Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

फिफा विश्वकप २०२६ :रोनाल्डोको ऐतिहासिक कीर्तिमान, छ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी


सूचना कुण्ड
फिफा विश्वकप २०२६ :रोनाल्डोको ऐतिहासिक कीर्तिमान, छ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ, असार १० : पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले विश्वकप फुटबलमा दुई गोल गर्दै आफ्नो टोलीलाई सानदार जित दिलाउनुभएको छ। उज्बेकिस्तानविरुद्ध मङ्गलबार राति भएको खेलमा पोर्चुगल ५–० गोलअन्तरले विजयी भएको हो। यो जितसँगै रोनाल्डोले आफ्नो कठिन सातालाई बिर्सिँदै मैदानमा आफ्नो उत्कृष्ट लय र गोल गर्ने क्षमता अझै कायम रहेको प्रमाणित गर्नुभएको छ।

पहिलो खेलमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोसँग १–१ गोलको निराशाजनक बराबरी खेलेपछि चर्को आलोचना खेपेको पोर्चुगलका लागि उज्बेकिस्तानविरुद्धको खेलमा रोनाल्डोले पहिलो हाफमै दुई गोल गर्नुभएको थियो। यो जितले खेलाडी र टोली दुवैलाई ठुलो राहत मिलेको छ। समूह चरणको अन्तिम खेलमा पोर्चुगलले असार १५ गते कोलम्बियाको सामना गर्दैछ । 

यसअघि लियोनेल मेसी, एर्लिङ हालान्ड र किलियन एम्बाप्पेले प्रतियोगितामा गोल गरी सक्दा रोनाल्डो दबाबमा देखिनुहुन्थ्यो। तर, उज्बेकिस्तानविरुद्ध दुई गोल गरेसँगै उहाँ इतिहासमै लगातार छ वटा विश्वकपमा गोल गर्ने विश्वको पहिलो खेलाडी बन्नुभएको छ। यो कीर्तिमानलाई ‘गिनीज वर्ल्ड रेकर्ड्स’ ले समेत प्रमाणित गरेको छ। यसका साथै उहाँ महान् खेलाडी इयुसेबियोलाई पछि पार्दै विश्वकपमा पोर्चुगलका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडीसमेत बन्नुभएको छ।

पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले मेसी र रोनाल्डोबिचको व्यावसायिक प्रतिस्पर्धा दुवै खेलाडीका लागि महत्त्वपूर्ण रहेको र यसले उनीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्ने बताउनुभयो। प्रशिक्षक मार्टिनेजले भन्नुभयो, “यी दुवै खेलाडीले वर्षौँदेखि फुटबल खेलको स्तर सुधारेका छन्। उनीहरूको आपसी प्रतिस्पर्धाले उनीहरूलाई अझै माथि पुग्न मद्दत गरेको छ।” रोनाल्डो राष्ट्रिय टोलीका लागि एक आदर्श व्यक्तित्व भएको उल्लेख गर्दै उहाँले खेल मैदान र ड्रेसिङ रुम दुवै ठाउँमा रोनाल्डोको व्यवहार उत्कृष्ट रहने बताउनुभयो।

खेल सकिएर मैदानबाट बाहिरिने क्रममा रोनाल्डोले क्यामेरा अगाडि चिच्याउँदै “म फर्किएँ!” भन्नुभएको थियो। यसबारे बोल्दै प्रशिक्षक मार्टिनेजले रोनाल्डोले आफूमाथि कहिल्यै शङ्का नगरेको बताउनुभयो।

उज्बेकिस्तानका प्रशिक्षक तथा इटालीका पूर्वकप्तान फाबियो कानाभारोले रोनाल्डोको लामो खेल जीवनको प्रशंसा गर्नुभयो। कानाभारो सन् २००६ मा इटालीले विश्वकप जित्दा कप्तान हुनुहुन्थ्यो, जुन रोनाल्डोको पहिलो विश्वकप थियो। कानाभारोले भन्नुभयो, “रोनाल्डोविरुद्ध खेल्दा एक सेन्टिमिटर पनि ठाउँ छोड्नु हुँदैन, अलिकति मात्र ठाउँ पायो भने पनि उनले गोल गरी हाल्छन्। विपक्षी डिफेन्डरका रूपमा उनीसँग रहन धेरै चनाखो हुनुपर्छ।”

यसैबिच फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पनि रोनाल्डोलाई यो “अभूतपूर्व उपलब्धि” का लागि बधाई दिँदै प्रतियोगिताका बाँकी खेलका लागि शुभकामना व्यक्त गर्नुभएको छ। 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend