Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी   


सूचना कुण्ड
गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी   


 सूचनाकुण्ड समाचारदाता

दोधारा चाँदनी, फागुन २६ :   
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका माया जोशीले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्दैआउनु भएको छ ।    
    
गड्यौला मलबाट थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने थाहा पाएपछि उहाँले कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित बाणीबाट गड्यौला ल्याएर मल उत्पादनमा लाग्नुभएको हो । “दुई वर्षअघि बैंकबाट रु पाँच लाख ऋण लिएर गड्यौला मल उत्पादन र बाख्रापालन सुरु गरेकी थिएँ”, उहाँले भन्नुभयो, “अहिले गड्यौला मलको माग धेरै बढेको छ, माग धान्नै सकस छ ।”    
    
जोशीले अहिले मल बिक्रीबाटै आत्मनिर्भर भएको बताउनुभयो । मल उत्पादनका लागि उहाँले बाख्रापालनसमेत गर्नुभएको छ । रासायनिक मलको विकल्पका रूपमा गड्यौला मलको प्रयोग गर्दा उत्पादन पर्याप्त हुने भएकाले पछिल्लो समय किसानले गड्यौला मल प्रयोग गर्न थालेका छन् । “रासायनिक मलले भन्दा गड्यौला मलले उत्पादन राम्रो हुन्छ ।” उहाँले भन्नुभयो, “केही समयअघिसम्म यसबारे ज्ञान नभएर प्रयोग गर्न डराउँथे ।”    
    
पछिल्लो समय केही किसानले धान, गहुँ, उखु र तरकारीखेतीमा गड्यौला मल प्रयोग गरेर हेर्दा उत्पादन राम्रो भएको देखेपछि यसको माग बढेको जोशी बताउनुहुन्छ । “अहिले मलको माग धेरै छ, मागअनुसार उपलब्ध गराउन सकेकी छैन”, उहाँले भन्नुभयो, “तरकारी र फूलमा प्रयोग गर्नका लागि यो मल बढी लैजाने गरेका छन् ।” उहाँले मल र बाख्राबाट वार्षिक रु पाँच लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो ।    
    
गोबर तथा खेतबारीबाट निस्कने कुहिने फोहरबाट मल उत्पादन गर्न सकिने जोशीले बताउनुभयो । “कुहिने फोहरबाट समेत गड्यौला मल उत्पादन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “बेला–बेलामा सिँचाइ गर्नुपर्छ, धेरै मेहनत लाग्दैन ।” गड्यौला मलले माटोको उर्वराशक्ति बढाउनुका साथै थोरै लागतमा धेरै उत्पादन गर्न सकिन्छ । यसका साथै मानवीय स्वास्थ्य र वातावरणीय सुधारका लागि पनि गड्यौला मलको प्रयोग गर्नु उपयुक्त हुन्छ । गड्यौला मल प्रतिकिलो रु ३५ का दरले बिक्री हुने गरेको जोशीले बताउनुभयो ।    
    
उहाँले भन्नुभयो, “गड्यौला प्रतिकिलो रु तीन हजारका दरले बिक्री हुन्छ ।” जोशीले गड्यौला र मल दुवै बिक्री गर्दैआउनु भएको छ । पछिल्लो समय यहाँका अन्य किसानले पनि गड्यौला मलको उत्पादन गर्न थालेका छन् । “यसमा धेरै मेहनत लाग्दैन, एकपटक गड्यौला ल्याएर राखे पुग्छ”, जोशीले भन्नुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend