Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

   विद्युतीय कारोबार गर्ने छ विदेशी कम्पनीले तिरे कर  


सूचना कुण्ड
   विद्युतीय कारोबार गर्ने छ विदेशी कम्पनीले तिरे कर  

 सूचनाकुण्ड समाचारदाता   

 काठमाडौँ, साउन २१ :    विद्युतीय कारोबार गर्ने छ विदेशी कम्पनीले कर तिर्न सुरु गरेका छन् । गत आर्थिक वर्ष २०७९÷८० देखि लागू गरेको विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स–डिएसटी)वापत हालसम्म त्यस्ता कम्पनीबाट करिब रु १० करोड राजस्व सङ्कलन भएको ठूला करदाता कार्यालयले जानकारी दिएको छ ।    
    
कार्यालयका अनुसार हालसम्म नेपालमा विद्युतीय सेवासम्बन्धी कारोबार गर्ने नौ कम्पनी दर्ता भएका र छ कम्पनीले कर तिरेका छन् । कार्यालयका अनुसार सिङ्गापुरमा कार्यालय रहेका दुई कम्पनी गुगल एसिया प्यासिफिक प्राइभेट लिमिटेड र लिङ्क्डइन सिङगापुर प्राइभेट लिमिटेड दर्ता भएर कर तिर्न थालेका छन् । आयरल्यान्डको डब्लिनमा ठेगाना राखेर दर्ता भएको गुगल आयरल्यान्ड लिमिटेडले पनि कर तिर्न थालेको छ ।    
    
त्यस्तै, संयुक्त राज्य अमेरिकाको वेल्मिङ्टनमा प्रधान कार्यालय रहेको एनसिएस पिअर्सन इन्कर्पोरेसन लिमिटेड, अमेजन डट कम सर्भिस एलएलसी र अमेजन वेभ सर्भिस इन्कर्पोरेसन लिमिटेड नेपालको कर प्रणालीमा दर्ता भएर डिएसटी तिर्न थालेका छन् ।    
    
ठूला करदाता कार्यालयमा दर्ता भइसके पनि तीन कम्पनीले भने कर तिर्न बाँकी रहेको पाइएको छ । वेल्मिङ्गटन, काउन्टी अफ न्यू क्यासल ठेगाना रहेको इब्स्को इन्टरनेशनल इन्कर्पोरेस, डब्लिन आयरल्यान्ड ठेगाना भएको मेटा प्लाटफम्र्स आयरल्यान्ड लिमिटेड र सिङ्गापुर ठेगाना राखिएको माइक्रोसफ्ट रिजनल सेल्स प्राइभेट लिमिटेडले कर तिर्न बाँकी छ ।    
    
 गत आवको आर्थिक ऐनले नेपालमा पहिलोपटक विद्युतीय सेवामा करको प्रावधान गरेको थियो । आर्थिक ऐनमा डिएसटीको विषय राखिएसँगै नेपालमा विद्युतीय सेवा दिइरहेका कम्पनी कर प्रणालीमा दर्ता हुन थालेकाले राजस्व पनि उल्लेखरुपमा सङ्कलन भएको ठूला करदाता कार्यालयका कर अधिकृत साधुराम पुडासैनीले बताउनुभयो ।    
     
 “विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउने विषय गत आवको आर्थिक ऐनमा व्यवस्था गरेको भए पनि कम्पनीहरु दर्ता भएर काम सुरु भएको दुई–तीन महिना मात्रै भयो । यस अवधिमा कर सङ्कलन राम्रो भएको छ”, उहाँले भन्नुभयो, “हालसम्म नौ वटा विदेशी कम्पनी दर्ता भएर कर तिर्न थालेका छन् ।”    
    
 विद्युतीय सेवा कर तिर्ने सबै कम्पनी ठूला करदाता कार्यालयमा दर्ता भइरहेका छन् । नेपालको कर प्रणालीमा हालसम्म दर्ता भएका यी नौवटा कम्पनी सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका छन् ।    
     
 यस्ता कम्पनीलाई करको दायरामा ल्याउन सरकारले कानुन बनाएको भएपनि अझै अधिकांश कम्पनी भने कर प्रणाली बाहिर छन् । गत आर्थिक वर्षको आर्थिक ऐनले ‘गैर बासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर लगाई असुल गरिनेछ’ भनि व्यवस्था गरेको थियो ।    
    
वार्षिक रू २० लाख सम्मको कारोबारमा भने यस्तो कर नलाग्ने व्यवस्था आर्थिक ऐनमा राखिएको छ । ऐनको व्यवस्थाअनुसार नेपालमा विद्युतीय सेवा उपलब्ध गराउने व्यक्तिले आयवर्षअनुसार आफ्नो कारोबारको विवरण तथा कर दाखिला गर्नुपर्छ । तर ठूला करदाता कार्यालयमा दर्ता हुन नआएका कम्पनीलाई कसरी आवद्ध गराउने र कर तिराउने भन्ने स्पष्ट छैन ।    
नेपालमा सेवा दिइरहेका सबै सूचना प्रविधि क्षेत्रका लागि यस्तो कर प्रणाली बाध्यकारी हुन नसक्दा अधिकांश कम्पनी कर प्रणालीभन्दा बाहिरै रहेको देखिन्छ । गत वर्षको आर्थिक ऐनले तोकिएको समयभित्र विवरण दाखिला नगरेमा वार्षिक कारोबार रकमको शून्य दशमलव एक प्रतिशत प्रतिवर्षका दरले हुने रकम शूल्क लाग्ने र कर तिर्नुपर्ने तोकिएको मितिभित्र कुनै व्यक्तिले कर दाखिला नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्ने व्यवस्था रहेको छ ।    
    
यसरी दाखिला गर्नुपर्ने कर रकम कम दाखिला गरेमा वा लुकाए छिपाएमा त्यसरी कम गरेको कर रकमको ५० प्रतिशत जरिवानासमेत लाग्नेछ भनी व्यवस्था गरिएको छ । तर विदेशमा सेवा दिइरहेका कम्पनीले नेपालमा कर तिर्नका लागि अनिवार्यरुपमा दर्ता हुनुपर्ने व्यवस्था आर्थिक ऐनमा भने राखिएको देखिदैन ।    
    
नेपालभित्र सेवा दिइरहेका सामाजिक सञ्जाललगायत डिजिटल कारोबार गर्ने कम्पनीहरुलाई करको दायरामा ल्याउन नसक्दा ठूलो परिमाणमा राजस्व गुमिरहेको सरकारी अध्ययनले देखाएका छन् ।    
---   


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend