Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाटाँमा   


सूचना कुण्ड
विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाटाँमा   


   
कञ्चनपुर, चैत११ : विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ । निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखापरेको हो । शुक्लाफाँटा नगरपालिका–२ ढकनियास्थित स्थानीय किसानको खेतमा बगाले बगेडी चरा फेला परेको संरक्षणकर्मी सुवन चौधरीले बताउनुभयो । भँगेरा जस्तै तर रङ्गीन ३२ वटा बगाले बगेडी चरा आफूले देखेको उहाँले बताउनुभयो ।    
    
धेरै वर्षपछि विश्वमै दुर्लभ मानिएको चरा देखापरेपछि नियमित निरीक्षण गर्दै आएको संरक्षणकर्मी चौधरीले बताउनुभयो । “फरक प्रजातिको चरा देखेपछि तस्वीर खिचेर नेपाल पक्षी संरक्षण सङ्घलाई पठाएँ”, उहाँले भन्नुभयो, “यो दुर्लभ प्रजातिको चरा भएको जानकारी प्राप्त भएको छ ।”    
    
नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस चरालाई पहिलोपटक सन् १९८० मा अभिलेखीकरण गरिएको थियो । त्यसपछि यस चराको तथ्याङ्क राखिएको नपाइएको उहाँले बताउनुभयो । अभिलेखीकरण गरिएको ४४ वर्षपछि बगाले बगेडी चरा देखापरेको उहाँले बताउनुभयो ।    
    
चराविज्ञ डगौराका अनुसार नेपालमा बगेडी चराका १५ प्रजाति नेपालमा पाइने गरेका छन् । तीमध्ये तीन प्रजाति रैथाने हुन् । बाँकी १२ आकर्षक साना प्रजातिका चरा रुस, मङ्गोलिया, चीनलगायतका क्षेत्रबाट बसाइँ सरेर आउने गर्दछन् । बसाइँ सरेर आउनेमध्ये बगाले बगेडी चरा पनि पर्ने गर्दछ ।    
    
उत्तरी ध्रुवमा अत्यधिकरूपमा बढेको चिसो छल्नका प्रत्येक वर्ष यहाँ पुग्ने गर्दछन् । मासुका लागि अत्यधिकरूपमा सिकार हुन थालेपछि यो चरा विश्वबाटै लोप हुने अवस्थामा पुगेको छ । “अत्यन्तै सुन्दर शारीरिक बनावट र रङ भएका बगेड चराको सङ्ख्या पछिल्लो दशकमा ९० प्रतिशतले घटेको पाइएको छ”, चराविज्ञ डगौराले भन्नुभयो, “घट्नुको मुख्य कारणका रूपमा चोरी सिकारी नै हो ।” चीनमा सबैभन्दा बढी यस चराको सिकार हुने गरेको उहाँको भनाइ छ ।    
    
नेपालकै मधेस प्रदेशको धनुषा र महोत्तरी क्षेत्रमा यस चराको सिकार हुने गरेको पाइएको चौधरीले बताउनुभयो । “उखुबारीमा भएका बेला यस चराको सिकार भएको पाएका छौँ”, उहाँले भन्नुभयो, “होटलमा समेत यस चराको मासु बिक्री भएको पाइएको छ ।”    
    
“छातीमा पहेँलो रङ हुने बगाले बगेडी (एल्लो ब्रेस्टेड बन्टिङ) चरा नेपालमा पनि केही वर्ष पहिला हजारौँका सङ्ख्यामा देखिने गरेका थिए, अहिले २० देखि ३० को सङ्ख्यामा मात्रै देखिने गरेका छन्”, डगौराले भन्नुभयो, “पछिल्लो वर्षमा यस चरालाई देख्न पनि दुलर्भ भएको छ, सन् १९८० पछि पहिलोपटक देखिएका छन् ।” यो चरा अतिसङ्कटापन्न अवस्थामा रहेको उहाँले बताउनुभयो ।    
    
चोरी सिकारीसँगै सिमसार क्षेत्र विनाश हुन थालेपछि बसाइँ सारेर आउने बगाले बगेडीसँगै अन्य चरा सङ्कटमा परेका छन् । बसाइँ सार्ने क्रममा हिमाल छिचोल्दै कयौँ फिटको उचाइ भएर आउने बगाले बगेडी चरा मर्ने गर्दछन् भने सिकारी चराको सिकार पनि हुने गर्दछन् । सिमसार क्षेत्र अतिक्रमणको चपेटामा पर्नु र कृषिमा अयिनन्त्रित तरिकाले विषादिको प्रयोग गर्दा पाहुना चरा यसबाट प्रभावित हुने गरेका छन् ।    
    
नेपाल पक्षी संरक्षण सङ्घले बगाले बगेडी चराको सन् २००४ देखि सन् २०१७ सम्म गरेको तथ्याङ्क विश्लेषणमा पनि सङ्कटापन्न अवस्थमा देखिएको छ । चराविज्ञ डगौराका अनुसार बगाले बगेडी चरा सन् २००० देखि २०१५ सम्म संवेदनशील अवस्थामा थियो । सन् २०१३ देखि २०१६ सम्म सङ्कटापन्न अवस्थामा थियो । त्यसपछि यसको सङ्ख्या निकै घटेको पाइएपछि सन् २०१७ देखि हालसम्म यो चरा अतिसङ्कटापन्न अवस्थामा छ ।    
    
यो चरा खेतबारी र घाँसेमैदानमा पाइन्छ । साउनदेखि जेठमा प्रजनन गर्ने यो प्रजातिको पोथीले घाँसको प्रयोग गरी भुइँमा गुँड लगाउने गर्छ । यसको औषत आयु सात वर्ष हुने गरेको बताइएको छ । प्रजननका बेला पहेँलो रङमा देखिने बगाले बगेडी अरु बेला भँगेराजस्तै देखिने भएकाले चिन्न नै गाह्रो हुने गरेको छ । कैलाली, कञ्चनपुरसँगै बर्दिया, चितवन, झापा, कोशीटप्पु र मधेस प्रदेशका केही जिल्लामा बगाले बगेडी चरा पाइने गरेका जिल्लाका चरासम्बन्धी अन्य जानकारहरूले बताएका छन् ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend