काठमाडौँ, ४ वैशाख :प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसी अर्थात माततीर्थ औसीका चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लागेको छ । भक्तजनले कुण्डमा स्नान गरेर आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादान गर्ने गर्दछन् ।
वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको छ ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
