Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

इरानमाथि बदला लिँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने


सूचना कुण्ड
इरानमाथि बदला लिँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

काठमाडौँ, साउन २२ :  नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको दास्रो सेमिफाइनलमा इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।    
    
 त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा समूह चरणको हारको बदला लिँदै नेपालले इरानविरुद्ध शानदार जित दर्ता गर्‍यो ।    
    
 निकै प्रतिस्पर्धात्मक खेलको पहिलो सेट नेपालले इरानलाई २५-२१ ले पराजित गर्‍यो । इरानसँग १-५ ले पछि परेको अवस्थाबाट लगातार पाँच अङ्क जोडदै नेपालले अग्रता लिएको थियो । खेलको दोस्रो सेट भने निकै प्रतिस्पर्धात्मक रह्यो । एक समय १५-९ को अग्रता बनाएको नेपाल अन्त्यतिर २१-२४ ले पछि परेको थियो । त्यसपछि नेपालले लगातार तीन अङ्क जोड्दै खेललाई बराबरीमा ल्यायो र अन्ततः नेपालले इरानमाथि २८-२६ को जित निकाल्यो ।    
    
 खेलको तेस्रो सेट भने नेपालले २५-२० ले आफ्नो पक्षमा पार्न सफल भयो । प्रतियोगितमा नेपाल अङ्क तालिकाको दोस्रो र इरान तेस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेका थिए ।    
    
 यसअघि भएको लिग चरणको दोस्रो खेलमा इरानले नेपाललाई ३-२ को सेटमा पराजित गरेको थियो । सोही हारको बदला लिँदै नेपालले प्रतियोगिताको फाइनमा भारतसँगको भेट पक्का गर्न सफल भयो ।    
    
 लिग चरणको खेलमा नेपालले श्रीलङ्का र माल्दिभ्सलाई समान ३-० को सेट र भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो । लिग चरणमा भारतसँग ३-१ को सेटमा पराजय बेहोरेको भने इरानले श्रीलङ्कालाई ३-२ तथा माल्दिभ्सलाई ३-० को सेटमा पराजित गरेको थियो ।    
    
 जितपछि नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले अघिल्ला खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै इरानलाई पराजित गर्न सफल भएको बताउनुभयो ।    
    
 बुधबार हुने फाइनलमा नेपाल भारतविरुद्ध लिगचरणमा निकालेको जितलाई निरन्तरता दिने उद्देश्यका साथ उत्रनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक भट्टले भारतविरुद्ध यसअघिको जितलाई निरन्तरता दिनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आज इरानविरुद्धको खेलमा तीन सेटमा खेलेकाले भोलि पनि तीनै सेटमा भारतलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्य लिएका छौँ ।”    
    
 आजै भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलङ्कालाई ३-० को सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको थियो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend