काठमाडाँै, वैशाख ३ ः चन्द्रागिरि नगरपालिका, स्वास्थ्य शाखाले विद्यालयमा भर्ना हुन आउने पाँचवर्षसम्मका बालबालिकाको अनिवार्य खोप कार्ड हेरेर मात्र विद्यालयमा भर्ना गर्न र गराउन नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई आह्वान गरेको छ ।
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिक सत्र २०८१ का विद्यार्थी भर्ना अभियान यही वैशाख २ गतेदेखि चन्द्रागिरि नगरपालिकामा पनि सुरुआत गरिएको छ । पाँचवर्षसम्मका बालबालिकालाई भर्ना गर्नुपूर्व राष्ट्रिय खोप तालिकामा समावेश भएका सम्पूर्ण खोपहरुको सबै मात्रा लगाएको सुनिश्चितताका लागि अनिवार्य रुपमा खोप कार्ड हेरी विद्यालयमा भर्ना गर्न र गराउन शाखाले ती दुबै विद्यालयलाई आग्रह गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालद्वारा जारी सूचनामा राष्ट्रिय खोप तालिकामा समावेश भएका सम्पूर्ण खोपहरुको सबै मात्रा लगाएको नपाइमा नजिकको स्वास्थ्य सस्थासंग समन्वय गरी खोप लगाउन छुट भएका खोपको छुट मात्राको खोप लगाउन र खोप लगाएको सुनिश्चितता गर्न आह्वान गरिएको छ ।
स्वास्थ्य शाखाप्रमुख एवं जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले खोप कार्ड हेरी विद्यालयमा भर्ना गर्न र गराउँदा पाँचवर्ष मुनिका बालबालिका खोपको पहुँचबाट बञ्चित हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो “ खोप लगाएको सुनिश्चितताले पूर्ण खोप नगरपालिका घोषणा गर्ने कार्यमा सहयोग पुग्दछ । ”
नगरपालिकाभित्र सामुदायिक विद्यालय २३ र संस्थागत विद्यालय (मन्टेश्वरी सहित) ८० वटा विद्यालय रहेका छन् । गतवर्ष नगरपालिकामा विद्यालयमा बालबालिकाको खूद भर्नादर ९६ प्रतिशत भन्दा माथि रहेको शिक्षा, युवा, तथा खेलकूद शाखाका प्रमुख सुजनराज खनालले जानकारी दिनुभयो ।
स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य अधिकृत महतोका अनुसार गत फागुनमा सञ्चालित ‘दादुरा रुवेला खोप अभियान २०८०/ ८१ ’ अन्तर्गत नगरपालिका भित्र करिव ३५ हजार ६१२ भन्दा बढी बालबालिकालाई दादुरा रुवेला खोप लगाइएको थियो ।
