Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

    बास्केटबल कोर्टमा कराते !


सूचना कुण्ड
    बास्केटबल कोर्टमा कराते !

     
    सूचनाकुण्ड समाचारदाता,

तनहुँ, माघ१४ :  सामान्यता कराते खेल कभर्डहलमा आयोजना हुन्छ । घामपानीमा पनि प्रतियोगिता आयोजना गर्न कभर्डहलमा सहज हुन्छ तर तनहुँमा अवस्थामा त्यस्तो छैन । यहाँ बास्केटबल कोर्टमा कराते खेलाउनुपर्ने बाध्यता छ ।    
    
कभर्डहलको अभावमा नेपाल कराते महासङ्घ गण्डकी प्रदेशले सदरमुकाम दमौलीमा रहेको बास्केटबल कोर्टमा करातेका छनोट प्रतियोगिता गरेको छ । हैरान्स क्लबले निर्माण गरेको बास्केटबल कोर्टमा गण्डकी प्रदेशका नौवटा जिल्लाका खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।    
    
पूर्वाधार अभावका कारण बास्केटबल कोर्टमा करातेको प्रतियोगिता आयोजना गर्नुपरेको नेपाल कराते महासङ्घ गण्डकी प्रदेश अध्यक्ष मनिराज थापाले जानकारी दिनुभयो । कभर्डहल नहुँदा बास्केटबल कोर्टमा भए पनि खेल खेलाएर खेलाडी छनोट गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा एउटा पनि कभर्ड हल छैन । कभर्ड हल नहुँदा कहिले खुला चौरमा त कहिले बास्केटबल कोर्टमा खेल खेलाउनुपर्ने बाध्यता छ । खेल क्षेत्रको विकासका लागि सरोकारवाला निकायले चासो नदिँदा समस्या भइरहेको छ ।”    
    
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले सङ्घीयतापछि तीन तहको सरकार बनेको र सबैभन्दा नजिकको सरकार स्थानीय सरकारले पनि खेल क्षेत्रको भावना बुझ्न नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पूर्वाधार नहुँदा खेलकुदका गतिविधि सञ्चालनमा समस्या भइरहेको छ । तनहुँमा खेलकुदका गतिविधि धेरै हुने गरे पनि पूर्वाधारकै कमी छ ।”    
    
कराते खेलाडी तनहुँका मनिषा पुनले पूर्वाधार निर्माण भइदिए खेल्न सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी देशका लागि खेल्छाौ, देशले हाम्रा लागि पूर्वाधार बनाइदिनुपर्छ ।”    
    
यसैबीच यही माघ १८ गतेदेखि २० गतेसम्म हुने तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका लागि गण्डकी प्रदेशका खेलाडी चयन गरिएको छ ।    
    
नेपाल कराते महासङ्घ गण्डकी प्रदेशले शनिबार तनहुँको दमौलीमा प्रतियोगिताको आयोजना गर्दै गण्डकी प्रदेशको तर्फबाट खेलाडी छनोट गरेको हो । प्रतियोगितामा गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेकका नौ जिल्लाबाट खेलाडी सहभागिता रहेको गण्डकी प्रदेश अध्यक्ष मनिराज थापाले जानकारी दिनुभयो ।    
    
विभिन्न जिल्लाका खेलाडीबीच प्रतिस्पर्धा गराई राष्ट्रिय प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार महिला र पुरुष गरी कुल २० खेलाडी छनोट गरिएको छ ।    
–––    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend