Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप असोज १० गतेसम्म  


सूचना कुण्ड
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप असोज १० गतेसम्म  

  
  सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ, असोज ६ : किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ अभियानको समय थप गरिएको छ । यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म सञ्चालन हुने भएको हो ।    
    
 स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले शैक्षिक हडताल, संविधान दिवसलगायत कारणले लगातार बिदा परेकाले खोप लगाउने समय थप गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि पनि बिदा परेकाले विद्यार्थी खोप लगाउन नआएपछि पाँच दिन थप गरिएको थियो ।    
    
 “लगातारको सार्वजनिक बिदाले विद्यार्थी (किशोरी) खोप लगाउन आएनन्”, डा गौतमले भन्नुभयो, “त्यही भएर लक्षित किशोरीलाई खोप लगाउनका लागि समय थप गरिएको हो ।” तीज, संविधान दिवस र शैक्षिक हडतालले खोप लगाउने कार्य प्रभावित भएको उहाँको भनाइ थियो ।    
    
 डा गौतमका अनुसार अहिलेसम्म ६४.४३ किशोरीले मात्र एचपिभी खोप लगाएका छन् । सरकारले पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ नौ हजार नौ सय ९९ किशोरीलाई लगाउने लक्ष्य राखेकामा अहिलेसम्म छ हजार चार सय ४२ किशोरीले खोप लगाइसकेका उहाँले जानकारी दिनुभयो ।    
    
 कोशी प्रदेशका सबै किशोरीले खोप लगाइसकेका छन भने मधेस प्रदेशको वीरञ्गजस्थित नारायणी अस्पतालमा एक हजार दुई सय ७२, बागमती प्रदेशको परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा आठ सय २५, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठ सय ५९, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँकेमा चार सय ८९, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत सात सय ८५ र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमामा एक सय ९३ जना किशोरीले एचपिभी खोप लगाइसकेका खोप शाखाका प्रमुख डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सबभन्दा कम प्रसूति अस्पतालमा २७ प्रतिशत किशोरीले मात्र खोप लगाएका छन् ।    
    
 यही भदौ २७ गते सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपिभी खोप ‘डेमोस्ट्रेसन’का रुपमा सञ्चालन गरिएको छ । खोपको पहिलो मात्रा अहिले दिइने र छ महिनापछि दोस्रो मात्रा दिइनेछ ।    
    
 एचपिभी खोप दुई मात्रा लगाए पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमणबाट ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने डा गौतमले बताउनुभयो । यसअघि सरकारले सन् २०१६/१७ मा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप नमूनाका रुपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend