Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

हजारभन्दा बढी सवारीसाधन वीरगञ्ज भन्सारमा थन्किए  


सूचना कुण्ड
हजारभन्दा बढी सवारीसाधन वीरगञ्ज भन्सारमा थन्किए  

  

पर्सा, चैत१८ :  वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर भन्सार ‘यार्ड’मा थन्किएका छन् । अटोमोबिल व्यवसायीले शोरुममा भएका सवारीसाधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका सवारीसाधनको जाँचपास गराउने गर्दै आएकाले यार्डमा सवारीसाधन थन्किने प्रवृत्ति बढेको हो ।    
    
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले कार्यालयमा मात्रै जाँपपास नभएका एक हजार दुई सयभन्दा धेरै इन्धनबाट चल्ने सवारीसाधन रहेका बताउनुभयो । “यहाँ एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभई रोकिएका छन् । व्यवसायीहरूले शोरुममा भएका सवारीसाधन बिक्री भएसँगै वा ग्राहकको माग बढेपछि भन्सार जाँचपास गराउने प्रवृत्ति छ ।”    
    
कार्यालयका अनुसार भन्सार यार्डमा बस, ट्रक तथा च्यासिस र बडीलगायत छन् । भन्सार कार्यालयका अनुसार २०७९ चैतमा भन्सारमा जाँचपास नभएका सवारीसाधनको सङ्ख्या दुई हजार दुई सयभन्दा बढी थियो । त्यसैगरी २०८० को साउनमा भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या घटेर एक हजार आठ सयमा झरेको थियो । २०८० चैत १५ गतेसम्म भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या एक हजार दुई सय छ ।     
    
 अटोमोबिल्स एशोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापा आर्थिक मन्दीले दुई वर्षअघिदेखि नै सवारीसाधन भन्सारमा जाँचपास नभई थन्किरहेको बताउनुहुन्छ । “पहिला वीरगञ्ज भन्सार कार्यालयमा झण्डै दुई हजार दुई सय सवारीसाधन भन्सार जाँचपास नभई थन्किएकामा अहिले व्यवसायीले विदेशबाट सवारीसाधनको आयात घटाएर भन्सारमा भएको सवारीसाधन छुटाउँदा रोकिएका सवारीसाधनको सङ्ख्या केही घटिरहेको छ”, उहाँले भन्नुभयो, “आर्थिक मन्दी र बैंक तथा वित्तीय संस्थाले सहज ढङ्गले सवारीसाधनमा लागनी नगर्दा पनि सवारीसाधन भन्सारमा नै रोकिएका हुन् ।”    
    
पूर्वअध्यक्ष थापाले भन्सारमा रोकिएका इन्धनबाट चल्ने सवारीसाधन खरिद मूल्यभन्दा धेरै रकम भन्सार महसुल तथा राजस्वबापत तिर्नुपर्ने भएकाले पनि विस्तारै छुटाउने नीति लिँदै आएको बताउनुभयो । प्रमुख भन्सार प्रशासक पन्थीले भन्सार यार्डमा सवारीसाधन जाँचपास नगरिकनै थन्किनुले सवारीसाधनको बजार सुस्ताएको सङ्केत गर्ने बताउनुहुन्छ । “अहिले इन्धनबाट चल्ने सवारीसाधनको माग कम छ । त्यसैले पनि भन्सारमा रोकिरहेका सवारीसाधनको सङ्ख्या केही बढी देखिएको हो”, उहाँले भन्नुभयो, “भन्सार यार्डमा रोकिएका एक हजार दुई सय सवारीसाधनको जाँचपास हुने हो भने कम्तीमा पनि रु १० अर्ब हाराहारीको राजस्व सङ्कलन हुनेछ ।”    
    
वीरगञ्ज भन्सार कार्यालयमा भन्सार जाँचपास नभई रोकिएका सवारीसाधनमध्ये अधिकांश व्यावसायिक प्रयोजनका लागि ल्याइएका छन् । भाडाका बस, पिकअपलगायत छन् । “अहिले यहाँका मान्छेको क्रय क्षमता निकै घटेको छ । अहिले आर्थिक मन्दीका कारण गाडी किन्ने क्षमतामा मान्छे पुगिसकेका छैनन्”, पूर्वअध्यक्ष थापाले भन्नुभयो, “अहिले व्यावसायिक गाडीबाट खासै कमाइ छैन । त्यही कारणले पनि व्यावसायिक प्रयोजनका सवारीसाधनको खरिद गर्न व्यवसायी अनिच्छुक छन् ।”    
    
 पूर्वअध्यक्ष थापाका अनुसार बैंक तथा वित्तीय संस्थाले पनि निश्चित प्रकृतिका सवारीसाधनबाहेक अन्यमा फाइनान्सिङ गर्न हिच्किचाइरहेका छन् । “नयाँ सवारीसाधन खरिद गर्नेले अहिले ५० प्रतिशत नगद लगानी गर्नुुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “बैंक तथा वित्तीय संस्थाले सवारीसाधनमा ५० प्रतिशत लागनी गर्नसमेत आनाकानी गरिहेकाले केही समस्या भएको हो ।”    
    
विगतमा इन्धनबाट चल्ने सवारीसाधनमा सवारीसाधनको कुल लागतको ७०–८० प्रतिशतसम्म ‘फाइनान्सिङ’ गर्ने व्यवस्था थियो । त्यसबेला ‘डाउनपेमेन्ट’ भने २०–३० प्रतिशत तिरेमात्रै पुग्ने गथ्र्याे । यद्यपि अहिले पनि विद्युतीय सवारीसाधनमा भने बैंक तथा वित्तीय संस्थाले ७० प्रतिशतसम्म फाइनान्सिङ गर्दै आइरहेका छन् ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend