काठमाडौँ, वैशाख २२ : जल तथा मौसम विज्ञान विभागका अनुसार आज मंगलबार दिउँसो बाँके, दाङ, रूपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र गतिको हावाहुरीको सम्भावना रहेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरी आज दिउँसो लुम्बिनी प्रदेशका बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको हो ।
मंगलबार राति कपिलवस्तु, रूपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा तीव्र गतिको हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ।
विभागका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ।
कोशी, गण्डकी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका केही स्थानमा तथा मधेस र बागमती प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम सम्मको वर्षा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार हाल नेपालमा तीनवटा मौसमी प्रणाली बनेको छ। अहिले नेपालको मौसम प्रणालीमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ।
