Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सुदूरपश्चिम प्रदेशमा    ‘ओल्के’ चाड मनाइँदै   


सूचना कुण्ड
सुदूरपश्चिम प्रदेशमा    ‘ओल्के’ चाड मनाइँदै   

  
सूचनाकुण्ड समाचारदाता  
सुदूरपश्चिम, भदौ १: पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छर–छिमेकीलाई बाँडेर आपसमा मनाइने ‘ओल्के चाड’ आज सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ ।    
    
भाद्र सङ्क्रान्तिका दिन मनाइने यो पर्वको तयारीस्वरुप अघिल्लो दिनदेखि नै प्रत्येक घरमा मीठा–मीठा खानाका परिकार पकाउने तयारी गरिन्छ । कामका लागि बाहिर रहेकाहरू पनि यो चाड मनाउन आ–आफ्ना घर फर्किन्छन् ।    
    
ओल्के पर्वमा आफ्ना मान्यजन, इष्टमित्र र छर–छिमेकीलाई सगुनका रूपमा पिँडालुको ‘गाभा’ अर्थात् कलिलो पात, हरियो साग, दूध र दही आपसमा बाँडेर सम्मान गर्ने तथा आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा सुदूरपश्चिम प्रदेशमा वषौैँदेखि छ ।    
    
ओल्के पर्वका दिन विवाहिता छोरीलाई माइती घरमा आमन्त्रण गरी पुरी, बावर, माणा, निसौसे, गतानी डुब्कालगायत डोटेली खानाका मीठा परिकार खुवाउने चलन छ । माइतीघरमा आइपुग्ने ज्वाइँ–छोरीलाई मीठा खानाका परिकारका साथै शक्ति र गच्छेअनुसारको दान दक्षिणा दिएर स्वागत गर्ने गरिन्छ ।    
    
यस पर्वमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिसेर बनाइएको लेदोबाट हत्केला र खुट्टाको औँला रङ्गाइ रमाइलो गर्ने गरिन्छ । यसरी पिसेर लगाइएको भँगेरीको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने भई यसले वर्षात्को मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास छ ।    
    
रोगको सङ्क्रमणबाट बच्न हातखुट्टा रङ्गाइने हुँदा यसलाई शरीरबाट ‘लुतो फाल्ने’ चाडको रूपमा समेत लिइने गरिन्छ । डोटेली लोक सांस्कृतिको मौलिक पर्व ‘ओल्के’का अवसरमा प्रदेश सरकारले भदौ १ गते प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । युवायुवतीमाझ भने ओल्के पर्वले त्यति महत्व नराखेको पाइएको धनगढीका हेमराज भट्ट बताउनुहुन्छ । “युवा पुस्तालाई यस पर्वबारे त्यति चासो नहुँदा डोटेली मौलिक संस्कृतिका ओल्केजस्ता थुप्रै चाडपर्वको मौलिकता हराउन थालेको देखिन्छ”, उहाँले भन्नुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend