काठमाडौँ, मङ्सिर ४ : हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको लामो लाम लागेको छ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको लाम लागेको हो ।
उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको लाम लागेको जनाइएको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ । चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढाटाढाबाट पनि भक्तजन सवारीसाधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शनमा आउँछन् ।
चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूला ढुङ्गामा स्थापना गरिएको छ ।
यसैगरी, नारायणहिटी दरबार क्षेत्रस्थित चतुव्र्युह नारायण मन्दिर, हाँडीगाउँ क्षेत्रका नारायण मन्दिर, हनुमानढोका दरबार क्षेत्रका नारायण मन्दिर र पशुपति क्षेत्रका नारायण मन्दिर, गोकर्णेश्वर नगरपालिकाको नारायणटारस्थित नारायण मन्दिरलगायत काठमाडौँ उपत्यका र उपत्यका बाहिरका नारायण मन्दिरमा पनि पूजा, आराधना एवं दर्शनका लागि भक्तजन जम्मा भएका छन् ।
