सूचनाकुण्ड समाचारदाता
काभ्रेपलाञ्चोक, कात्तिक १७ : काभ्रेपलाञ्चोकको धुलिखेलसित जोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट बिहीबार सवारीसाधन जाँचका क्रममा ३३ बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार विपी राजमार्ग भएर अवैधरूपमा चिनी भित्रने गरेको छ । प्रहरीले उक्त राजमार्गमा अहिले नियमितरुपमा यातायातका साधन जाँच गरिरहेको उहाँले बताउनुभयो ।
प्रहरीले यसअघि यही कात्तिक पहिलो साता सोही राजमार्गबाट राजस्व छली गरेर ल्याएको ९२ बोरा चिनी ट्रकबाट बरामद गरेको थियो । ट्रकमा धानको बोराले छोपी ल्याएको ९२ बोरा चिनी र २८ बोरा धान बरामद गरी ट्रक नियन्त्रणमा लिएको थियो ।
अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा
तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो ।
आज गुह्वेश्वरी ट्रेड लिङ्कमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी, शोभाभगवती, पकनाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा पसलमा बिक्रीका लागि पठाइएको नेपाल खुद्रा व्यापार सङ्घका कार्यवाहक अध्यक्ष नरेश खड्गीले राससलाई जानकारी दिनुभयो । भोलि काठमाडौँका भित्रि सहरका पसलमा थप छ सय बोरा चिनी पठाइने उहाँले जानकारी दिनुभयो ।
सङ्घले उपलब्ध गराएको चिनी खुद्रा व्यापारीले प्रतिकिलो रु एक सय १७ बिक्री गर्नेछन् । “हामीले सङ्घका सदस्य व्यापारीलाई चिनी प्रतिकिलो रु एक सय १७ मा बिक्री गर्न निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो, “उपभोक्ताले चिनीका लागि निर्धारित मूल्यभन्दा बढी तिर्न पर्दैन ।”
सङ्घले उपलब्ध गराएको चिनी पाइने सूचना प्रत्येक पसलमा टाँस गर्न व्यवसायीलाई आग्रह गरिएको उहाँको भनाइ छ । काठमाडौँ उपत्यकामा एक हजार सात सय बढी खुद्रा व्यापारी सङ्घमा आबद्ध छन् ।
वाणिज्य विभागमा महानिर्देशक तीर्थराज चिलुवालले अब विस्तारै चिनीको अभाव हट्दै जाने बताउनुभयो । खुद्रा व्यवसायीले लागत मूल्यमा नै चिनी बिक्री गर्ने उहाँले जानकारी दिनुभयो ।
