Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

महिला भलिबलमा एकछत्र राजगर्दै आएको न्यु डायमण्ड, जो आफ्नो साख गुम्न नदिन अथक परिश्रम गर्दैछ 


सूचना कुण्ड
महिला भलिबलमा  एकछत्र राजगर्दै आएको न्यु डायमण्ड, जो आफ्नो साख गुम्न नदिन अथक परिश्रम गर्दैछ 

काठमाडौँ, असार ६  : नेपाली महिला भलिबलमा झण्डै दुइ दशकदेखि एकछत्र राजगर्दै आएको  टिम हो – ‘चन्द्रगिरि न्यु डायमन्ड  भलिबल टिम’ । जो सदाबहार उपाधिको प्रबल दाबेदार र विभागीय नेपाली सेना, नेपाल पुलिस, शसस्त्रप्रहरी बल (एपिएफ) का टिमलाई समेत दबाबमा राख्न सक्छ ।  यो टिमले यसपटक आठौं ‘प्रधानमन्त्री कप एनभीए लिग’मा भने सोचेअनुरुपको नतिजा निकाल्न सकेन ।

नयाँ खेलाडीको आगमन, व्यवस्थापन पक्ष पनि अस्थिर रहिरहँदा हाल ‘न्यु डायमन्ड’को नतिजा पछाडि धकेलिन पुग्यो । यसपटक न्यु डायमन्ड तीन विभागीय टिम र एभरेस्ट भलिबल क्लब बुटवलभन्दा पछि पर्दै छ टिम सहभागी लिगमा पाँचौं बन्यो ।

पछिल्लो वर्षहरुमा राष्ट्रिय महिला भलिबल टिममा पनि ‘न्यु डायमन्ड’ भलिबल क्लबकै खेलाडीको दबदबा थियो । कप्तान अरुणा शाही, प्रतिभा माली, सलिना श्रेष्ठ यी खेलाडीको भलिबलको पहिलो पाठशाला न्यु डायमन्ड नै हो । हाल पनि रिमा कुँवर, प्रगति नाथ यी खेलाडीहरु राष्ट्रिय टिममा डेब्यु गरिसकेका खेलाडी हुन् ।

यस पटक आफूले पनि प्रशिक्षणमा समय दिन नभ्याएको र व्यवस्थापकीय पक्षको दौडधुपले टिमको नतिजामा असर परेको प्रशिक्षक कुमार राई बताउँनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, “यस पटक मैले टिमलाई प्रशिक्षण गराउने समय नै पाइनँ । कर्भड हल र छात्रावासको काम पनि आफैंले हेर्नु पर्दा यसपटकको नतिजा सोचे अनुरुप आएन । ” प्रशिक्षक राईले हाल एउटा घर पूरै भाडामा लिएर खेलाडीको छात्रावासको रुपमा प्रयोग गरिरहेका छन् । हाल चन्द्रागिरि–१३, पुरानो नैकापमा यो क्लबको कभर्ड हल र छात्रावास निर्माणाधीन  छ । यही चटारोले प्रशिक्षक तथा व्यवस्थापक राईले यो पटकको एनभिए लिग प्रशिक्षणमा समय दिन नसकेको बताउँनुहुन्छ  । खेलाडीहरु आफैं स्वतस्फूर्त यस लिगका लागि तयारी गर्नुभयो । उहाँ भन्नुहुन्छ, “नयाँ खेलाडी आउने क्रममा छन्, ती खेलाडीलाई व्यवस्थापन, खर्चको पाटो कसरी मिलाउने कभर्ड हल र छात्रावासको निमार्णतिर पनि आफैं कुद्नुपर्ने भएकाले यस लिगमा हामी पछि प¥यौं ।”
 
नयाँ खेलाडीको भरोसा क्लबलाई

हाल न्यु डायमन्डको. टिममा वाल्मिका आचार्य, सलिना श्रेष्ठ, रिमा कुँवर र प्रतिभा मालीबाहेक बाँकी सबै खेलाडी नयाँ छन् । सेटर प्रगतिनाथ पनि केही अनुभवी खेलाडी हुन् ।

विगतका अनुभवी खेलाडी विभिन्न कारणले पलायन हुँदा क्लबको साख जोगाउने भार नयाँ खेलाडी काँधमा आएको छ ।प्रशिक्षक राईले  नयाँ खेलाडीको अनुभवको कमी हुने र एकैचोटि बलिया प्रतिस्पर्धीसँग भिड्नुपर्दा अपेक्षित नतिजा नआइरहेको  भन्नुभयो  । 


चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले खेलकुद विकासका लागि नगरपालिकाले उच्च प्राथमिता दिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो “चन्द्रागिरि नगरलाई खेलकुद नगरीका रुपमा विकसित परिचित गरिने हाम्रो नीति रहेको छ ।”
चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले ‘चन्द्रगिरि न्यु डायमन्ड  भलिबल टिम’ चन्द्रागिरि नगरपालिका सहित देशकै गौरवको भलिबल टिम रहेको हुँदा अगामी दिनमा खेल क्षेत्रमा लगानी विस्तार एवं खेलाडीलाई सम्मान एवं प्रोत्साहन गर्ने नीति नगरपालिकाले लिएको जानकारी दिनुभयो । 


“नयाँ खेलाडीले पुरानालाई प्रतिस्थापन गरिरहेका छन् । पुरानो पुस्ताले नयाँलाई हस्तान्तरण गर्दै जाँदै गरेको अवस्था छ’, प्रशिक्षक राई भन्नुहुन्छ, “नयाँ पुस्ताले त्यो अभिभारा सम्हाल्न नसकेको मात्रै हो । ” न्यु डायमन्ड क्लबका पुरानो खेलाडीसमेत रहेकी ललिता नाथ हाल क्लबका सहायक प्रशिक्षक पनि हुनुहुन्छ ।  उहाँ भन्नुहुन्छ , “ टिममा सबै एकै तहका खेलाडी भए । म्याच एक्सपोजर भएन । जसले गर्दा हामी फिनिसिङमा चुक्यौं ।” ललिता आफ्नो पालाको र अहिलेको खेलाडीमा भने धेरै अन्तर पाउँछिन् । उहाँ भन्नुहुन्छ , “हाम्रो पालोमा र अहिलेको बच्चाहरुमा ज्ञानको फरक छ । नयाँ पुस्तामा नयाँ जोश, जाँगर र नयाँ ज्ञान छ  ।”

अहिलेको खेलाडीमा क्षमता भए पनि अनुभवको कमी र डरले ठूलो खेलमा प्रभाव पारेको उहाँको बुझाइ छ । यसपटक आफूले समय दिन नभ्याए पनि खेलाडीको प्रदर्शनबाट प्रशिक्षक राई भने सन्तुष्ट हुनुहुन्छ । “हाम्रो यो पालीको खेलमा म सन्तुष्ट छु । एपीएफसँग ५ सेट खेल्यो । नेपाल पुलिससँग पनि प्रतिस्पर्धात्मक नै खेले आर्मीसँग पनि ५ सेट खेल्यौं ” , उहाँ भन्नुहुन्छ्, “एभरेस्टसँग भारतीय खेलाडी हुँदा उनीहरु आत्तिएर खेल्न सकेनन् । ”

हाल क्लबमा खेलाडी लामो समय टिक्न नसक्नुको अर्को कारण मासिक तलब नहुनु पनि हो । विभागीय टिमसँगै प्रतिस्पर्धामा उत्रिर्ने न्यु डायमन्डका खेलाडी प्रायः विद्यालयस्तर पढ्दै गरेका विद्यार्थी छन् । उहाँहरुको पढाइ र खाना बस्नको खर्च प्रशिक्षक राईले नै व्यवस्थापन गरिरहेका हुन्छन् । उहाँ भन्नुहुन्छ “ सिभिल क्लब हो । यहाँ खेलाडीको विद्यालय खर्च, खाना बस्नको सबै व्यवस्था मिलाउनु पर्छ । जसले गर्दा टिममा सोचेजस्तो व्यवस्थित छैन । ”   नयाँ कभर्ड हल र छात्रावासको काम सकिएपश्चात भने खेलाडीलाई दिइने अन्य सुविधाको बारेमा पनि सोच्ने योजना भइरहेको प्रशिक्षक राईले बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ “ अब अहिले कभर्ड हल र होस्टलको काम भदौसम्ममा सक्न पाए । त्यसपछि हामी खेलाडीको प्रशिक्षण र खर्चको बारेमा पनि योजना बनाइरहेका छौं ।” 


प्रशिक्षक राई कभर्ड हल र छात्रावासको काम सके नयाँ खेलाडीको साथमा न्यु डायमन्डको पुरानो साख फर्काउन चाहन्छन् ।  उहाँले “ अहिलेका खेलाडी क्षमतावान, छन् । केही नयाँ खेलाडी आउने क्रममा छन् । सबै व्यवस्थापकीय पक्ष मिलेपछि न्यु डायमन्ड पुनः आफ्नो पुरानो लयमा फर्कन्छ ।”


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend