Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मधेसको कथा भन्नुपर्छ : निर्देशक झरना थापा


सूचना कुण्ड
मधेसको कथा भन्नुपर्छ : निर्देशक झरना थापा

सूचनाकुण्ड समाचारदाता 
    काठमाडौँ, भदौ  २१: अभिनेत्री झरना थापाले निर्देशन गर्नुभएको नयाँ चलचित्र ‘एक भगवत गीता’ को अधिकांश छायाङ्कन जनकपुरमा गरिएको छ ।    
    
मिथिलाको संस्कृति र कलालाई चलचित्रमा प्रस्तुत गरिनुका साथै जानकी मन्दिरलाई पृष्ठभूमि बनाएर अधिकांश छायाङ्कन गरिएको छ । पछिल्लो केही वर्षयता मधेसले नेपाली चलचित्रमा अपनत्व महसुस गर्न नसक्नुको कारण स्थानीय भाषा र संस्कृति नसमेटिनु पनि एक कारण हुन सक्ने निर्देशक थापाले बताउनुभयो ।    
    
“हाम्रो चलचित्रमा मधेसको पात्र मात्र नभई संस्कृति पनि प्रस्तुत गरिएको छ । यसले जानकी मन्दिरको पर्यटनमा टेवा पु¥याउनेमा म विश्वस्त छु”, उहाँले भन्नुभयो, “तराईको बजारलाई ध्यान दिँदै मैथली भाषाको प्रयोग गरिएको छ तर, त्यसलाई विश्वभर बुझ्ने किसिमले हामीले चलचित्रमा प्रस्तुत गरेका छौँ ।”    
    
स्थानीय भाषामै स्वराङ्कन गराएर चलचित्र प्रदर्शन गर्न सकिए राम्रो हुने भए तापनि अहिले विश्व प्रदर्शनलाई मात्र केन्द्रित गरिएको उहाँले बताउनुभयो ।    
    
निर्देशक थापाले आफ्नो चौथो निर्देशकीय चलचित्रमा सामाजिक कथा देखाउनु हुँदैछ । अघिल्ला चलचित्र परम्परागत भए पनि आउँदो समयमा समाजसँग जोडिएको कथा र पात्रलाई पर्दामा ल्याउने उहाँको योजना छ । “मैले सुरुआती समयलाई सिकाइको रूपमा लिएँ । धेरै दर्शकसम्म पुग्न परम्परागत कथ्यशैलीका चलचित्र निर्देशन गरेँ । किनकि ती दर्शकलाई अब सामाजिक विषयसँग जोडिएका चलचित्रसम्म आकर्षित गर्नेछु”, उहाँले भन्नुभयो ।    
    
उहाँले चलचित्र निर्देशन गर्दा निर्देशक र लेखक बजार निर्देशित हुनुपर्ने अवस्था रहेको बताउनुभयो । किनकि बजारमा व्यापार गर्न नसके यात्रा रोकिने उहाँको बुझाइ थियो । उहाँले भन्नुभयो, “हामीले कथामा पात्र सोच्दा नै बजारको मूल्यमान्यता जोडिँदो रैछ तर, स्टार कलाकारकै कारण चलचित्र भवनसम्म आइपुग्नुभएका दर्शक भने विषयवस्तुमार्फत नै सन्तुष्ट हुनुपर्छ ।”    
    
यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्दामा अभिनेता विपिन कार्कीले ‘कमलामाई’ को भूमिकामार्फत प्रस्तुत गर्नुभएको छ । चलचित्रमा धीरज मगर, कविर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायतका कलाकारले अभिनय गर्नुभएको छ ।    
    
सुनिलकुमार थापाले निर्माण गर्नुभएको चलचित्रमा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलले पटकथा, राजेश श्रेष्ठले छायाङ्कन, मित्र डी गुरुङले सम्पादन, हिमाल केसीले द्वन्द्व निर्देशन गर्नुभएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend