Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

डोल्पामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली   


सूचना कुण्ड
डोल्पामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली   

    
    सूचनाकुण्ड समाचारदाता,   

काठमाडौँ, वैशाख १५:   
सबै जिल्ला र गाउँमा बिजुली पु¥याउने सरकारको योजना क्रमशःपूरा हुने क्रममा छ । यसै सन्दर्भमा कर्णाली प्रदेशको डोल्पा जिल्ला विद्युत्को राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा जोडिएको छ ।    
    
 नेपाल विद्युत् प्राधिकरणले रुकुमपश्चिमको मुसिकोट नगरपालिकास्थित मुसिकोट सबस्टेसनबाट सोही जिल्लाको आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइन निर्माण गरी विद्युत् पु¥याएको हो ।    
    
 प्राधिकरणले उक्त प्रसारण लाइनको परीक्षण गरी बिहीबारदेखि सदरमुकाम दुनैलगायत क्षेत्रमा विद्युत् दिन सुरु गरेको छ । योसँगै कर्णाली प्रदेशका दसमध्ये आठ जिल्ला राष्ट्रिय ग्रिडमा जोडिएका छन् । अब हुम्ला र मुगुमा विद्युत् पुग्न बाँकी छ । मुगुमा आगामी असारभित्रमा ग्रिडमा जोड्ने गरी प्रसारण लाइन निर्माण भइरहेको छ ।    
    
 प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशका जिल्लामा विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको जानकारी दिनुभयो । “डोल्पामा राष्ट्रिय ग्रिड पुगेको छ, मुगुमा असारभित्रमा पुग्ने छ, हुम्लाका लागि बोलपत्रको प्रक्रिया पूरा गरी निर्माण व्यवसायी छनोट भइसकेको छ, अब छिट्टै काम सुरु हुने छ”, उहाँले भन्नुभयो ।    
    
 डोल्पा सदरमुकाम र त्यस आसपासका क्षेत्रमा लघु जलविद्युत् आयोजनामार्फत विद्युत् आपूर्ति हुँदै आएकामा अब राष्ट्रिय ग्रिडमार्फत वितरण हुनेछ, साथै जिल्लाभर विद्युत् सेवा विस्तारका लागि विद्युतीकरणको काम भइरहेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।    
    
 प्राधिकरणले सदरमुकाम दुनैस्थित ठूलीभेरी नगरपालिकामा र त्रिपुरासुन्दरी नगरपालिकाका क्षेत्रमा २०० किलोवाट जडित क्षमताको जैरीगाड साना जलविद्युत्गृहमार्फत विद्युत् आपूर्ति गरिरहेको छ । डोल्पामा प्राधिकरणका करिब एक हजार सात सय ग्राहक रहेका अन्य क्षेत्रमा लघुजलविद्युत् र सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति भइरहेको छ ।    
    
 प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) र युरोपेली लगानी बैक (इआइबी)बाट करिब २२ करोड अमेरिकी डलर (करिब रु २८ अर्ब) सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युतीकरण गरिरहेको छ । सरकारको लगानी र प्राधिकरण आफैँले कमाएको नाफाबाट केही अंश छुट्याएर यस क्षेत्रमा विद्युत्को पहुुँच विस्तारमा खर्च गरिरहेको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।    
    
 डोल्पाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन जाजरकोटको भेरी नगरपालिकास्थित कुदु सबस्टेसनबाट सोही जिल्लाको नलगाड नगरपालिकाको चौखाबजार हुँदै डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र त्रिपुराकोटसम्म ३३ केभी प्रसारण लाइन निर्माणाधीन छ । ठेकेदारले काम नगरेपछि उक्त ठेक्का रद्द गरी अहिले नयाँ ठेक्का सम्झौता गरी लाइन निर्माण भइरहेको प्राधिकरणका कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताउनुभयो । चौखा र त्रिपुराकोटमा ३३÷११ केभीका सबस्टेसन निर्माण हुनेछन् । लाइन र सबस्टेसन निर्माण करिब डेढ वर्षभित्रमा सम्पन्न हुने प्रमुख यादवले उल्लेख गर्नुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend