काठमाडौँ, वैशाख २ :अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा आज देशभरि योग अभ्यास गरिएको छ । काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी आरोग्य दिवस मनाइएको छ । योग कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालदेखि सरकारका प्रतिनिधि, राजनीतिज्ञ, कर्मचारी तथा सर्वसाधारणको सहभागिता थियो ।
समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाले अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो । हरेक वर्ष आरोग्य दिवस मनाउन नेपालले गरेको प्रस्तावलाई महासभाले गत फागुन २६ गते अनुमोदन गरेको हो । सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यास अवलम्बन गर्न सबैलाई प्रेरित गर्नु यो दिवसको लक्ष्य हो ।
