Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा


सूचना कुण्ड
विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा

काठमाडौं मंसिर २३ :  पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)काे फाइनलमा प्रवेश गरेको छ । यसअघिको साविक उपविजेतासमेत रहेको सुदूरपश्चिमले लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको हो ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १४.१ ओभरमा ७८ रनमै समेटियो । एनपीएलको दोस्रो संस्करणमा रनको आधारमा कुनै पनि टिमले व्यहोरेको यो सबैभन्दा फराकिलो हारसमेत हो ।

विराटनगरका ओपनर फाफ डू प्लेसिसले सर्वाधिक ३६ रन बनाए । उनले २९ बलमा तीन चौका र एक छक्का प्रहार गरे । मर्चेन्ट डी लांगेले १५ रन जोडे । बसिर अहमेदको नाममा १२ रन रह्यो । विराटनगरका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

ओपनर साम हेजलेट दोस्रो इनिङको पहिलो बलमै आउट भए । नरेन भट्ट पनि दोस्रो ओभरको पहिलो बलमा ‘गोल्डेन डक’ भए । मार्टिन गप्टिल दुई रनमा रनआउट भए । लोकेश बमले पनि पाँच रनमात्र थप्न सके । नारायण जोशीले एक र प्रतिश जिसीले तीन रन थपे । 

विराटनगरलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हर्मित सिंह, स्कट कुग्गेलिन र अभिनाश बोहराले ले दुई–दुई विकेट लिए । चार ओभरमा हर्मितले २० रनमात्र खर्चिए । स्कट कुग्गेलिनले तीन ओभरमा नौ रन खर्चिए । हेमन्त धामी र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमबाट निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५५ रन बनाएको थियो । 

सुदूरपश्चिमबाट ओपनिङमा आएका विनोदले ५२ बलमा ६३ रन बनाए । उनले तीन चौका र दुई छक्का प्रहार गरे । प्रतियोगिताको दोस्रो संस्करणमा विनोदको यो दोस्रो अर्धशतक हो । विनोदलाई १९औँ ओभरको अन्तिम बलमा प्रतिश जिसीले साम हेजलेटबाट क्याच गराएका थिए ।

सेल्डन ज्याक्सनले ११ बलमा दुई चौका र एक छक्कासहित २० रन जोडे । हर्मित सिंहले १४ र इशान पाण्डेले १३ रन बनाए । १२.५ ओभरमा इशानलाई विराटनगरका नरेन भट्टले ‘लङ अन’ मा उत्कृष्ट क्याच गर्दै पभेलियन पठाएका थिए । साम हेजलेटको बलिङमा नरेनले इशानको प्रहारलाई एक हातले बाउन्ड्री बाहिरबाट हावामा समात्दै पुनः बाउन्ड्रीभित्रबाट क्याच लिएका थिए ।

आरिफ सेखले १३ बलमा दुई चौका र एक छक्कासहित २० रन थपे ।

कप्तान दीपेन्द्रसिंह ऐरीले भने तीन रनमात्र बनाउन सके । बसिर अहमेदले गरेको १३.३ ओभरमा ऐरीलाई मर्चेन्ट डी लांगे र विकेटकिपर लोकेश बमले रनआउट गरेका थिए ।

विराटनगरका मर्चेन्ट डी लांगे र प्रतिश जिसीले दुई–दुई विकेट लिए । सूर्य तामाङ र साम हेजलेटले समान एक विकेट लिए ।

लिगमा सुदूरपश्चिमले पहिलो र विराटनगरले दोस्रो स्थान सुनिश्चित गरेका थिए । सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोड्दा विराटनगरले १० अंक जोडेको थियो ।

आजको खेलमा जित निकालेसँगै सुदूरपश्चिम सोझै फाइनलमा प्रवेश गरेको छ । पराजित विराटनगरले भने बुधबार हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको इलिमिनेटरमा काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्ने तालिका छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend