Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

प्रतिनिधिसभा निर्वाचन : ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद


सूचना कुण्ड
प्रतिनिधिसभा निर्वाचन : ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद

प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररुपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ४० वर्षमुनिका नौ जनामात्र निर्वाचित भएका छन् ।    
    
राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई हेर्दा यो कूल जनसङ्ख्याको ४० दशमलव ३५ प्रतिशत रहेको छ ।    
    
त्यस्तै ७० वर्षमाथिका भने १४ जना निर्वाचित भएको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । साथै सबैभन्दा बढी ४० देखि ७० वर्ष उमेर समूहमा एक सय ३८ जना निर्वाचित भएका छन् । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको प्रत्यक्षका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये शुक्रबारसम्म एक सय ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।    
    
प्राप्त मतपरिणामअनुसार ४० वर्षमुनिको उमेर समूहबाट नेपाली कांग्रेसका मुस्ताङबाट २९ वर्षका योगेश गौचन थकाली, नेकपा (एमाले) का बारा–२ बाट ४० वर्षीया ज्वालाकुमारी साह र मकवानपुर–२ बाट ४० वर्षीय महेशकुमार बर्तौला तथा नेकपा (माओवादी केन्द्र) का मोरङ–४ बाट ३७ वर्षीय अमनलाल मोदी हुनुहुन्छ ।    
    
यस्तै ४० वर्ष उमेर समूह मुनिका राष्ट्रिय प्रजातन्त्र पार्टीका जुम्लाबाट ३० वर्षीय ज्ञानबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ–२ बाट २७ वर्षीया सोविता गौतम, ललितपुर–३ बाट ३३ वर्षीया तोसिमा कार्की, चितवन–१ बाट ३९ वर्षीय हरि ढकाल हुनुहुन्छ । नागरिक उन्मुक्ति पार्टीका कैलाली–१ बाट ३९ वर्षीया रञ्जिता श्रेष्ठ र कैलाली–२ बाट ३७ वर्षीय अरुनकुमार चौधरी सो उमेर समूहमा रहनुभएको तथ्याङ्मा उल्लेख छ ।    
    
७० वर्ष माथिका सांसद    
    
यसैगरी ७० वर्ष माथिको उमेर समूहमा कांग्रेसका डडेल्धुराबाट प्रधानमन्त्री एवं सभापति ७७ वर्षीय शेरबहादुर देउवा, तनहुँ–१ बाट ७८ वर्षीय रामचन्द्र पौडेल, नुवाकोट–२ बाट ७५ वर्षीय अर्जुननरसिंह केसी, उदयपुर–१ बाट ७३ वर्षीय डा नारायण खड्का, मोरङ–६ बाट ७२ वर्षीय डा शेखर कोइराला हुनुहुन्छ । यस उमेर समूहमा एमालेका झापा–५ बाट ७० वर्षीय केपी शर्मा ओली र कपिलवस्तु–३ बाट ७७ वर्षीय मङ्गलप्रसाद गुप्ता रहनुभएको छ भने नेकपा (माओवादी केन्द्र)का सर्लाही–२ बाट महिन्द्र राय यादव हुनुहन्छ ।    
    
जनता समाजवादी पार्टी नेपालका ७३ वर्षीय नवलकिशोर साह सुडी, राष्ट्रिय प्रजातन्त्र पार्टीका रुपन्देही–३ बाट ७१ वर्षीय दीपक बोहरा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२ बाट ध्रुवबहादुर प्रधान ७० वर्षभन्दा माथिको उमेर समूहका हुनुहुन्छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महोत्तरी–३ बाट ८० वर्षीय महन्थ ठाकुर र रुपन्देही–४ बाट ७२ वर्षीय सर्वेन्द्रनाथ शुक्ला तथा राष्ट्रिय जनमोर्चाका बागलुङ–१ बाट ८० वर्षीय चित्रबहादुर केसी यस उमेर समूहका हुनुहुन्छ ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend