काठमाडौँ, असार २ : विश्वकप उपाधि दावेदार स्पेन नवप्रवेशी केप भर्डेसँग बराबरीमा रोकिएको छ । समूह ‘एच’ अन्तर्गत अमेरिकाको एट्लान्टा रङ्गशालामा सोमबार राति भएको खेलमा स्पेन केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको हो ।
स्पेनको लगातार पोस्ट प्रहारमा केप भर्डेका गोलरक्षक भोजिन्हा बाधक बन्नुभएको थियो । खेलमा रक्षात्मक रणनिति अपनाएको केप भर्डेले विश्वकपको डेब्यु खेलमा सबैको कन जित्न सफल भयो ।
यता पहिलो हाफमा लामिल यामललाई आराम दिएको स्पेनले अन्तिम २० मिनेट लामिललाई खेलाए पनि गोल गर्न सकेन । १८ वर्षीय यामलको विश्वकपमा डेब्यु हो ।
७४ प्रतिशत बल पोसेसन राख्दै सातवटा पोस्ट प्रहार गरेको स्पेनलाई रोक्न विपक्षी गोलरक्षक भोजिन्हा पहाड बन्नुभएको थियो । सन् २०१० को विश्वकप विजेता स्पेनले समूहमा पहिलो बराबरी खेल्दै एक अङ्क बनाएको छ । केभले पनि एक अङ्क जोड्दै विश्वकपमा सुखद सुरुवात गरेको छ ।
यही समूहको अर्को खेलमा उरुग्वे र एसियाली टोली साउदी अरेबियाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा साउदीले सुरुवाती अग्रता लिएको थियो ।
साउदीका लागि ४१औँ मिनेटमा अब्दुल्लाह अलाम्रीले गोल गर्नुभयो । साउदीको अग्रता पछि जोसिएको उरुग्वेले ८०औँ मिनेटमा बराबरी गोल फर्काएको थियो ।
४१औँ मिनेटमा साउदीले पहिलो अग्रता लिएको थियो । उसका लागि अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका हुन् । उरुग्वेका लागि म्याक्सी अराजोले बराबरी गोल फर्काउनुभयो ।

सन् १९३० र १९५० को विजेता उरुग्वेले पहिलो हाफमा गोलको मौका पाएपनि सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझायो । बराबरीसँगै दुवै टोलीले एक एक अङ्क बनाएका छन् ।
