबाट आएको तातोपानी मिसिएको खोलामा स्नान गर्न सकिन्छ ।” तातोपानीको मुहान वरपर झरना र तलाउ चिसोले जमेर बरफ बनेको छ । बेनी–जोमसोम–कोरला सडकमा पर्ने लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ गाउँदेखि ३० मिनेट गाडीमा यात्रा गरेपछि ढि गाउँमा पुगिन्छ । ढि गाउँदेखि ३० मिनेट पैदल हिँडेर तातोपानीको मुहानमा पुग्न सकिन्छ । साविक सुर्खाङ गाविसको भूगोलमा रहेको यो तातोपानीको मुहान नजिकै सुर्खाङ, ढि, यारा र घारा गाउँ छन् ।    
    
 उपल्लो मुस्ताङ घुम्न आउने पर्यटकका लागि ढि खोलाको तातोपानी नयाँ आकर्षण बन्नसक्ने सम्भावना छ । दिगोरुपमा बाह्रै महिना नियमित तातोपानीलाई प्रयोगमा ल्याउने आधार पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता रहेको पूर्ववडाध्यक्ष गुरुङले बताउनुभयो ।    
    
 स्थानीयवासीका अनुसार मुस्ताङको पूर्वराजपरिवारका सदस्य स्नानका लागि ढि खोलामा आउने गर्दथे । उनीहरुले मुहान नजिकै स्नानका लागि आउनेहरुका लागि आश्रयस्थल बनाइदिएका थिए । स्थानीयवासीहरु हिउँदयाममा ढि खोलाको तातोपानी नुहाउन जान्छन् । व्यवस्थित हुन नसकेकाले पर्यटक भित्र्याउन सकिएको छैन । गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले ढि खोलाको तातोपानीलाई व्यवस्थित गर्न पहल गरिने बताउनुभयो ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend