Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

हेलिकोप्टर दुर्घटना अपडेट : चालकसहित पाँच जनाको मृत्यु   


सूचना कुण्ड
हेलिकोप्टर दुर्घटना अपडेट : चालकसहित पाँच जनाको मृत्यु   

     
    सूचनाकुण्ड समाचारदाता      

काठमाडौँ, असार २६ :    सोलुखुम्बुमा भएको मनाङ् एयरको कल साईन ९एन–एमभी (एएस–५०) हेलिकोप्टर दुर्घटनामा परी चालक दलका एक सदस्यसहित त्यसमा सवार पाँच जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् ।    
    
 सोलुखुम्बुको सुर्केबाट आज बिहान काठमाडौँ उडान भरेको उक्त हेलिकोप्टर दिउँसो सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ लाम्जुरापास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक एवं उद्धार समन्वय समितिका संयोजक प्रतापबाबु तिवारीका अनुसार दुर्घटनामा हेलिकोप्टरका पाइलट क्याप्टेन चेतबहादुर गुरुङसहित पाँच जनाको शव भेटिएको छ ।    
    
मृत्यु हुनेमा चार जना म्याक्सिकोका नागरिक रहेका छन् । सो हेलिकोप्टरमा म्याक्सिकोका नागरिक सवार थिए ।    
    
“दुर्घटनास्थलमा पाँच जनाको शव देखापरेको प्रहरीबाट जानकारी प्राप्त भएको छ । यात्रुहरुको उद्धारका लागि परिचालन गरिएका दुई हेलिकोप्टर त्यहाँको मौसम खराबीका कारण दुर्घटनास्थलमा अवतरण गर्न कठिनाइ भएकाले नजिकैको उपयुक्त स्थानमा अवतरण गरी उद्धार गर्ने प्रयास भइरहेको छ”, उद्धार समन्वय समितिद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।    
    
 उद्धार कार्यका लागि स्थानीयवासीसहित सुरक्षा निकायका जनशक्ति समेत परिचालन गरिएको छ । महाप्रबन्धक तिवारीका अनुसार काठमाडौँबाट गएका दुई हेलिकोप्टर मौसम खराबीका कारण दुर्घटनास्थलबाट करिब दुई घण्टा दुरीको उपयुक्त स्थलमा अवतरण गरेका छन् । स्थलगत रुपमा हेलिकोप्टर अवतरण गरेको स्थलसम्म शव लगेर त्यहाँबाट ती शव काठमाडौँ ल्याईने उहाँले जानकारी दिनुभयो ।    
    
 दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमानामा पर्छ । सोलुखुम्बुको सुर्केबाट आज बिहान ९ बजेर ५२ मिनेटमा काठमाडौँका लागि उडेको कल साइन ९एनए–एमभी कलसाईन भएको हेलिकोप्टर बिहान १० बजेर १ मिनेटपछि टावरसँग सम्पर्कविहीन भएको थियो ।    
–––    
  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend