लस एन्जल्स, असार १ : विश्वकप फुटबल–२०२६ मा राजनीतिक कारणले हेर्नलायक टिमका रूपमा रहेको इरानले सोमबार न्युजिल्यान्डविरुद्ध समूह ‘जी’ को पहिलो खेल खेल्दै छ । यसअघि अमेरिकासँगको युद्धका कारण इरानको सहभागिता नै अन्योलमा थियो । इरान अन्तिम समयमा मात्र अमेरिकामा खेल्न राजी भएको हो । यद्यपि इरानले आफ्नो प्रशिक्षण शिविर मेक्सिकोमा सारेको थियो । यसै गरी इरानी टिमले विश्वकप सुरु हुनुभन्दा १० दिन अगाडि मात्र भिसा प्राप्त गरेको थियो । यो पहिलो विश्वकप हो, जसमा आयोजक देश आफू युद्धरत देशलाई सहभागी गराउँदै छ ।
इरानले सोमबार लस एन्जल्सको सोफी रङ्गशालामा न्युजिल्यान्डविरुद्ध खेल्दा दर्शकको हुटिङविरुद्ध पनि खेल्नुपर्ने हुन सक्छ किनभने शुक्रबार लस एन्जल्समा भएको उद्घाटन समारोहमा इरानको झन्डा मैदान ल्याउँदा हुटिङ भएको थियो ।
इरान कुल सातौँ र लगातार चौथो पटक विश्वकपमा सहभागी हुँदै छ तर इरानले अहिलेसम्म नकआउट चरणमा स्थान बनाउन सकेको छैन । न्युजिल्यान्ड सन् २०१० पछि पहिलो पटक विश्वकपमा फर्केको हो । न्युजिल्यान्डको यो मात्र तेस्रो विश्वकप हो । इरानविरुद्ध खेल्दा न्युजिल्यान्ड विश्वकपको इतिहासमै आफ्नो पहिलो जितको खोजीमा रहने छ । इरान र न्युजिल्यान्डबिच अन्तर्राष्ट्रिय फुटबल हुन लागेको यो पहिलो पटक हो । विश्वकपमा इरानले पछिल्ला दुई विश्वकपमा समूह चरणमा जित भने प्राप्त गरेको थियो । सन् २०१८ मा उसले मोरक्कोलाई १–० र सन् २०२२ मा वेल्सलाई २–० ले हराएको थियो तर पनि इरानले दुवै संस्करणमा समूह चरण पार गर्न सकेन ।
न्युजिल्यान्डविरुद्ध पनि इरानलाई केही माथि नै राखिएको छ तर उसका प्रमुख खेलाडी अलिरेजा जहाँबक्स, डेनिस इकर्ट र मेहदी तोराबीले चोटका कारण न्युजिल्यान्डविरुद्ध खेल्नेमा शङ्का छ । इरानलाई जिताउने प्रमुख जिम्मेवारी मेहदी तेरामीमा हुने छ । उहाँले इरानका लागि १०५ खेलमा ६० गोल गरिसक्नुभएको छ । न्युजिल्यान्डको आशा भने प्रमुख रूपमा कप्तान तथा सेन्टर फरवार्ड व्रिmस उडमा रहने छ । उहाँले आफ्नो देशका लागि ९० खेलमा ४५ गोल गर्नुभएको छ । नटिङघम फरेस्टका फरवार्ड उड पनि पूर्ण रूपमा दुरुस्त भने हुनुहुन्न ।
स्पेन–केप भेर्डे
विश्वकप फुटबल उपाधिका प्रमुख दाबेदारमध्ये एक स्पेनले सोमबार नवप्रवेशी केप भेर्डेविरुद्ध खेलेर सुरुवात गर्दै छ । केप भेर्डेविरुद्धको खेलअघि स्पेनका सबै खेलाडी दुरुस्त भइसकेका छन् । फरवार्ड भिक्टर मुनोज अभ्यासमा फर्किसक्नुभएको छ । लामिने यमाल र निको विलियम्स पनि चोटबाट मुक्त भइसक्नुभएको छ । मिकेल मेरिनो र फाबियन रुइज पनि टिममा हुनुहुन्छ । यी सबै खेलाडी गत सत्रको अन्त्यमा घाइते भएपछि स्पेनको चिन्ता बढेको थियो । विश्वकपअघि बार्सिलोनाका मिडफिल्डर फर्मिन लोपेज मात्र दुरस्त हुन सक्नुभएन ।
विशेषतः १८ वर्षीय यमाल टिममा फर्किएपछि स्पेनको मनोबल बढेको छ । यमाललाई यस पटक स्पेनलाई दोस्रो पटक विश्वकप दिलाउने खेलाडीका रूपमा हेरिएको छ । यमाल र विलियम्स दुवैले विश्वकपकै लागि आआफ्नो क्लबका लागि पछिल्ला खेल खेल्नुभएन । यद्यपि यी खेलाडीलाई स्पेन प्रशिक्षक लुइस डी ला फुएन्टेले केप भेर्डेविरुद्ध पहिलो रोजाइँमा नखेलाउने सम्भावना बढी छ ।
अफ्रिकाको पश्चिम तटमा रहेको सुन्दर टापु केप भेर्डे मात्र पाँच लाख जनसङ्ख्या भएको देश केप भेर्डे कुराकाओ र आइसल्यान्डपछि केप भेर्डे विश्वकप फुटबल खेल्ने तेस्रो सबभन्दा सानो राष्ट्र हो । केप भेर्डे अफ्रिकी समूहबाट क्यामरुन र अङ्गोला जस्ता बलियो फुटबल राष्ट्रसँगै स्वतः चयन भएको हो । छनोट प्रतियोगितामा केप भेर्डेले घरेलु मैदानमा बिनागोेल बेहोरेर पाँचै खेल जितेको थियो । त्यसैले पनि केप भेर्डेले स्पेनलाई चुनौती दिने अपेक्षा छ । सन् २०१० मा विश्वविजेता बनेपछि स्पेनले विश्वकपको क्वाटरफाइनलमा पनि स्थान बनाउन सकेको छैन ।
साउदी अरब–उरुग्वे
विश्वकप फुटबल–२०२६ अन्तर्गत समूह ‘एच’ मा सोमबार दुई पटकको विजेता उरुग्वेको सामना गर्दा साउदी अरबको प्रयास लगातार दोस्रो पटक स्तब्धकारी नतिजा निकाल्ने हुने छ । अर्जेन्टिनालाई पहिलो खेलमै सबभन्दा कमजोर टिमका रूपमा हेरिएको साउदी अरबले २–१ ले स्तब्ध पारेको थियो । जुन विश्वकपको इतिहासमै सर्वाधिक स्तब्धकारी नतिजामध्ये एक हो । सो जितको खुसियालीमा साउदी अरबमा सार्वजनिक बिदासमेत भयो तर अहिले साउदी अरबको हालको प्रदर्शनमा स्थिरता छैन । विश्वकपअघिको मैत्री खेलमा इजिप्टसँग ४–० र सर्बियासँग २–१ ले हारेपछि साउदी अरबले उरुग्वेलाई हराउन अपेक्षाभन्दा राम्रो खेल्नुपर्ने छ ।
अनुभवी मार्सेलो बिएस्लाको प्रशिक्षकत्वमा रहेको उरुग्वेली टिममा यसपालि युवा खेलाडीलाई भरोसा गरिएको छ । प्रशिक्षक बिएस्लाले इडिसन काभानी र लुइस सुबारेज जस्ता भेट्रान स्ट्राइकरलाई बेवास्ता गर्नुभएको छ । सन् २०१८ मा भएको विश्वकपमा उरुग्वेले साउदी अरबलाई
हराउँदै काभानी र सुबारेज दुवैले गोल गर्नुभएको थियो । यी दुई नभए पनि उरुग्वेको टिम निकै सन्तुलित छ । सो टिममा फेडरिको भेलभर्डे, डार्विन नुनेज र रोनाल्ड आराउजो जस्ता स्टार खेलाडी रहेका छन् । विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनालाई लगातार खेलमा हराएकोले पनि उरुग्वेबाट यस पटक ठुलो अपेक्षा गरिएको छ ।
बेल्जियम–इजिप्ट विश्वकप फुटबल–२०२६ अन्तर्गत समुह
‘जी’ को शीर्ष टिम बेल्जियमले सोमबार सियाटलमा मोहम्मद सलाहको इजिप्टविरुद्ध खेलेर सुरुवात गर्ने छ । सो खेल खेल्दा पछिल्लो भेटमा अफ्रिकी राष्ट्र इजिप्टसँग बेहोरेको हार मानसपटलमा हुने छ । पछिल्लो पटक सन् २०२२ नोभेम्बरमा भएको मैत्री खेलमा इजिप्टले बेल्जियमलाई २–१ ले हराएको थियो ।
सन् २०१८ को विश्वकपमा तेस्रो स्थानमा रहेको बेल्जियममा अहिले पनि सो विश्वकपमा खेलेका केभिन डी बु्रयन, रोमेलु लुकाकु र थिबाउट कोर्टियस जस्ता प्रमुख खेलाडी छन् । यसबाहेक युवा खेलाडी जेरेमी डोकु, अमाडोउ ओनाना र चाल्र्स डी केटेलरी उत्तिकै क्षमता भएका खेलाडी हुनुुहुन्छ । बेल्जियमविरुद्धको खेलमा इजिप्ट रक्षात्मक हुने सम्भावना छ । यसो भएमा प्रत्याक्रमणमा मोहम्मद सलाह र ओमार मारमाउसबाट गोलको अपेक्षा उसले राख्ने छ । इजिप्टले चौथो पटक विश्वकप खेल्न लागेको हो । इजिप्टले अहिलेसम्म विश्वकपमा जित हात पार्न सकेको छैन । एजेन्सी
