Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सुष्मा कोइराला मेमोरियल अस्पतालमा जलनका बिरामीको उपचार


सूचना कुण्ड
सुष्मा कोइराला मेमोरियल अस्पतालमा जलनका बिरामीको उपचार

सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ  भदौ८ : काठमाडौँको साँखुमा सञ्चालित सुष्मा कोइराला मेमोरियल अस्पतालले पाँच शय्याको सुविधासम्पन्न आइसियुमार्फत जलनका बिरामीको उपचार गर्दै आएको छ । काठमाडौँको शङ्खरापुर नगरपालिका–६ साँखुमा विसं २०५४ मा स्थापना भएको सो अस्पतालले आगोले पोलेका र अन्य जलनका बिरामीलाई पाँच शय्याको आइसियुमार्फत सेवा प्रदान गर्दै आएको हो ।    
    
 सुरुको समयमा जलनको विशेष उपचारका लागि हायर डिफिसेन्सिफ युनिट (एचडियु) मार्फत सेवा प्रदान गर्दै आएको अस्पतालले पछिल्लो समय पाँच शय्याको आइसियुमार्फत जलनको उपचार गर्दै आइरहेको अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माले जानकारी दिनुभयो ।    
    
 इन्टरप्लाष्ट जर्मनी फाउन्डेसनको सहयोगमा विगत २६ वर्षदेखि सञ्चालित उक्त अस्पतालको अगुवाइ सुष्मा कोइराला मेमोरियल ट्रष्टले गर्दै आएको छ । उक्त अस्पतालले स्थापनाकालदेखि हालसम्म पोलिएका २४ हजार बिरामीको सफल शल्यक्रिया गरिसकेको छ ।    
    
 विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रत्येक वर्ष ५५ हजार मानिस जलनमा पर्ने र त्यसका कारण बर्सेनि दुई हजार एक सय व्यक्तिको ज्यान जाने गरेको छ । सो अस्पतालमा भने प्रत्येक वर्ष पाँच सयभन्दा बढी जलनका बिरामीको उपचार हुँदै आएको अस्पतालका मेडिकल डाइरेक्टर डा सन्तोषविक्रम भण्डारीले जानकारी दिनुभयो ।    
    
 काठमाडौँको पूर्वी उत्तरी क्षेत्रमा अवस्थित उक्त अस्पतालमा देशका ७७ वटै जिल्लाका जलनका बिरामी उपचार गर्न आउने गरेका छन् । आगोले पोलेका, एसिड आक्रमणबाट घाइते, करेन्ट लागेर घाइते भएका बिरामीलाई सो अस्पतालले विशेष उपचार गर्दै आएको छ । जलनको उपचारका लागि लामो समय अस्पतालमा बस्नुपर्ने भएकाले चार÷पाँच महिना अस्पतालमा बसेर उपचार गरेर बिरामी घर फर्कने गरेका छन् । उक्त अस्पतालमा भारतबाट समेत जलनको उपचारका लागि बिरामी आउने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा भण्डारी बताउनुहुन्छ ।    
    
 जलनको उपचारका लागि लामो समय लाग्ने र खर्चिलो हुने भएकाले बिरामी र उसका परिवारमा आर्थिक सङ्कटसमेत हुने गरेको छ । सरकारले एचआइभी एड्स र क्षयरोगका बिरामीलाई सहुलियत प्रदान गरे पनि सङ्ख्याको हिसाबले धेरै भएका जलनका बिरामीलाई भने कुनै सहयोग गरेको पाइँदैन । उक्त अस्पतालले १८ वर्ष कम उमेरका जलनका बिरामीलाई निःशुल्क उपचार गर्दै आइरहेको छ । सो अस्पतालले प्रत्येक वर्ष देशका विभिन्न जिल्लामा स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको प्रशासन प्रमुख शर्माले बताउनुभयो ।    
    
 स्थापनाकालदेखि नै जलनको उपचार गर्दै आएको सो अस्पतालले विगत एक वर्षदेखि सेवा विस्तार गर्दै हाडजोर्नी, महिला तथा स्त्री, बालरोग, जनरल मेडिसिन, फिजियोथेरापी, नाक, कान घाँटी, छालारोग, जनरल सर्जरी, मानसिक रोगलगायतको उपचार गर्दै आएको छ ।    
    
 हाल उक्त अस्पतालले दैनिक सयदेखि एक सय २० व्यक्तिलाई बहिरङ्ग सेवा प्रदान गर्दै आएको छ भने मासिक जलनका ४० देखि ५० बिरामीको उपचार गर्दै आएको छ । ट्रष्टका संस्थापक एवम् संरक्षक सुजाता कोइराला नेपालमा जलनबाट कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले अस्पताल सञ्चालन गरिएको बताउनुहुन्छ । सो अस्पताल नेपालमा जलनको उपचार गर्ने ट्रष्टबाट सञ्चालित पहिलो अस्पतालसमेत हो ।    
    
 सो अस्पतालबाहेक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, नेसनल ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, कीर्तिपुर अस्पताल, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामङ्गल, युनाइटेड मिसन अस्पताल पाल्पा, जनकपुर अस्पताल धनुषा र भेरी अस्पताल नेपालगञ्जमा जलनका बिरामीको उपचार हुँदै आएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend