Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

जापानिज इन्सेफलाइटिस २१ जिल्लाका ४३ स्थानियबाट ५४ जनामा पुष्टि : १३ जनाको मृत्यु


सूचना कुण्ड
जापानिज इन्सेफलाइटिस  २१ जिल्लाका ४३ स्थानियबाट ५४ जनामा  पुष्टि  :  १३ जनाको मृत्यु

काठमाडौँ, साउन २८ : मनसुन सुरु भएयता लामखुट्टेको टोकाइबाट हुने जापानिज इन्सेफलाइटिस(जेई)का बिरामी बढ्दै गएका छन् ।

परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदन अनुसार हालसम्म देशका २१ जिल्लाका ४३ स्थानियबाट ५४ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि हुनुका साथै १३ जना सङ्क्रमितको मृत्यु भएको छ ।

परिवार कल्याण महाशाखाका अन्तर्गतका खोप तथा बाल रोग शाखाका प्रमुख  डा.अभियान गौतमका अनुसार रोग पुष्टि भएका बिरामी मध्ये ८९ प्रतिशतले जेई विरुद्धको रोग नलगाएको पाइएको छ भने ११ प्रतिशतले खोप लगाए नलगाएको अवस्था यकिन हुन सकेको छैन । सङ्क्रमण विशेष गरी  तराईका जिल्लामा बढी देखिएको छ । 

जेई सङ्क्रमण भएका तीन जनामध्ये एक जनाको मृत्यु हुने र एक जना दीर्घकालीन  समस्या देखिने गर्छ । ५० वर्ष माथिका ज्येष्ठ नागरिकको मृत्युदर बढी भएकाले  ज्येष्ठ नागरिकलाई विशेष ध्यान दिन उहाँको आग्रह छ ।

सरुवारोग विशेषज्ञ डा.शेर बहादुर पुनका अनुसार जापानिज इन्सेफलाइटिस भाइरस वा ब्याक्टेरियाले लाग्ने मस्तिष्क सङ्क्रमण (मस्तिष्क ज्वरो ) हो ।

यो रोगले स्नायुमा असर पुर्‍याइ जीवनभर अङ्गभङग बनाउनुका साथै बिरामीको मृत्यु समेत हुने डा.पुनको भनाइ छ । उहाँ भन्नुहुन्छ, “यदि यो रोग गम्भीर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षघात हुने, बेहोस हुने र कोमामा जाने जस्ता लक्षण देखिने गर्छन् । यो रोग लागेका मध्ये १५ देखि ३० प्रतिशत सङ्क्रमितको मृत्यु हुन्छ ।

यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्छ । धानबाली, दलदल र पानी जम्ने स्थानमा लामखुट्टेको प्रजनन स्थल बन्ने हुनाले ग्रामीण तथा कृषि क्षेत्रमा बसोबास गर्ने मानिस जेई सङ्क्रमणको जोखिम बढी हुने डा.पुन बताउनुहुन्छ । 

यो रोग एक मानिसबाट अर्को मानिसमा सर्दैन । लामखुट्टेले सङ्क्रमित सुँगुर, बङ्गुर वा जङ्गली चरालाई टोकेर मानिसलाई टोक्दा यो रोग सर्ने डा.पुनले जानकारी दिनुभयो । यो रोग क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । यो प्रजातिको लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्छन् ।

ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्नु वा बान्ता हुनु, कमजोरी महसुस हुने यो रोगको सामान्य लक्षण हुन् । उच्च ज्वरो (१०२ डिग्री फरेनहाइट भन्दा बढी ), टाउको दुख्ने, शरीरमा कम्पन हुनु, अर्धचेत वा बेहोस हुनु, शारीरिक कमजोरी वा पक्षघात हुनु, कोमामा पुग्नु यो रोगका गम्भीर लक्षण भएको डा. पुनको भनाइ छ ।

गम्भीर अवस्थामा मस्तिष्कमा स्थायी क्षति, पक्षघात वा मृत्यु समेत हुन सक्छ । १५ वर्षमुनिका बालबालिका, धानबाली, सँगुर तथा हाँस फार्म नजिक बसोबास गर्ने मानिस प्रकोप प्रभावित क्षेत्रमा यात्रा गर्ने वा बसाइँ सर्ने मानिस यो रोगको जोखिममा हुने गर्छन् ।

उच्च ज्वरो आउने, टाउको दुख्ने, बेहोश हुने वा शरीरमा कम्पन हुने, हिँड्न वा बोल्न गाह्रो हुने यो रोगका लक्षण हुन । ज्वरोसँगै टाउको दुख्ने, बेहोस हुने, झट्का आउने वा मानसिक अवस्था परिवर्तन हुने जस्ता  गम्भीर लक्षण देखिएमा ढिला नगरी  स्वास्थ्य संस्था जान चिकित्सकको सुझाव छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend