काठमाडौँ, असारः १७ : काठमाडौको पश्चिम भेगको सबैभन्दा धेरै साधारण सदस्य रहेको देव दर्शन बचत तथा ऋण सहकारी सस्था लिमिटेडले दश जना मोतिबिन्दु देखिएका बिरामीको निः शुल्क शल्यक्रिया गर्न सहयोग गर्ने भएको छ । चन्द्रागिरि नगरपालिका वडा ५ दाउराडिपोमा केन्द्रीय कार्यालय रहेको सो सस्थाले मोतिबिन्दुका बिरामीको निः शुल्क शल्यक्रिया गर्न तिलगंगा आँखा अस्पतालसँग सहकार्य गरेको छ ।
सस्थाको १६ औँ स्थापना दिवसका अवसरमा यही असार १५ गते आयोजित वृहत्त स्वास्थ्य शिविर अन्तर्गत तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा आँखा जाँच शिविर सम्पन्न भएको थियो । शिविरमा अस्पतालका स्वास्थ्यकर्मीसँग २९५ जनाले आँखा जाँच गराएका थिए । ती मध्ये दशजनामा मोतिबिन्दु देखा परेको थियो । देव दर्शन बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष रामनारायण घिमिरेले भन्नुभयो, “ आँखा जाँच शिविरमा जाँच गराएका मध्ये मोतिबिन्दु देखिएका दश जनाको तिलगंगा आँखा अस्पतालमा निः शुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाएको छौँ । ”
सस्थाले चेकपोष्टस्थित दिवासेवा केन्द्रमा रहेका ज्येष्ठ नागरिकलाई यातायातको व्यवस्था मिलाइ स्वास्थ्य शिविरमा ल्याइ स्वास्थ्य जाँचको व्यवस्था मिलाएको थियो । सहज रुपमा आवश्यक स्वास्थ्य सेवा पाएकामा ज्येष्ठ नागरिक औधी खुशी भएका थिए । युवा समाजसेवी अध्यक्ष घिमिरेका अनुसार स्वास्थ्य शिविरमा १४९ जनाले निःशुल्क मधुमेह तथा रक्तचाप, ३५ जनाले नशा, हाडजोर्नी, छाला तथा यौनरोग विशेष परामर्श सेवा लिएका थिए । तिलगंगा आँखा अस्पताल र मेडपोइन्ट अस्पताल सतुंगलले सस्थालाई स्वास्थ्य शिविर आयोजना गर्न सहयोग पु-याएका थिए ।
देव दर्शन बचत तथा ऋण सहकारी सस्थाले आफ्नो वार्षिकोत्सवका अवसर पारेर सामाजिक गतिविधि आयोजना गर्दै आएको छ । गत वर्ष रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
