Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

जुम्ली किसानलाई मार्सी धान रोपाइँकाे चटाराे


सूचना कुण्ड
जुम्ली किसानलाई मार्सी धान रोपाइँकाे चटाराे

सूचनाकुण्ड समाचारदाता 

 जुम्ला, २५ जेठ  :   
यहाँका किसानलाई यो याममा मार्सीधान रोपाइँको चटारो छ । किसानहरु बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेका छन् । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको गुठिचौर गाउँपालिका स्थानीयवासी राज्यलक्ष्मी देवकोटाले जानकारी दिनुभयो ।    
    
पछिल्लो समय मार्सी धानको चामलले बजार पाउन थालेपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन थालेका छन् । जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि यसको खेति बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेश अधिकारीले बताउनुभयो ।    
    
जिल्लाका सात गाउँपालिका, एक नगरपालिकाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातो मार्सी धाने रोपाइँ धमाधम भइरहेको छ ।    
     
जिल्लामा दुई हजार आठ सय ५० हेक्टरमा धानखेती हुन्छ । सोमध्ये एक हजार दुई सय हेक्टरमा मार्सी धानको खेती हुने गरेको प्रमुख अधिकारीको भनाइ छ । गतवर्षको असोजमा आएको बाढीपहिरोका कारण सिञ्जा गाउँपालिकाका ४२ वटा धान रोपाइँ गर्ने कुलोमा क्षति पुगेको थियो ।    
    
गाउँपालिकाको लगानी र स्थानीयको श्रमदानमा २८ वटा कुलो पुनःनिर्माण भई सञ्चालनमा आएपछि सिञ्जाका अधिकांश क्षेत्रमा धान रोपाइँ सुरु भएको सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिनुभयो ।    
    
शेरा खेतमा रोपाइँ सम्पन्न     
    
जिल्लाको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको शेरा खेतमा कालीमार्सी धान रोपाइँ सम्पन्न गरिएको छ । परम्परागतरुपमा रोपिँदै आएको मार्सी धान उक्त शेरा खेतमा बुधबार रोपिएको हो ।    
    
चन्दनाथ बाबाले भारतको काश्मिरबाट ल्याएर खेती सुरु गरिएको मार्सी धानलाई मन्दिरको शेरा खेतमा रोपाइँ गरेको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले बताउनुभयो ।    
    
हरेक वर्षको जेठ १४ गते रोपाइँ हुँदै आएकोमा सो खेतमा योेवर्ष बीउको अभावले रोपाइँ ढिलो भएको हो । गुठी व्यवस्थापन समितिका अध्यक्ष थापाले भन्नुभयो, “चन्दननाथ बाबाको शेरा जिउँलो परापूर्वकालदेखि नै मन्दिरमा अक्षता चढाउनका लागि मार्सी धान रोप्ने गरिन्छ ।” जिउलोमा रोप्दै गर्दा मागल गाउने, पञ्चेबाजा बजाउने गरेको अध्यक्ष थापाको भनाइ छ ।    
    
जुम्लाको धार्मिक इतिहाससँग जोडिएको शेरा जिउलोमा मार्सी धान रोपाइँ गर्दा अहिले विस्तारै मागल गाउने, पञ्चेबाजा बजाउने क्रियाकलाप हराउन थालेको यहाँका स्थानीयले गुनासो गर्न थालेका छन् । परम्परागत रुपमा रोपाइँ हुँदै आएको शेरा खेतमा यो वर्ष २२ भारी खेतमा रोपाइँ गरिएको छ । तातोपानी गाउँपालिकाको लिताकोट, लाम्रा, हाँकु र चन्दनाथ नगरपालिका-८ र ९ बाट बीउ ल्याएर रोपाइँ गरिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ ।    
    
मन्दिरको शेरा खेतमा रोपाइँका लागि स्थानीय, चन्दननाथ माध्यमिक विद्यालयका विद्यार्थीलगायत नागरिक अगुवाको उपस्थिति थियो । समुद्री सतहदेखि दुई हजार आठ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउलोमा उत्पादन हुने मार्सी धान खेतीलाई संरक्षण गर्नेका लागि प्रदेश सरकारले प्रथामिकतामा राखेर काम गर्नपर्ने गाउँपालिका अध्यक्ष पुन्नसिंह बोहोराको भनाइ छ ।    
    
मार्सी धान संरक्षण गर्नेका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम बिनियोजन गरिने गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जनाकारी दिनुभयो । सङ्घीय सरकारले आगामी आवको बजेटमा जुम्ली मार्सी धानको ब्राण्डिङ गर्ने उल्लेख गरेको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend