Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 गलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो   


सूचना कुण्ड
 गलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो   

 सूचनाकुण्ड समाचारदाता 

म्याग्दी, जेठ २३ः   
म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा रु एक करोडभन्दा बढी आम्दानी भएको छ । भक्तजनको आगमनसँगै मन्दिरको भेटीलगायत शीर्षकमा आम्दानी बढेको हो । चालु आवको साउनदेखि जेठ २१ गतेसम्म रु एक करोड पाँच लाख २१ हजार पाँच सय आठ आम्दानी भएको कोषका कोषाध्यक्ष कुमारी रोकाले जानकारी दिनुभयो ।    
    
 “गत वर्षको असारसम्म कोषको आम्दानी रु दुई करोड ९० लाख ८२ हजार २३५.६० थियो”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षको हालसम्म रु एक करोड ५१ लाख एक हजार एक सय ३८ आम्दानी भएकामा विभिन्न शीर्षकमा रु ४५ लाख ७९ हजार छ सय ३० खर्च भएको छ ।”    
    
 सबैभन्दा बढी मण्डप भेटी रु २४ लाख ७६ हजार चार सय ९९ र मेलापर्वको भेटी रु २६ लाख ९१ हजार छ सय ३८ आम्दानी भएको छ । आव २०७८÷७९ मा रु ४० लाख ८५ हजार पाँच सय २२ भेटीसहित रु ९१ लाख ८२ हजार पाँच सय ६९ आम्दानी भएको थियो ।    
    
 यज्ञ दर्तामा रु चार लाख ३५ हजार छ सय दुई, यात्री निवासबाट रु छ लाख ५९ हजार १०, ब्याज आम्दानी रु १३ लाख २७ हजार ३९, दान दातव्य रु १५ लाख १२ हजार सात सय २२, जिन्सी बिक्रीबाट रु दुई लाख ९८ हजार तीन सय ७१, स्टल भाडाबाट रु पाँच लाख दुई सय ६०, पार्किङ शुल्कबाट रु एक हजार नौ सय ५० र विविध शीर्षकमा रु ३७ हजार २० आम्दानी भएको कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिनुभयो ।    
    
 गत वैशाख २० देखि यही जेठ २१ गतेसम्म रु छ लाख ४४ हजार छ सय ९७ भेटी सङ्कलन भएको छ । गत वैशाख महिनामा रु पाँच लाख २२ हजार दुई सय २५ भेटी सङ्कलन भएको थियो । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ ।    
    
 हिन्दूधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्नेछ । अन्य समय दैनिक पूजाआजा हुने मन्दिरमा भक्तजनको चाप पनि बढ्दै गएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।    
    
 “गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरुपमा गनेर सार्वजनिक गर्ने गरिएको छ”, उहाँले भन्नुभयो, “भेटी व्यवस्थित गर्न थालेपछि दानवीरले खुलेर सहयोग गर्न थालेका छन् ।”    
    
 मन्दिरको आम्दानीबाट हालै रु दुई लाख ३० हजार सात सय ५० खर्चेर गलेश्वर बजारको २.५ किमी सडक र मन्दिर परिसरमा सोमबार ५५ वटा सडक बत्ती जडान गरिएको थियो । गत वर्ष गलेश्वर मन्दिरमा पित्तलको छाना छाउन रु ३१ लाख ७५ हजार, सामुदायिक भवन बनाउन रु २१ लाख ९९ हजार, कालीगण्डकीबाट पानी ल्याएर ११ धारा बनाउन रु चार लाख खर्च गरेको थियो ।    
    
 जडभरत संस्कृत माविका तीन जना शिक्षकको तलबका लागि मासिक रु ७२ हजार, आश्रमका ज्येष्ठ नागरिक र तीर्थयात्रीलाई भोजन गराउँदै आएको अन्नक्षेत्रका भान्छेलाई मासिक रु १७ हजार तलब मन्दिरको आम्दानीबाट दिने गरिएको कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो ।    
    
 विसं २०६७ सम्म भक्तजनले मूल मन्दिर, आसपासका क्षेत्रमा रहेका शालिग्राम, कुण्डलगायत क्षेत्रमा चढाएको सुनचाँदी, तामा, नगदसहित जिन्सी सामग्रीको कुनै लेखाजोखा हुने गरेको थिएन ।    
     
 भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु १० करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।    
    
 धर्मशाला, सभाहल, बाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, १०८ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका हुन् । तेह्र वर्षअघिसम्म रु ३१ लाख रहेको कोषको आम्दानी हाल करिब रु चार करोड पुगेको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend