Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

पिरामिडको देशमा मनाइयो नेपाली वसन्त उत्सव   


सूचना कुण्ड
पिरामिडको देशमा मनाइयो नेपाली वसन्त उत्सव   

     
     सूचनाकुण्ड समाचारदाता

काठमाडौँ, फागुन  २८   
इजिप्टस्थित नेपाली राजदूतावासको आयोजनामा राजधानी कायरोमा शनिबार ‘नेपाली वसन्त उत्सव, २०२३’ मनाइएको छ । नेपाली बालबालिकाको स्वागत नृत्य प्रस्तुतिबाट सुरु भएको उक्त कार्यक्रममा इजिप्टका प्रथम सगरमाथा आरोही ओमार साम्राले नेपाली कला, संस्कृति र परम्पराको विविधता तथा सम्पन्नताको वर्णन गर्दै आफूले सगरमाथा आरोहण गर्दाको अनुभवबारे प्रवचन दिनुभएको थियो ।    
    
 अर्का सगरमाथा आरोही शरीफ ओबाल्डले साहसिक खेलका लागि नेपालका अद्वितीय स्थानको वर्णन गर्दै त्यस्ता खेलले मानिसलाई शारीरिक, मानसिक एवं भावनात्मकरूपमा स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेबारे चर्चा गर्नुभएको इजिप्टस्थित नेपाली दूतावासले जनाएको छ ।    
    
 कार्यक्रममा इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले यस कार्यक्रमले इजिप्टका नागरिकमाझ नेपालको अद्भूत प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं पर्यटकीय आकर्षणबारे जानकारी हुने बताउनुभयो ।    
    
 उहाँले दुई देशबीच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाउन यस्ता कार्यक्रम आवश्यक पर्ने उल्लेख गर्नुभयो । कायरोस्थित विश्वस्वास्थ्य सङ्गठनमा कार्यरत खुस्बु गुप्ताले योग प्रणालीको उन्नयनमा योगभूमि नेपालको योगदानबारे चर्चा गर्दै योगाभ्याससहित एक प्रयोगात्मक प्रस्तुति गर्नुभएको थियो । पूर्वराजदूत अब्दुल फत्तेहले महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘घाँसी’ कविताको अरबी अनुवाद पढेर सुनाउनुभएको थियो ।    
    
 त्यसैगरी नेपालका लागि इजिप्टका अर्का पूर्वराजदूत इमाम मुस्तफाले नेपाल तथा इजिप्टबीचको द्विपक्षीय सम्बन्धका बारेमा चर्चा गर्नुभएको थियो । कायरोस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषमा कार्यरत अमित ढुङ्गेलले नेपालको सांस्कृतिक धरोहरलाई इजिप्टमा चिनाउन यो कार्यक्रम धेरै उपयोगी हुने बताउनुभयो ।    
     
 आगामी दिनमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिलाई निरन्तरता दिएर इजिप्टका नागरिकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्न सकिने प्रशस्त सम्भावना रहेको उहाँले औँल्याउनुभयो । कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य प्रस्तुतिका साथै फागूपूर्णिमाको अवसरमा रङ्गोत्सव मनाइएको थियो । कार्यक्रममा कायरोस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिज्ञ, पत्रकार, व्यवसायी, विद्यार्थी एवं अन्य विशिष्ट व्यक्ति गरी करिब एकसय जना बढीको सहभागिता थियो ।    
    
 सो अवसरमा नेपालको झन्डा, पशुपतिनाथ मन्दिर र बुद्धका मूर्ति, गैँडा, हात्ती, करुवा, मुखुन्डो, खुकुरी, मयुर आँखी झ्याल, सिंगिङ बाउल, मादल, मुर्चुङ्गा एवं ढाकाका सजावट सामग्रीसहित नेपाली मौलिक कला तथा संस्कृति झल्किने विविध कलाकृति तथा हस्तकलाका सामग्री प्रदर्शन गरिएको थियो । साथै नेपालको पर्यटन प्रवद्र्धनसँग सम्बन्धित पुस्तिका र पोस्टर वितरण एवं नेपाल पर्यटन बोर्डद्वारा निर्मित नेपालबारे जानकारीमूलक श्रव्यदृश्यसमेत प्रस्तुत गरिएको थियो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend