Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

विश्वकप फुटबल :ब्राजिल बल्लतल्ल मोरक्कोसँग १–१ ले बराबरी


सूचना कुण्ड
विश्वकप फुटबल :ब्राजिल बल्लतल्ल मोरक्कोसँग १–१ ले बराबरी

न्युयोर्क, असार ५ :  सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिल विश्वकप फुटबल–२०२६ मा ठुलो नाम र प्रतिष्ठाका साथ आएको थियो तर ब्राजिलका लागि पहिलो खेल अपेक्षा अनुरूप हुन सकेन । समूह ‘सी’ को पहिलो खेलमा ब्राजिलले बल्लतल्ल मोरक्कोसँग १–१ ले बराबरीमा खेल टुङ्ग्याएको थियो । एलिसनले अन्तिम समयमा गरेका केही दर्शनीय गोलरक्षणले मात्र ब्राजिल हार टार्न सफल भएको थियो । यस नतिजाले ब्राजिलका लागि हाइटीसँग शुक्रबार हुने खेल महìवपूर्ण हुने भएको छ । यो खेल जितेर ब्राजिल समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दा परिस्थिति आफ्नो नियन्त्रणमा राख्ने प्रयास गर्ने छ ।

सुपरस्टार फुटबल नेमारले खेल्नेमा अहिले पनि पक्का नहुँदा ब्राजिलको आक्रमणपङ्क्ति भिनिसियस जुनियर र राफिनाले नै समाल्नुहुने छ । हाइटीले पहिलो खेल स्कटल्यान्डसँग १–० ले हारेको थियो । त्यसैले हाइटीका लागि ब्राजिलविरुद्ध खेल थप महत्वपूर्ण बनेको छ । पाँच दशकभन्दा बढी समयपछि विश्वकप खेलिरहेको हाइटीका लागि ब्राजिलसँग खेल अहिलेसम्मकै सबभन्दा ठुलो परीक्षा हुने छ । यद्यपि हाइटीले ब्राजिलविरुद्धको खेलमा आफ्ना प्रमुख खेलाडी जिन–रिक्नर बेलेगार्डे, रिकार्डो एडी, विल्सन इसिडर्ग र भेटरान गोलरक्षक जोनी प्लासिडबाट ठुलो अपेक्षा राखेको छ ।

सहकप्तान एडिका अनुसार आफ्नो देश सन् १९७४ पछि विश्वकपमा छनोट हुन नसक्दा हाइटीका जनताले सधैँ विश्वको सबभन्दा ठुलो फुटबल प्रतियोगितामा ब्राजिलको समर्थन गर्दै आएको छ । हामी ब्राजिललाई समर्थन गर्दै हुर्कियौँ तर यसपालि फरक छ । हाइटी आफैँ विश्वकपमा खेल्दै छ । हामीले आफ्नै टिम भनेर ग्रहण गरेको ब्राजिलविरुद्धको खेल हाइटीका लागि अहिलेसम्मकै ठुलो खेलमध्ये एक हुने छ, एडी भन्नुहुन्छ । उहाँले ब्राजिललाई हराउन असम्भव नभएको पनि बताउनुभयो ।

ब्राजिल र हाइटी अहिलेसम्म दुई पटक आमनेसामने भएका छन् । ब्राजिलले हाइटीलाई सन् २००४ मा भएको मैत्री खेलमा ६–० र सन् २०१६ मा भएको कोपा अमेरिका ७–१ ले हराएको थियो । यसपालि विश्वकपको मञ्चमा हाइटीले ब्राजिलविरुद्ध सुधारिएको खेल खेल्ने अपेक्षा गरिएको छ । ब्राजिलका डिफेन्डर डगलस सान्तोषले शारीरिक रूपमा बलियो र सङ्गठित टिम भएकाले हाइटीलाई हलुका रूपमा नलिने बताउनुभएको छ ।

नकआउटमा अमेरिका र अस्ट्रेलियाको नजर

समूह ‘डी’ मा आआफ्नो पहिलो खेल जितेर सहआयोजक अमेरिका र अस्ट्रेलियाले शुक्रबार एकअर्कासँग सियाटल रङ्गशालामा खेल्दै छ । पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ ले र अस्ट्रेलियाले आश्चर्यजनक रूपमा टर्कीलाई २–० ले पराजित गरेको थियो ।

अमेरिकाले विश्वकपको पहिलो खेलमा मात्र होइन वार्मअपदेखि नै सानदार प्रदर्शन गरिरहेको छ । त्यसैले प्रशिक्षक माउरिसियो पोचेटिनोले यही लय अस्ट्रेलियाविरुद्धको खेलमा पनि कायम राखेर नकआउटको स्थान एक खेलअघि नै पक्का गर्ने अपेक्षा गर्नुभएको छ । पछिल्ला दुवै खेलमा अस्ट्रेलियालाई हराएकाले पनि अमेरिका केही बलियो देखिन्छ तर उहाँ यस प्रतियोगितामा ‘डार्कहर्स’ मानिएको टर्कीलाई हराउने अस्ट्रेलियासँग सतर्क पनि हुनुहुन्छ । अस्ट्रेलियाले टर्कीविरुद्ध मात्र २८ प्रतिशत पोसेसन बनाएको थियो । सो खेलमा टर्कीले अस्ट्रेलियाको गोलपोस्टमा गरेको ३० प्रहारको बदलामा अस्ट्रेलियाले नौ प्रहारमा मात्र गर्न सकेको थियो तर जिद्दी डिफेन्स, गोलरक्षक प्याट्रिक बिचको सानदार प्रदर्शन र प्रत्याक्रणमा ‘क्लिनिकल फिनिसिङले अस्ट्रेलियाले तीन अङ्क बनायो । अब अमेरिकाविरुद्धको जितले नकआउट चरणमा पुग्ने भएकाले अस्ट्रेलियालाई शुक्रबारको खेलमा थप प्रेरणा दिने छ ।

स्कटल्यान्डसँग समूह विजेता बन्ने मौका

पहिलो खेलमा हाइटीलाई हराएपछि समूह ‘सी’ मा शीर्ष स्थानमा रहेको स्कटल्यान्डले शुक्रबार मोरक्कोलाई हराएर नकआउट चरणमा स्थान बनाउने प्रयास गर्ने छ । मोरक्कोलाई हराउन सकेमा र सोही दिन ब्राजिलले हाइटीलाई जित्न नसकेमा स्कटल्यान्डले सबैलाई आश्चर्यमा पार्दै समूह विजेता हुने छ । स्कटल्यान्डले अहिलेसम्म विश्वकपको समूह चरण पार गर्न सकेको छैन । मोरक्कोको हकमा भने स्कटल्यान्डविरुद्धको जितपछि पनि अन्तिम ३२ पक्का हुने छैन तर हाइटीसँग खेल्नुअघि उसको स्थिति भने निकै बलियो हुने छ । यस प्रतियोगिताको प्रतिष्ठित टिममध्ये एक मोरक्कोको चुनौती स्कटल्यान्डलाई सहज भने हुने छैन । ब्राजिलसँगको १–१ को बराबरीमा हकलाग्दो जित प्राप्त गर्न नसकेको मोरक्को पछिल्लो संस्करणको सेमिफाइनल खेल्ने टिम हो । स्कटल्यान्ड र मोरक्कोबिच यसअघि एक खेल मात्र भएको छ । सन् १९९८ मा भएको विश्वकपमा यी दुई टिम भिड्दा मोरक्को ३–० ले विजयी भएको थियो । त्यसैले स्कटल्यान्ड बदलाको भावना पनि हुने छ ।

FIFA 2026.jpg

टर्की र पाराग्वेलाई हार्ने छुट छैन

समूह ‘डी’ को पहिलो दिन पराजित हुने दुवै टिम टर्की र पाराग्वेलाई विश्वकप फुटबल–२०२६ मा आफ्नो चुनौती कायम राख्न दोस्रो खेलमा हार्ने छुट छैन । अस्ट्रेलियाविरुद्धको खेलमा ७२ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेर विपक्षीको गोलपोस्टमा ३० प्रहार गरे पनि टर्कीले खेल हारेको थियो । त्यसैले प्रतियोगितापूर्व आफूले पाएको ‘डार्क हर्स’ को प्रतिष्ठानलाई जोगाउन पनि टर्कीलाई पाराग्वेसँगको खेल जित्न आवश्यक छ । सन् २००२ मा विश्वकपमा तेस्रो स्थान हासिल गरेपछि टर्की यस पटक मात्र विश्वकपमा चयन हुन सफल भएको हो । अमेरिकासँग नराम्ररी हारेपछि पाराग्वेको मनोबल उच्च छैन । जसको टर्कीले फाइदा उठाउन सक्ने छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend