काठमाडौँ, वैशाख ८ : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमल्सिनाले जानकारी दिनुभयो ।
उपाध्यक्ष भट्टको संयोजकत्वमा रहेको समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहनुभएको छ ।त्यस्तै, नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृत दिने, मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृत दिने निर्णय भएको सञ्चारमन्त्री डा. तिमल्सिनाले जानकारी दिनुभयो ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लिराज आचार्य, प्युठान र सदस्य पदमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति र मनोनयन गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
