Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

बाजुराकी रोकायाले बाटोमै जन्माइन् नव जातशिशु   


सूचना कुण्ड
बाजुराकी रोकायाले बाटोमै जन्माइन् नव जातशिशु   


   सूचनाकुण्ड समाचारदाता 
बाजुरामङ्सिर २० ,: बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन् । बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था जाने क्रममा बाटोमै छोरी जन्माएकी हुन् ।    
    
 सुत्केरी व्यथा लाग्ने वित्तिकै रोकाया एक्लै मङ्गलबार आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदै गर्दा बाटोमा छोरी जन्माएकी स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आफू स्वास्थ्य चौकी जाँदै गर्दा बाटोमा सुत्केरी व्यथा लागेको अवस्थामा रोकायालाई देखेपछि सहयोग गरेकी थिएँ ।”    
    
 रोकायालाई बच्चा जन्माइसकेपछि अत्यधिक रक्तस्राव भएकाले बाटोबाट उद्धार गरी स्वास्थ्य चौकी ललिएको चदाराले बताउनुभयो । उनीसँग अरु कोही आफन्त नभएको भन्दै एक्लै स्वास्थ्य चौकी आउँदै गर्दा व्यथा लागेपछि बाटोमा बच्चा जन्माएकी उहाँको भनाइ थियो ।    
    
 रोकायाका यसअघि एक छोरा र एक छोरी छन् । उनले तीनै सन्तान बाटोमै जन्माएकी छन् । बाजुरामा रोकाया मात्र नभइ धेरै आमा बाटोमै बच्चा जन्माउन बाध्य छन् । केही महिना पहिला काँडाकी ३२ वर्षीया उज्जली सुनारले पनि बाटोमै छोरी जन्माएकी थिइन् ।    
    
 “जिल्लाको गौमूल गाउँपालिका–३ माझपालीकी २१ वर्षीया भाँग्य चदारा, हिमाली गाउँपालिका–१ बामुकी नानी रोकाया, हिमाली–२ नातिखोलाकी २३ वर्षीया पार्वती बुढा, स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटकी ३५ वर्षीया कार्तिका विकलागयत पनि स्वास्थ्य संस्था जाँदै गर्दा व्याथा लागेपछि बाटोमै नवजात शिशु जन्माएका केही उदाहरण हुन्”, रुगिन चौकीमा कार्यरत बिमला पाण्डेले भन्नुभयो । उहाँले यी केही उदाहरण मात्र भएको जनाउँदै बाजुराका दुर्गम गाउँका बाटो र घरमा सुत्केरी हुनेको सङ्ख्या धेरै रहेका बताउनुभयाे ।    
    
 बाजुरामा चार वर्षयता १२ जना सुत्केरीको मृत्यु भइसकेको छ । गर्भवती भएपछि नियमित गर्भजाँचको कमि र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउँदाको परिणाम रहेको बडिमालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काले बताउनुभयो । सुत्केरी भएको बेला आराम नगर्ने, पोसिलो खानेकुरा नखाने, कडा परिश्रम गर्नेलगायत कारणले सुत्केरी महिलाले ज्यान गुमाउने गरेको उहाँले बताउनुभयो ।    
    
 बाजुरामा बाटोमा सुत्केरी हुनेको यकिन तथ्याङ्क नभए पनि एक महिना एकदेखि दुईजना महिला बाटोमै सुत्केरी हुने गरेका खड्काले जानकारी दिनुभयो । सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दा पनि सुत्केरी महिला मर्ने क्रम नरोकिएको उहाँको भनाइ थियो ।    
    
 बाजुराका आमाहरुको प्रजनन् स्वास्थ्य निकै दयनीय अवस्थामा रहेको खड्काले बताउनुभयो । कडा परिश्रम, धेरै र कम उमेरमा बच्चा जन्माउनु, स्वास्थ्य सेवा पहुँचबाट वञ्चित, पौष्टिक आहारको कमीलगायत कारणले सुत्केरीको ज्यान जोखिम पर्ने गरेको उहाँले जानकारी दिनुभयो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend