Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नन्द भाउजुको सेलरोटी उद्यम 


सूचना कुण्ड
नन्द भाउजुको सेलरोटी उद्यम 

     

सूचनाकुण्ड समाचारदाता , 

 टङ्कीसिनवारी, माघ २३:   इटहरी उपमहानगरपालिका-२ का अम्बिका सुवेदी र रिता मिश्रलाई सेलरोटी पकाउने सोख थियो । नाताले सुवेदी नन्द र मिश्र भाउजु हुनुहुन्छ ।    
    
 सेलरोटी बनाउन जान्ने उहाँहरुलाई घरमा वा छिमेकमा केही परे सेलरोटी पकाउने जिम्मा आइलाग्थ्यो । उहाँहरु पनि आइलागेको जिम्मेवारी झर्को नमानी पूरा गरिदिनुहुन्थ्यो ।    
    
 विसं २०७३ सालमा उहाँहरु सदस्य भएको ‘मायाको घर’ संस्थाको वार्षिकोत्सवमा सहभागीलाई के खुवाउने भनि पदाधिकारीबीच छलफल हुँदा नन्द भाउजुले सेलरोटी पकाएर खुवाउने जिम्मा लिनुभयो । वार्षिकोत्सवका सहभागी सबैले उहाँहरुले पकाएको सेलसोटी औधी मीठो मानी खाए । सेलरोटीको स्वादका चर्चा इटहरी बजारमा फैलियो ।    
    
 वार्षिकोत्सवमा सहभागी भएका एकले आफ्नो घरमा पूजा रहेको भन्दै सोही समयमा एक सय वटा सेलरोटीको अर्डर दिनुभयो । नन्द, भाउजुले भोलिपल्ट सय सेलरोटी पकाएर सहभागीको घरैमा पु¥याइदिनुभयो । सेलरोटीको प्रसंशा त्यहाँ पनि भयो । यो उहाँहरुको व्यावसायिक सुरुवात थियो । त्यसपछि इटहरी, धरान र विराटनगरका विभिन्न ठाउँबाट पूजाआजा, व्रतबन्ध, पास्नीका लागि अवसरमा सेलरोटीको अर्डर आउन थाल्यो ।    
    
 इटहरी, धरान र विराटनगरका सुपरमार्केटले पनि नन्द, भाउजुले पकाएको सेलरोटी खोज्न थाले । नन्द, भाउजुले सोखका रूपमा थाल्नुभएको सेलरोटीले विस्तारै व्यवसायको रूप लियो । उहाँहरुले यसका लागि कम्पनी दर्ता गर्नुभयो र सेलरोटी पकाउँदै बिक्री गर्न थाल्नुभयो ।    
    
 उहाँहरुले अहिले ‘अर्गानिक चन्द्रमा कोशेली तथा मसला उद्योग’मार्फत् सेलरोटी पकाउँदै आउनुभएको छ । यसका लागि पाँच जनाले जागिर पाएका छन् । सेलरोटी पकाउने काममा मात्र सीमित नभएर नन्द भाउजुको जोडीले उद्योगको दायरा फराकिलो बनाउँदै लैजानु भयो । हाल उहाँको कम्पनीमा अनर्सा, सुत्केरी मसला, बेसार, मसौरा, मकैको चामल, जौ चना मिश्रित सातुको पनि उत्पादन भइरहेको छ ।    
    
 हाल विराटनगर–२ स्थित शङ्करपुरमा आयोजना गरिएको ‘सिएनआइ एक्स्पो–२०७९’मा पनि उहाँहरुले स्टल राख्नुभएको छ । स्टलमा पकाएको सेलरोटी चाख्न उपभोक्ताको बाक्लो भिड देख्न सकिन्छ ।    
    
 एक्स्पोमा नन्द र भाउजुले दैनिक पाँच सयदेखि आठ सय सेलरोटी बिक्री गर्दै आउनुभएको छ । एउटा सेलरोटीलाई रू ३० मा बिक्री गर्नुहुन्छ । भाउजु रिता मिश्रले संस्थामा खाजाका रूपमा पकाएर बाँडिएको सेलरोटीले आफूलाई उद्यमी बनाएको बताउनुहुन्छ ।    
    
 उहाँले सेलरोटीको अर्डर अत्यधिक हुन थालेपछि उद्योग खोलेर काम सुरु सुरु गरेको बताउनुभयो र गरेको बताउनुहुन्छ । अन्य खाद्यान्न सामग्रीसँगै उत्पादनको काम पनि थालेको बताउनुभयो । मिश्रका अनुसार उहाँहरुले हाल दैनिक तीन हजार सेल पकाउने र यसबाट सबै खर्च कटाएर मासिक ५० देखि ६० हजारसम्म बचत हुन्छ ।    
    
 सीमित जनशक्तिका कारण उत्पादन विस्तार गर्न अझै नसकिएको उहाँको भनाइ छ । मिश्रले उधारोमा सामान लिने अनि समयमै पैसा नतिर्ने कतिपयको प्रवृत्तिका कारण समस्या भएको बताउनुभयो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend