Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 निमोनिया रोकथामका लागि तयारी रहन निर्देशन 


सूचना कुण्ड
 निमोनिया रोकथामका लागि तयारी रहन निर्देशन 

   
सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ,  पुस ६: चीनका बालबालिमा देखिएको कडा खालको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निमोनियाको रोकथाम र उपचारका लागि अस्पतालहरुलाई उच्च सतर्कता साथ तयारी अवस्थामा राखिएको बताउनुभयो ।    
    
डा बुढाथोकीका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस (श्वासप्रश्वासमा असर गर्ने भाइरस)ले गर्दा चीनका बालबालिकामा कडा खालको निमोनिया देखिएको छ । कोरोना भाइरस जस्तै सर्ने डरले नेपालले उक्त रोगको उपचार र रोकथाममा लागि सबै निकायलाई सचेत गराइसकेको उहाँले जानकारी दिनुभयो ।    
    
डा बुढाथोकीले चीनबाट प्रवेश गर्ने सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेक्समा चेकजाँच कडाइ गरिएको बताउनुभयो । “चीनमा यसको सङ्क्रमण देखिएको पनि धेरै समय भयो । यदि नेपालमा प्रवेश गर्ने थियो भने पहिल्यै नै आइसक्ने थियो”, उहाँले भन्नुभयो, “अहिले हामीले अस्पताललाई तयारी अवस्था राखेका छौँ भने सबैलाई सचेत रहन आग्रह गरेका छौँ ।”    
    
मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले नेपालमा यसअघि देखिएका भन्दा फरक र लामो समयसम्म निमोनियाका लक्षण देखिएका बिरामीको नमुना सङ्कलन गर्न सम्बद्ध सबैलाई निर्देशन दिइएको बताउनुभयो । इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले उक्त निमोनियाको रोकथाम तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, जनस्वास्थ्य प्रयोगशाला, कान्ति बाल अस्पतालसँग छलफल गरिसकेको उहाँले जानकारी दिनुभयो ।    
    
महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त ओझाले सम्भावित जोखिम कम गर्नका लागि सरोकारवाला निकायसँग छलफल गरिएको बताउनुभयो । उहाँले चीनमा देखिएको निमोनिया कुनै नौलो किसिमको सङ्क्रमण नभएको र श्वासप्रश्वाससम्बन्धी रोग रहेको उल्लेख गर्दै सबै निकायलाई सचेत बनाइएको जानकारी दिनुभयो ।    
    
“चीनमा एक्कासि धेरै बालबालिका निमोनिया देखिएको छ । कोरोना र मङ्किफक्सले गर्दा हामी झस्किएका छौँ । त्यसैले बेलैमा निमोनियाको रोकथाम र उपचारका लागि तयारी अवस्थामा रहन सबै निकायलाई निर्देशन दिएका छाँै,” ओझाले भन्नुभयो । उहाँले उक्त निमोनियाको परीक्षण गर्ने व्यवस्था नेपालमा रहेको भन्दै जोखिमको तह बढ्दै गए सोही अनुसार उपचार र रोकथाम गरिने बताउनुभयो ।    
    
कान्ति बाल अस्पतालका निर्देशक डा पङ्कज रायले निमोनियाको उपचारका लागि अस्पताल तयारी अवस्थामा रहेको बताउनुभयो । “हाम्रीले अस्पतालमा चिकित्सकको समूहलाई निमोनियाको उपचारका लागि तयारी अवस्थामा राखेका छौँ,” उहाँले भन्नुभयो ।    
    
रायका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस (आरएसभी) गर्दा भएको निमोनियाले बच्चामा लामो समयसम्म रुघाखोकी लाग्ने, जीउ दुख्ने, श्वासप्रश्वाससम्बन्धी समस्या आउने, ज्वरो आउने, छाति बज्ने, सिँगान बग्नेलगायत जस्ता लक्षण देखिने गर्दछन् । उहाँले अहिले पनि अस्पतालमा निमोनियाको प्रभावकारी उपचार भइरहेको भन्दै भन्नुभयो, “हामी कहाँ अहिले पनि आरएसभीले गर्दा हुने बिरामी छन् । चीनमा देखिएको आरएसभी भने यहाँ देखिएको भन्दा कडा खालको हो ।”    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend