Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

धर्म र पर्यटनलाई जोड्दै च्यवन धाम   


सूचना कुण्ड
धर्म र पर्यटनलाई जोड्दै च्यवन धाम   

    
    सूचनाकुण्ड समाचारदाता 
गण्डकी, साउन५  :    

 “नाम हो यिनको सेती सेतै छ यिनको जल ।    
 नेपाली जनता राख्छन् कामले नाम गौरव ।।    
 दूधकी विश्वमा यौटी नदीको सिर्जना गरी ।    
 पाए आशिक ब्रम्हाले बाँची राख्ने जुगौँभरि ।।”    
    
 शुक्ला गण्डकी (सेती गण्डकी) को महिमा गान गरिएको कवि मुकुन्दशरण उपाध्यायको वर्णनात्मक काव्य प्राकृत पोखराको ‘शुक्ला गण्डकी’ शीर्षकको कविताको पङ्क्ति हो यो । जनजीब्रोमा सेती नदीका रुपमा रहेको यस जलाशयलाई पूर्वीय धर्मशास्त्रमा पवित्र तीर्थस्थलका रुपमा लिने गरिएको छ । शुक्ला गण्डकी नदी र यससँग जोडिएका सभ्यतासँग नदी किनाराका विभिन्न धामहरूको चर्चा पनि उत्तिकै महत्वपूर्ण रहेको छ ।    
    
 तीनै धामहरूमध्येको एक हो शुक्ला गण्डकी किनारको मुक्तिनाथ च्यवन धाम । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीको नजिकै रहेको मुक्तिनाथ च्यवन धाम विगत एक दशकयता यस क्षेत्रकै महत्वपूर्ण धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा विकास हुँदै गएको छ । स्थानीयवासीको सकृयतासँगै स्थानीय तथा प्रदेश सरकारको समेत प्राथमिकता परेसँगै यो धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको हो ।    
    
 वर्षौंदेखि सेती नदीले कटान गरेको भूगोल र ढुङ्गाका कारण विगतमा हिंडडुल गर्दा समेत त्रसित हुनुपर्ने अवस्थामा स्थानीय सकृयता, स्थानीय तह एवम् प्रदेशको सहयोगमा यस स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको हो । परापूर्वकालमा यसै स्थानमा च्यवन ऋषिले तपस्या गरेको विश्वासका आधारमा यस स्थललाई च्यवन धामका रुपमा विकास गर्न खोजिएको मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाम विकास समितिका अध्यक्ष होमनाथ लम्सालले बताउनुभयो ।    
    
 कालीगण्डकीको बगरैबगर भएर पुग्न सकिने हिमाल पारीको जिल्लास्थित प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरकै स्वरुपमा यस स्थलकोे विकास गर्न लागिएको कारण पनि यसको महिमा र गरिमा अझै चुलिंदै गएको छ । मुक्तिनाथलाई हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा लिने गरिए जस्तै यस धामलाई हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा विकास गर्न खोजिएको छ ।    
    
 धामको जग्गा संरक्षणका लागि २०६५ सालदेखि नै स्थानीयवासीले सामूहिक सकृयता देखाएका थिए । २०६७ सालमा ऋषिगुरु श्रीराम पौडेलले स्थानीयवासीसँग आफू मुक्तिनाथमा गएर ध्यानमा बस्दा उक्त स्थान तपोभूमिका रुपमा पाएको बताउनु भएछ । गुरुले ध्यानका क्रममा पाएको अनुभव, यहाँको बस्तुस्थिति आदिका कारण यस धाममा मन्दिर निर्माण गर्ने सोच बढेको र त्यसकै जगमा महायज्ञ गरिएको अध्यक्ष लम्सालले बताउनुभयो । मन्दिर निर्माणका लागि आर्थिक सहयोग जुटाउने लक्ष्यका साथ २०६७ चैत १० गतेदेखि १७ गतेसम्म महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञबाट एक करोड ४१ लाख रुपैयाँ सङ्कलन भएको थियो । सङ्कलित रकमबाट शुक्लेश्वर महादेव मन्दिर, च्यवन गुम्बा, बृद्धाश्रमको भवन, मोक्षकुण्ड आदि पूर्वाधारहरू निर्माण गरिएको उहाँले बताउनुभयो ।    
    
 परिसरमा अहिले शुक्लेश्वर महादेवको मन्दिरसँगै बरपर सूर्य, विष्णु, दुर्गा र गणेशका मन्दिरहरू निर्माण गरिएको छ । यी मन्दिरहरूसँगै मुक्तिनाथकै अनुभूति हुने गरी एक सय आठ धारा र त्यस माथि निर्माण गरिएको अन्नपूर्ण हिमश्रृङ्खलाको दृश्य मनमोहक बनेको छ । हिम श्रृङखलासहित एक सय आठ धारालाई व्यवस्थित गर्नका लागि तीन वर्षअघि गण्डकी प्रदेश सरकारले २२ लाख रुपैयाँ सहयोग गरेको अध्यक्ष लम्सालले जानकारी दिनुभयो ।    
    
 धाममा आउने दर्शनार्थीले एक सय आठ धाराको जलले स्नान गर्न पाउनुका साथै एक सय आठ पीपलको रुख, एक सय आठ शिवलिङ्गकोसमेत दर्शन र परिक्रमा गर्न पाउने व्यवस्था मिलाइएको छ । पछिल्लो दशकमा तनहुँ र कास्की आसपासका स्थानबाट ठूलो सङ्ख्यामा दर्शनार्थीहरू आउने गरेको समितिका सदस्य सन्तोष सापकोटाले जानकारी दिनुभयो । यस धाममा नयाँ वर्ष, साउने सोमबार, कृष्ण जन्माष्टमी, बाला चतुदर्शी, शिवरात्री लगायतका महत्वपूर्ण तिथि र पर्वमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गरेको उहाँले बताउनुभयो ।    
    
 समितिले हिमाल पारीको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिर जान चाहेर पनि विभिन्न कारणले नसकेका दर्शनार्थीलाई यही नै मुक्तिनाथको स्वरुपमा अनुभूति गर्ने गरी पूर्वाधार विकास गर्दै पूजाआजा गर्ने व्यवस्था मिलाएको सापकोटाले बताउनुभयो । च्यवन धामस्थित शुक्लेश्वर महादेवको मन्दिरमा पूजाआजा गरेसँगै सन्तान नभएका दम्पतिलाई सन्तान प्राप्ति हुने जनविश्वास यहाँको अर्को विशिष्टता हो । सन्तान प्राप्ति नभएकालाई सन्तान प्राप्ति हुने र भएका सन्ततिलाई राम्रो हुने विश्वासका कारण पनि यहाँ टाढाटाढाबाट दर्शनार्थीहरू आउने गरेका छन् ।    
    
धामकै संरक्षणमा गौ संरक्षण केन्द्र    
    
 मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामकै संरक्षणमा गौ संरक्षण केन्द्र सञ्चालनमा आएको छ । शुक्लागण्डकी नगरपालिका–९ भरेतरामा रहेको गौं संरक्षण केन्द्रको व्यवस्थापनको जिम्मा मुक्तिनाथ शुक्लागण्डकी धामले गर्न थालेको हो । यसअघि शुक्लागण्डकी नगरपालिका आफैंले सञ्चालन गरेको गौं संरक्षण केन्द्र सुधार गर्दै त्यसलाई थप व्यवस्थित बनाउने गरी धामले जिम्मेवारी लिएको अध्यक्ष लम्सालले जानकारी दिनुभयो । “गत चैत २२ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार अब गौ संरक्षण केन्द्र धामकै संरक्षणमा रहने छ”, उहाँले भन्नुभयो, “हाल गौ संरक्षण केन्द्रमा १३७ वटा गाईहरूको संरक्षण गरिंदै आइएको छ । ”    
    
 सेती नदी पारी घारीमा रहेको गौ संरक्षण केन्द्र र च्यवन धामलाई गोकुल र मथुराका रुपमा विकास गर्ने दीर्घकालीन सोचसँगै सेती नदीमाथि धार्मिक पुलको व्यवस्था गर्नका लागि पहल बढाइएको लम्सालले जानकारी दिनुभयो । यस अघिसम्म नगरपालिकाले पूर्णरुपमा व्यवस्थापनको जिम्मेवारी लिएको गौशालालाई थप व्यवस्थित गर्ने गरी अघि बढाइएको बताउँदै लम्सालले विभिन्न सहयोगी दाताबाट गाईहरूका लागि चोक्करलगायत खाद्यान्नहरू सहयोग आउने गरेको जानकारी दिनुभयो ।    
    
 गाईहरूको संरक्षणका लागि नगरपालिकाबाट दुई जना कर्मचारीको व्यवस्था गरिएको छ । हिन्दू धर्ममा गाईलाई लक्ष्मीका रुपमा पूजाआजा गर्ने तथा प्रत्येक पूजाआजा, जन्म मृत्यु संस्कारमा गाईको दूध, दही, घ्यु, गहुँत, गोवर अपरिहार्य मानिन्छ ।    
    
धामलाई पदयात्रा पर्यटनसँग पनि जोडिँदै    
    
 तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोडिने सहश्राव्दी पदमार्ग (मिलेनियम ट्रेक) सँग च्यवन धामलाई जोडिने भएको छ । यस अघि यही नजिकैको रक गार्डेन पदमार्गको नक्सामा समावेश भएकोमा मिलेनियम ट्रेक व्यवस्थापन समितिले यस धामलाई यसपटक नक्सामा समावेश गर्न लागेको समितिका महासचिव हर्क गुरुङले बताउनुभयो ।    
    
 “च्यवन धामको धार्मिक तथा पर्यटकीय महत्वलाई मिलेनियम ट्रेकको पदयात्रासँग पनि जोड्ने हाम्रो लक्ष्य छ”, उहाँले भन्नुभयो, “दुलेगौँडाबाट सुरु हुने पदयात्रा च्यवन धामको दर्शन एवम् अवलोकनसँगै ‘रक गार्डेन’ सुरु गराउने योजना छ ।”    
    
 दुलेगौँडाबाट सुरु हुने मिलेनियम ट्रेकको कुल ७२ किलोमिटर दूरी पदयात्रा गरेर पूरै पार गर्न करिब एक साता लाग्ने गर्दछ । नेपालकै एक मात्र मध्यपहाडी क्षेत्रको यो पदमार्गमा जुनसुकै मौसम र जुनसुकै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने भएकोले स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण बढिरहेको महासचिव गुरुङले जानकारी दिनुभयो ।    
    
 च्यवन धामको धार्मिक महत्वलाई उजागर गर्न समितिको सकृयतामा विभिन्न धार्मिक अनुष्ठानलाई पनि निरन्तरता दिदै आइएको छ । दैनिक रुद्री, हवन आदि अनुष्ठानहरू सञ्चालन गरिदै आएको धाममा प्रत्येक वर्ष साउन महिनामा शिव महिमा बोल बम महोत्सवलाई निरन्तरता दिदै आइएको सदस्य सापकोटाले बताउनुभयो ।    
    
 यस वर्ष पनि साउन ८ गते सोमबारदेखि १५ गतेसम्म भागवत मञ्जरी राधिका दाशी जी महाराजबाट शिवलिला झाँकीसहित शिवपुराण कथा प्रवचन गरिने भएको उहाँले बताउनुभयो । महायज्ञमा सङ्कलित दान रकम मध्येको बचत रकमबाट शव दहन गृह, गुरुकुल निर्माण, सामाजिक भवन निर्माण आदिमा खर्च गरिने जनाइएको छ । वचतमध्येको ५० प्रतिशत रकम गौ संरक्षण केन्द्र सञ्चालनका लागि खर्च गरिने जनाइएको छ ।    
    
भक्तजनका लागि धर्मशाला निर्माणको प्रयास    
    
 अध्यक्ष लम्सालका अनुसार धाममा आउने दर्शनार्थीहरूको सुविधालाई लक्षित गरी धर्मशाला निर्माण गर्ने सोच बढाइएको छ । धाम परिसरमा बृद्धाश्रम पनि सञ्चालनमा आएको छ । देशका विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाई आएर बस्नसक्ने तथा पकाएर खानसक्ने गरी पूर्वाधार निर्माण गर्ने लक्ष्य राखिएको हो ।    
    
 धाम परिसरमा हाल ३७ रोपनी जग्गा मन्दिरबाट नै भोगचलन भइरहेको जानकारी दिँदै उहाँले मन्दिर रहेको कित्तामा १६८ रोपनी रहेको र त्यसको संरक्षणलाई जोड दिइएको बताउनुभयो । मन्दिर परिसरलाई सुरक्षित गर्नका लागि घरबार गर्नु अपरिहार्य भएको उहाँको भनाइ छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend