Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 पसलैपिच्छे घरेलु मदिरा  


सूचना कुण्ड
 पसलैपिच्छे घरेलु मदिरा  

   
सूचनाकुण्ड समाचारदाता  

बझाङ, असार१७ : शुक्रबार मध्याह्नतिर सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीको नेतृत्वमा प्रहरीसहितको टोली बजार अनुगमनमा निस्क्यो । किराना पसल, मासु पसल हुँदै एउटा चिया पसलमा पुग्दा टोलीको नजर प्लाष्टिकको बोलतमा भएको घरेलु मदिरामा पर्‍यो । चिया पकाउने भट्टीका छेउछाउमा चकलेटका डब्बा पनि मदिराले भरिएका थिए ।    
    
 चिया पसले र अनुगमन टोलीको दोहोरी नै चल्यो । पसलेले तामाङ समुदायको मदिरा अनिवार्य भन्दै आफूले गलत नगरेको दाबीसहित पन्छिन खोजे । प्रहरीले समातेको डब्बाको मदिरासमेत पसलेले फिर्ता लिए । अनुगमन टोली त्यसैमा सीमित रहेन । सोही चिया भट्टीवालाले मदिरा बनाउने गरेको प्रहरीले सुइको पाइसकेको थियो । प्रहरीको अर्को समूहले पछाडिबाट गोदाम नै फेला पा¥यो । छिमेकीसहित अनुगमन टोलीको रोहबरमा गोदामबाट प्रहरीले साढे पाँच सय लिटर मदिरासहित कच्चा पदार्थ बरामद गर्‍यो ।    
    
 सिमखेतको एक खाजा पसलमा पनि सुराकीका आधारमा उक्त टोलीले तीन सय लिटरभन्दा बढी उत्पादन गरिएको मदिरासहित कच्चा पदार्थ बरामद ग¥यो । उत्पादन गर्न छाडेको दुई वर्ष भइसकेको दाबी गर्ने पसलेको भट्टीबाट मदिरा उत्पादन गर्ने भाँडासहित गोदाममै छापा मार्दा ठूलो परिणाममा मदिरा फेला परेको थियो ।    
    
 गत साता अनुगमन टोली आफैँ ग्राहक बनेर एउटा चिया पसलमा पुग्दा दुई सय लिटर नै मदिरा फेला परेको थियो । साइपाल गाउँपालिकाका एक वडा सदस्यसमेत रहनुभएका व्यक्तिको पसलमा ठूलो मात्रामा अवैध मदिरा फेला परेपछि निकै आलोचना भएको थियो । यसरी हरेक हप्ता जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन हुँदा पनि घरेलु मदिराको उत्पादन भने कम भएको छैन ।    
    
 “घरेलु मदिरा मात्रै नभई म्याद गुज्रिएका सामान पनि बजारभर छ्याप्छ्याप्ती छन”, सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भन्नुभयो, “हरेक हप्ता अनुगमन गर्दा पनि व्यवसायीले कानुनबमोजिम व्यापार गर्न चासो नै दिएको देखिँदैन, अधिकांश पसलले हप्ता दिनमा सम्पूर्ण कागजात तयार गर्ने प्रतिबद्धता जनाउँदा पनि विभिन्न बाहाना गर्दै पन्छिन खोजिरहेका छन् ।”    
    
 महिनाकै अन्तरालमा बजार अनुगमनबाट लाखौँ मूल्य बराबरको अवैध वस्तु नष्ट गरिसकेको छ । उहाँले भन्नुभयो, “एकै महिनामा बजारभर अखाद्य वस्तु लाखौँ मूल्यको बरामद गरिसकेका छौँ, तर दोस्रो पटक सोही पसलमा जाँदा पनि पर्याप्तमात्रामा अखाद्य वस्तु नै भेटिन्छ ।”    
    
 अवैध घरेलु मदिरा भने पसलैपिच्छे भेटिन्छ । “विगतका दिनमा पनि घरेलु मदिरा हजारौँ लिटर प्रहरीले नष्ट गर्दै आएको थियो”, प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भन्नुभयो, “चैनपुरमा भट्टीवालाले अन्य पसललाई पनि बेच्ने रहेछन्, खोजतलास गर्दै जाँदा प्रहरीले धेरै पटक उत्पादन भइरहेका भाँडाकुँडादेखि गोदाम नै रित्याएको थियो ।” दोस्रो, तेस्रो पटक पनि उत्पादन गरेको थाहा पाए कानुनबमोजिम नै कारबाही हुने उहाँले बताउनुभयो ।    
    
 सदरमुकाममा तामाङ समुदायका व्यक्ति आइसकेपछि घरेलु मदिराको कारोबार हुन थालेको उद्योग वाणिज्य सङ्घका प्रशासन अधिकृत निम थापाले बताउनुभयो । “घरेलु मदिराबारे जानकारी नभएकाले पनि तामाङ समुदायको सिको गर्दै उत्पादन गर्न थाले”, उहाँले भन्नुभयो, “उहाँहरूको धर्ममै मदिरा अनिवार्य भन्ने रहेछ, तर आफूलाई खानलाई भन्दा पनि बेच्नका लागि बढी उत्पादन गर्ने गरेका छन्, विगतका दिनमा हजारौँ लिटर मदिरा नष्ट गरिसकेको थियो ।”    
    
 यता तामाङ समुदायकी पेमा तामाङले पनि आफ्नो धर्ममा नै मदिरा अनिवार्य भएको बताउनुभयो । उहाले भन्नुभयो, “हाम्रो त जन्मँदा, मर्दा, बिहे गर्दा जहिले पनि मदिरा अनिवार्य चाहिन्छ, हरेक पर्वमा अनिवार्य हुँदा किनेरै प्रयोग गर्न नसकिने हुँदा आफैँ उत्पादन गर्नुपरेको हो ।” तामाङको कुरालाई प्रशासनले भने स्वीकार्ने अवस्था छैन । कानुनले बर्जित गरेको कुरालाई उत्पादन र बिक्री गर्नु गैरकानुनी काम भएको प्रहरी निरीक्षक अवस्थीले बताउनुभयो ।    
    
के छ कानुनी प्रावधान ?    
    
 मदिरा ऐन, २०३१ ले गैरकानुनीरूपमा घरेलु मदिरा उत्पादन तथा बिक्री गर्नेलाई छ महिनासम्म कैद वा रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने जनाएको छ । उत्पादनमा प्रयोग भएका भाडावर्तनसमेत जफत हुने ऐनमा उल्लेख छ । ऐनको दफा ३ र ४ मा पनि उत्पादन, बिक्री र सजायका बारेमा उल्लेख गरिएको छ । इजाजत बेगर वा इजाजत प्राप्त व्यक्तिले तोकिएको मापदण्डभन्दा बाहिर जान नपाइने ऐनमा उल्लेख छ ।    
    
 ऐनको दफा १३ मा कुनै व्यक्तिले ऐनविपरीत मदिराको उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गरेमा सो कार्यसँग सम्बन्धित मदिरा अन्तःशुल्क अधिकृतले जफत गर्नेछ । जफत गरिएको मदिरामध्ये गुणस्तरयुक्त मदिरा अन्तःशुल्क अधिकृतले तोकिएबमोजिम लिलाम बिक्री गर्नुपर्ने, मदिराको कारोबार गर्न प्रयोग गरिएका सबै सामान अन्तःशुल्क अधिकृतले जफत गरी तोकिएबमोजिम लिलाम बिक्रीसमेत गर्न सकिने प्रावधान रहेको छ ।    
    
घरेलु मदिरा विषालु पनि हुन्छ    
    
 विभिन्न अध्ययनले कुनै मापदण्ड नभएको घरेलु मदिरा विषालुसमेत हुने गरेको पुष्टि गरेको छ । जानकारका अनुसार घरेलु मदिरालाई कडा र नशालु बनाउन खोज्दा यो विषालु बन्ने गरेको छ । सामान्यतया घरेलु मदिरा सक्खर र शिराबाट तयार गरिन्छ । यसमा युरिया मल र बेसरमबेलका पात मिसाएर कडा नशा दिने र टिकाउ बनाउन खोज्दा विष पनि बन्ने गरेको जानकारहरूले पुष्टि गरेका छन् ।    
    
 मदिरालाई अधिक नशालु बनाउने उद्देश्यले आक्सिटोसिन मिलाउँदा मृत्युको कारण बन्ने गरेको बताइएको छ । आक्सिटोसिनले नपुंसकता बढाउने र ‘नर्वस सिस्टम’सँग सम्बन्धित कैयौँ रोगका कारण बन्दछ । यसको सेवनले आँखा र पेटमा जलन हुनुका साथै आँखाको ज्योति पनि गुम्न सक्छ । घरेलु मदिरामा युरिया र आक्सिटोसिन जस्ता रासायनिक पदार्थ मिलाउनाले यो मिथाइल अल्कोहल बन्न पुग्छ । त्यो मृत्युका कारणसमेत बन्न पुग्छ ।    
    
 जानकारहरूका अनुसार मिथाइल शरीरभित्र प्रवेश गर्नाका साथै केमिकल रिएक्सन चाँडो हुन थाल्छ । यसबाट शरीरको भित्री अङ्गले काम गर्न छाड्छन् र तुरुन्तै मृत्यु हुन्छ । यसलाई कडा र नशालु बनाउने लोभमा कतिपय व्यापारी यसमा ‘मेथनाल’ नामक रसायन मिलाउँछन् । यसले मदिरालाई अझै विषालु बनाउँछ । मदिरा व्यापारीबाट एथेनालको अत्यधिक प्रयोग हुन्छ । किनकी यसमा घुलनशील क्षमता बढी हुन्छ । यसको प्रयोग वार्निश, पालिस, औषधिको घोल, पफ्र्यूम, क्लोरोफर्म, कृत्रिम रङ, पारदर्शक साबुन आदि बनाउन प्रयोग गरिने बताइएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend