Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

प्रजनन केन्द्रमा कोरलिन थाले गोहीको बच्चा 


सूचना कुण्ड
प्रजनन केन्द्रमा कोरलिन थाले गोहीको बच्चा 

   
   सूचनाकुण्ड समाचारदाता

 चितवन, जेठ २८ :    चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २० वटा गोहीका बच्चा कोरलिएका छन् ।    
    
केन्द्रको गुँड नम्बर २ मा राखिएको ३७ वटा अण्डामध्येबाट बीस वटालाई प्रयोगशाला कक्षको इन्कुबेटरमा राखेर ३२ डिग्री तापक्रममा बच्चा जन्माइएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ती अण्डाबाट जेठ २४ गते ती बच्चा कोरलिएका हुन् । केन्द्रले वैशाख ८ गते राप्ती नदीको सीतामाइदेखि सौराहासम्म आठ वटा गुँडबाट दुई सय ४२ वटा अण्डा सङ्कलन गरेको थियो ।    
    
 ती अण्डा केन्द्रमा बच्चा जन्माउनका लागि राखिएको थियो । तीमध्ये २० वटा गोहीको बच्चा कोरलिएको तिवारीले जानकारी दिनुभयो । अन्य अण्डाबाट समेत बच्चा कोरल्ने प्रक्रिया भइरहेको उहाँले बताउनुभयो ।    
    
प्रजनन केन्द्रका तीन वटा गुँडमा गोहीले अण्डा पारेको छ । उहाँका अनुसार गत दुईवर्ष प्रजनन केन्द्रका अण्डाबाट बच्चा कोरलिएको छैनन् । प्रजनन केन्द्रमा गोहीको सङ्ख्या बढी भएपछि यसवर्ष अण्डा थोरै मात्र सङ्कलन गरिएको हो ।    
    
गोही प्रजनन केन्द्र हेर्दै आउनु भएका सहायक संरक्षण अधिकृत सान्तबहादुर मगरका अनुसार गत वर्ष पाँच ६३ वटा अण्डा सङ्कलन गरिएको थियो । ती अण्डाबाट चार सय ९६ बच्चा कोरलिएका थिए ।    
    
 यसरी कोरलिएका बच्चा बचाउन निकै जटिल हुने गर्दछ । हालसम्म आइपुग्दा तीमध्ये तीन सयको हाराहारीमा मात्रै जीवित छन् । मगरले प्रजनन केन्द्रमा छ सय ४० साना ठूला गोही रहेको भन्दै यसवर्ष थोरै मात्र अण्डा सङ्कलन गरिएको बताउनुभयो । निकुञ्जले विसं २०३५ मा गोही प्रजनन केन्द्र स्थापना गरी गोहीका बच्चा हुर्काएर नदीमा छाड्दै आएको छ ।    
    
प्रजनन केन्द्रमा हुर्काएर हालसम्म एक हजार आठ सय ५२ वटा गोही विभिन्न नदीमा छाडिसकिएको छ । तीमध्ये सबैभन्दा बढी राप्तीमा एक हजार एक सय ३२ वटा गोही छाडिएको छ । यस्तै नारायणीमा चार सय १९, बबईमा एक सय १०, सप्तकोशीमा एक सय १५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ गोही छाडिएको छ ।    
    
पछिल्ला दिनमा अन्य नदीमा संरक्षण हुन नसकेपछि अधिकांश गोही राप्ती र नारायणीमा मात्रै छोडिदै आएको छ । नारायणी र राप्तीमा छाडिएका गोही पनि वर्षाको समयमा भारत पुग्ने र बाँधका कारण पुनः फर्किएर नआउने समस्या रहेको छ ।    
    
नदी प्रदूषित हुँदै जानु, जथाभावी नदीजन्य पदार्थको उत्खनन गर्नु, माछा मार्न ठूला जाल प्रयोग गर्नु जस्ता कारणले गोही संरक्षणमा समस्या भएको निकुञ्जको भनाइ छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend