काठमाडौँ, असोज ७ : नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार बिहान मन्त्रालयमा कार्यकारी निर्देशक श्रेष्ठलाई शपथ ग्रहण गराउनुभएको हो ।
शपथ ग्रहण कार्यक्रममा मन्त्री श्रेष्ठले प्रणाली बनाएर निष्ठापूर्वक काम गर्न कार्यकारी निर्देशक श्रेष्ठलाई निर्देशन दिनुभयो । उहाँले मन्त्रालय र मातहतका निकायसँग उच्च समन्वय गरी काम गर्न पनि सुझाव दिनुभयो ।
भोटेकोशी बाढीका कारण चुनौतीपूर्ण अवस्थामा कायममुकायम कार्यकारी निर्देशकका रूपमा सफल कार्यसम्पादन गर्नुभएकोमा मन्त्री श्रेष्ठले नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठलाई धन्यवाद दिनुभयो ।
मन्त्रिपरिषद्को असोज २ गते शुक्रबार बसेको बैठकले श्रेष्ठलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
