Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

निर्वाचनका क्रममा सार्वजानिक विदाका दिनमा पनि सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई नियमित सेवा जारी


सूचना कुण्ड
निर्वाचनका क्रममा सार्वजानिक विदाका दिनमा पनि  सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई नियमित सेवा जारी

काठमाडौँ, फागुन १३ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका समयमा स्वास्थ्य सेवालाई निरन्तर राख्न उच्च सतर्कता अपनाएको छ।

निर्वाचनअघि राजनीतिक गतिविधि तीव्र बन्दै जाँदा हुनसक्ने सम्भावित झडप र सडक अवरोधलाई मध्यनजर गर्दै मन्त्रालयले विशेष पूर्वतयारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार चुनावी आम सभा, भेला तथा घरदैलोका क्रममा राजनीतिक दलका कार्यकर्ताबिच हुनसक्ने द्वन्द्व र निर्वाचन बिथोल्न खोज्ने समूहबाट हुनसक्ने अवरोधलाई आँकलन गरी स्वास्थ्य सेवा प्रभावित नहुने गरी व्यवस्था मिलाइएको छ ।

मन्त्रालयले यस विषयमा गृह मन्त्रालय, प्रदेश तथा स्थानीय तहसँग समन्वय गरिरहेको छ । "निर्वाचनका नाममा सडक अवरुद्ध गर्ने वा अन्य व्यवधान सिर्जना गर्ने गतिविधि हुनसक्ने भएकाले स्वास्थ्य सेवामा असर नपरोस् भनेर तयारी गरेका छौँ," प्रवक्ता बुढाथोकीले भन्नुभयो । निर्वाचन आयोगलाई समेत स्वास्थ्यकर्मी परिचालन गर्दा सेवा प्रवाहमा प्रतिकुल असर नपर्ने गरी व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई नियमित सेवा जारी राख्न निर्देशन दिएको छ । निर्वाचनका बेला स्वास्थ्यकर्मीलाई अनावश्यक बिदा नदिन र लामो बिदामा रहेकाहरूलाई सेवामा फर्किन भनिएको छ । सम्भावित आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले स्वास्थ्यकर्मीका लागि अभिमुखीकरण, भर्चुअल तालिम तथा आवश्यक औषधी र उपकरणको मौज्दात व्यवस्थापन गरिसकेको छ ।

रणनीतिक स्थानहरूमा औषधी तथा लजिस्टिक सामग्री भण्डारण गरिएको र आवश्यकता परेमा आपत्कालीन मेडिकल टिम (इएमटी) तथा  र्‍यापिड रेस्पोन्स टिम परिचालन गरिने मन्त्रालयले जनाएको छ । निर्वाचन अवधिभर स्वास्थ्य संस्था र एम्बुलेन्स सेवा चौबीसै घण्टा अविरल रूपमा सञ्चालन हुने छन् ।

मन्त्रालयले स्थानीय प्रशासनलाई समेत झडप हुन नदिन र सडक मार्ग खुला राख्न अनुरोध गरेको छ । कुनै पनि अप्रिय घटना भइहालेमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरू उपचारका लागि पूर्ण तयारी अवस्थामा रहेको मन्त्रालयको दाबी छ। 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend