Logo
  • २०८३, मंसिर १४गते
  • Nov 29 2026
images

प्रधानमन्त्री बालेन भारतको राजकीय भ्रमणमा : आज राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नुहुने


सूचना कुण्ड
प्रधानमन्त्री बालेन  भारतको राजकीय भ्रमणमा : आज  राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नुहुने

भारत, मङ्सिर ७ :  प्रधानमन्त्री वालेन्द्र शाहको आइतबारदेखि सुरु भएको औपचारिक राजकीय भ्रमणले भारतसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने सङ्केत गरेको छ । सोमबार प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री नरेन्द्रदामोदर मोदीबिच हुने शीर्ष वार्ताले दुई देशको समृद्धिको साझा सहकार्यलाई मूर्त रूप दिने विश्वास नेपाल र भारत सरकारले व्यक्त गरेका छन् । शीर्ष वार्ताको गाम्भिर्यता दुवै पक्षमा निकै गहिरो देखिएको छ  । जेन्जी आन्दोलनबाट नयाँ सरकार बनेपछि नेपालमा राजनीतिक स्थिरता बढ्दै गर्दा भारत सरकार सहकार्यका लागि तत्पर भएको प्रस्ट देखिन्थ्यो । 

भारतको राजधानी नयाँ दिल्लीमा प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत सरकारका तर्फबाट विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले न्यानो स्वागत गर्दै दुई देशको सम्बन्धलाई नयाँ समृद्धिको उचाइतर्फ अग्रसर गराउने सङ्केत गर्नुभयो । प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार दिउँसो काठमाडौँबाट नयाँ दिल्ली आइपुग्नुभएको हो । 

उहाँको राजकीय भ्रमणलाई भारत सरकारले उच्च प्रथामिकता दिएको छ । इन्दिरागान्धी विमानस्थलमा भारतीय सेनाको टुकडीले उहाँलाई सम्मान प्रस्तुत गर्दै गर्दा नजिकै नेपाल–भारत सम्बन्ध झल्काउने पहाडी गीत र नृत्य प्रस्तुत गरिएको थियो । विमानस्थलदेखि होटल ताजमहलसम्मको सडकमा कुनै अवरोध नरहने गरी खाली गरेर उहाँको सवारी चलाइएको थियो । सडकछेउमा वारपार प्रधानमन्त्री शाहका तस्बिर र नेपाल–भारतका झन्डा फहराइएका थिए । भारत र नेपालका सञ्चारकर्मीको बाक्लो उपस्थितिले पनि भ्रमण दुवै देशका लागि महत्व दर्सायो ।

विदेशमन्त्रीको न्यानो स्वागत 

होटल ताजमहलमा केहीबेरको तयारी र आरामपछि चेम्बर ‘सी’ मा विदेशमन्त्री जयशङ्कर प्रधानमन्त्री शाहलाई शिष्टाचार भेट गर्न आइपुग्नुभयो । उक्त चेम्बरमा कूटनीतिक भेटवार्ता हुने छ । साँझ ६ बजेदेखिको शिष्टाचार भेट सुरु भएको थियो । भेटवार्तास्थलमा दुई देशका झन्डामुनि बस्नुभएका प्रधानमन्त्री शाहसँग भारतका विदेशमन्त्रीले उत्साहका साथ हात मिलाएर स्वागत गर्नुभयो । उक्त भेटवार्तामा भारतका प्रधानमन्त्री मोदीका तर्फबाट विदेशमन्त्री जयशङ्करले प्रधानमन्त्री शाहलाई स्वागत तथा भ्रमण सफलताको कामनासहितको सन्देश सुनाउनुभएको भेटवार्तामा सहभागी भारतीय पक्षले जानकारी दिएको छ । 

भेटवार्ताका क्रममा सोमबार भारतका प्रधानमन्त्री नरेन्द्रदामोदर मोदीसँग हुने एकल शीर्ष वार्ता तथा प्रतिनिधिमण्डलसहितको भेटवार्तामा समावेश हुने विषयवस्तुबारे गहन छलफल भयो । दुई देशका कार्यकारीको भेटवार्तामा समावेश गरिने दुईपक्षीय ‘विषयवस्तु’ तयार भएको जानकारी विदेशमन्त्री जयशङ्करले प्रधानमन्त्री शाहलाई अवगत गराउनुभयो । सोमबारको शीर्ष वार्तामा नेपाल सरकार र प्रधानमन्त्री शाहको मन बुझ्ने कोसिस विदेशमन्त्री जयशङ्करले गर्नुभयो । प्रधानमन्त्री शाहले पनि भारत सरकारबाट नेपालले यस भ्रमणका क्रममा गरेको अपेक्षाप्रति हालसम्मको अवस्थितिबारे विदेशमन्त्री जयशङ्करबाट जानकारी लिनुभयो । 

भेटमा नेपाल र भारत सम्बन्धका विविध आयाम, विशेष गरी सम्पर्कसञ्जाल, व्यापार तथा पारवहन, उद्योग वाणिज्य, ऊर्जा विस्तार, संस्कृति, शिक्षा, खेलकुद तथा स्टार्टअपलगायत जनस्तरका सम्बन्धमा श्रीवृद्धि ल्याउन आवश्यक सहकार्यका क्षेत्र र तिनलाई कार्यान्वयनमा लैजान भएका दुईपक्षीय प्रयत्नबारे आपसी परामर्श गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

उहाँहरूबिच भावी सम्भावना र द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा भएको तयारीका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्ता निकै सौहार्दपूर्ण रहेको जानकारी परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो । भेटपछि विदेशमन्त्री जयशङ्करले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको नयाँ दिल्ली भ्रमणका क्रममा उहाँसँग भेट गर्न पाउनु आफ्नो सौभाग्यको कुरा रहेको प्रस्ट्याउनुभयो । उहाँले भन्नुभयो, “भारत नेपालसँगको विशेष मित्रतालाई उच्च महत्व दिन्छ र भोलि प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने उहाँको भेटवार्ता र कार्यक्रमलाई हामी उत्सुकतासाथ पर्खिरेहेका छौँ ।”

दुई समकक्षीबिच छलफल 

होटल ताजमहलमा भएको शिष्टाचार भेटवार्तालगत्तै नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री जयशङ्करबिच अर्को आधा घण्टा अनौपचारिक छलफल चल्यो । दुई समकक्षीबिच भएको भेट सोमबार दुई देशबिच हुने सम्झौता तथा विकास सहकार्यलाई अघि बढाउने विषयमा पूर्वतयारीका रूपमा भएको थियो । सम्भावित साझेदारीलाई कार्यान्वयनको तहमा लैजाने महत्वपूर्ण अवसरसँगै दुई प्रधानमन्त्रीबिचको शीर्ष वार्तालाई थप बलियो बनाउनेबारे आवश्यक परामर्श भएको जनाइएको छ । त्यस्तै शीर्ष वार्ताको आवश्यक तयारी तथा कागजी कारबाहीका विषयमा दुईमन्त्रीको भेटपछि परराष्ट्र मन्त्रालय तथा अन्य मन्त्रालयका प्राविधिक टोलीले थप छलफल गर्नुभयो । उक्त भेटमा प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई, भारतका लागि नेपालका राजदूत निश्चलनाथ पाण्डेलगायत सहभागी रहनुभएको थियो । 

विमानस्थलमा आइपुग्दा प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतका राजदूत सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर तथा भारत सरकार र नयाँ दिल्लीस्थित नेपाली दूतावासका अन्य उच्चपदस्थ अधिकारीहरूले न्यानो स्वागत गर्नुभएको थियो । भारत भ्रमणमा निस्कनुभएका प्रधानमन्त्री शाहलाई नेपालमा कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, रास्वपा प्रवक्ता जगदीश खरेलले बिदाइ गर्नुभएको थियो । 

रेलवेले जोडिँदै रामायण सर्किट

दुई देशबिचको धार्मिक  तथा सामाजिक सम्बन्धलाई उच्च बनाउने रामायण सर्किट जनकपुर–अयोध्या रेलेवेको उद्घाटनसँगै जोडिने भएको छ । सोमबार दुई देशका प्रधानमन्त्रीबिचको शीर्षवार्तालगत्तै हुने संयुक्त उद्घाटनपछि सम्बन्ध जीवित बनाउने उक्त सर्किट चलायमान हुने भएको हो । विद्युतीय रूपमा हुने उद्घाटनको व्यापक तयारी भएको छ । त्यस्तै काभ्रेस्थित प्रहरी प्रशिक्षण केन्द्रको उद्घाटन हुने भएको छ भने ऊर्जाक्षेत्रको कोसेढुङ्गा मानिने पञ्चेश्वर विद्युत् परियोजनाको शिलान्यास हुने भएको छ । 

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना नेपाल र भारतको सीमानदी महाकालीमा निर्माण गर्ने प्रस्तावित द्विपक्षीय जलविद्युत् तथा बहुउद्देश्यीय परियोजना हो । यस आयोजनामा नेपाल र भारत दुवैतर्फ बराबरी तहमा विद्युत् उत्पादनगृह बनाउने तयारी छ । त्यस्तै अन्य विविध सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने तयारी रहेको छ । कतिपय नमिलेका बुँदाहरूमा आइतबार रातिसम्म दुईपक्षका प्राविधिक समूहले परामर्श जारी राखेका छन् । सोमबार हुने द्विपक्षीय शिखरवार्तामा पछि भोटेकोशी विपत्पछिको पुनर्निर्माण र भावी सहकार्यका विषयमा भारत सरकारले सहयोगको घोषणा गर्ने सम्भावना छ । प्रधानमन्त्री शाहको सम्मानमा भारतका प्रधानमन्त्री मोदीले औपचारिक दिवाभोजको आयोजना गर्नुहुने छ । सोमबार नै प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नुहुने छ ।   


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend