काठमाडौँ, असोज ९ : राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रा अवलोकन गर्न वसन्तपुर पुग्नु भएको छ। सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति पौडेल हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुग्नु भएको हो।
उहाँलाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिता डंगोलले स्वागत गर्नुभएको थियो । कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्ले, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न मन्त्रालयका मन्त्री, सांसद, प्रहरी प्रमुख, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी हुनुहुन्छ ।
जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिनुभएको थियो । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।
भाद्र शुक्ल द्वादशीका दिन बुधबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख पवित्राकुमारी पाण्डेले जानकारी दिनुभयो । शनिबार माथिल्लो टोलमा रथयात्रा गरिने छ ।
असोज १३ गते मङ्गलबार महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार जानुभई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ । टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ ।
असोज १३ गते मङ्गलबार राति ९ः२५ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित वाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेशलगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ ।
