Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

जिन्दगीमा एकपटक जानैपर्ने स्थान गोसाइँकुण्ड


सूचना कुण्ड
जिन्दगीमा एकपटक जानैपर्ने स्थान गोसाइँकुण्ड

रसुवा, साउन २१ :  गोसाइँकुण्ड मेला भर्ने श्रद्धालु भक्तजन तथा तीथयात्रुको यहाँ आउनेक्रम सुरु भएको छ । आगामी भदौ ३ गते जनैपूर्णिमाका दिन गोसाइँकुण्ड गई स्नान गर्ने क्रममा सदरमुकाम धुन्चेमा अहिले तीर्थयात्रु देखिन थालेका छन् । अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि सुरक्षा व्यवस्थासहित स्वास्थ्य सेवा, होटल प्रबन्धको व्यवस्था मिलाइको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो ।    
    
 तीर्थयात्राका क्रममा बाटोमा पर्ने लौरीविनायकदेखि माथि ‘लेक’ लाग्नसक्ने सम्भावनालाई दृष्टिगत गरी नेपाली सेना, नेपाल प्रहरी र जनपथ प्रहरीलाई तैनाथी अवस्थमा राख्ने व्यवस्था मिलाइएको प्रजिअ खनालले बताउनुभयो । राज्यका तीनवटै सुरक्षा अङ्गले आवश्यक शान्तिसुरक्षासहित बिरामी परी समस्यामा परेका तीर्थयात्रीको प्राथमिक उपचार गरी जिल्ला अस्पताल धुन्चेसम्म ल्याउने व्यवस्था मिलाइएको समेत उहाँले जानकारी दिनुभयो ।    
    
 यस वर्ष करिब १५ हजार भक्तजनले गोसाइँकुण्ड स्नान गर्ने अनुमानसहित आवश्यक तयारी गरिएको छ । भक्तजना एवं तीर्थयात्रीलाई आवश्यक सेवा दिन १३ उपसमिति गठन गरिएको गोसाइँकुण्ड विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो । समुद्र सतहदेखि १४ हजार फिट उचाइमा अवस्थित पौराणिक धार्मिक तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि भक्तजन आउने क्रम सुरु भएको अध्यक्ष डिएमले बताउनुभयो ।    
    
 जिन्दगीमा एकपटक भए पनि पवित्र तीर्थस्थल गोसाइँकुण्ड पुगी स्नान गर्ने धोको पूरा गर्न आउनुहुने श्रद्धालु भक्तजनलाई बाटोमा खानेबस्ने व्यवस्थाका लागि ठाउँठाउँमा होटल तयार भएको र आवश्यक खाद्यान्न जोहो गरिएको होटल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष निसान गजुरेलले जानकारी दिनुभयो । प्रजिअ खनालका अनुसार यात्रुको उपचार व्यवस्थाका लागि धुन्चेदेखि गोसाइँकुण्डसम्म ठाउँठाउँमा स्वास्थ्य शिविरको व्यवस्था गरिने छ ।    
    
 भक्तजन एवं तीर्थयात्रीलाई २५ वर्षदेखि स्वास्थ्य उपचार सेवा गर्दै आएको हिमालय उद्धार सङ्घले यस वर्ष पनि सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ । सङ्घका कार्यकारी निर्देशक गोविन्द बस्यालका अनुसार यो वर्ष गोसाइँकुण्ड मेला अवधिभर छजना चिकित्सिक, दुईजना स्वास्थ्य सहायक र स्वास्थ्य परिचारिका संलग्न स्वास्थ्य टोलीले आवश्यक उपचार सेवा दिने प्रबन्ध गरिएको छ ।    
    
 यसैगरी, शिविरमा अक्सिजनको समेत व्यवस्था गरिएको उहाँले बताउनुभयो । गोसाइँकुण्ड तीर्थस्थल लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भएको र बाटोमा हिँड्दा जङ्गली जनावर भेटिनसक्ने भएकाले तिनलाई नजिस्क्याई सुरक्षित साथ यात्रा गर्न निकुञ्जले सम्बद्ध सबैसँग अनुरोध गरेको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अणनाथ बरालले भन्नुभयो, “बाटोमा रूखबिरुवा नभाँच्न, नउखेल्न र तोकिएको स्थानमा मात्र फोहर व्यवस्थापन गर्न भक्तजनहरूसँग अनुरोध गर्दछु ।”    
    
 यसैगरी, मध्यवर्षाको समयलाई दृष्टिगत गरी जल तथा मौसम पूर्वानुमान शाखाबाट प्राप्त हुने मौसम विवरणलाई समेत ख्याल गर्न अनुरोध गरिएको छ । यात्राका क्रममा बाटोमा हिँड्दा असहज भएमा यथासक्य चाँडो सुरक्षाकर्मीसहित स्वास्थ्य शिविर एवं स्वास्थ्यकर्मीसँग सम्पर्क तथा समन्वय गरी लाभान्वित हुन समस्त यात्रु तथा भक्तजनको ध्यानाकर्षण गर्दै गोसाइँकुण्ड विकास समितिले जनैपूर्णिमाका दिन हुने गोसाइँकुण्ड मेला व्यवस्थापनका सन्दर्भमा सबैखालको पूर्वतयारी पूरा भइसकेकाले निर्धक्क भई गोसाइँकुण्ड पुगी स्नान गर्ने धोको पूरा गर्न सम्बद्ध सबैसँग अनुरोध गरेको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend