Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 मत्स्यनारायणमा भक्तजनको भीड   


सूचना कुण्ड
 मत्स्यनारायणमा भक्तजनको भीड   

सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ, साउन३० : करिब तीन वर्षको अन्तरमा पर्ने पुरुषोत्तममासमा मात्र मेला लाग्ने मत्स्यनारायण मन्दिर क्षेत्रमा भक्तजनको भीड बढ्न थालेको छ ।    
    
 चन्द्रागिरि नगरपालिका–९ मा पर्ने मन्दिरमा हाल दैनिक हजारौँ भक्तजनको भीड लाग्ने गरेको छ । मत्स्यनारायण कीर्तिपुर र सतुङ्गल दुवै स्थानबाट जान सकिन्छ । दुवैतिरबाट मत्स्यनारायण जान सार्वजनिक यातायात पाइन्छ ।    
    
 कीर्तिपुर नगरपालिकाको वडा नं ४ सँग जोडिएको मत्स्यनारायण क्षेत्र धार्मिकरूपमा महत्त्वपूर्ण भए पनि यसको प्रचारप्रसार गरी धार्मिक पर्यटक वृद्धिको काम हुन नसकेको स्थानीयवासीको गुनासो छ ।    
    
 भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यही ठाउँमा लिएर उहाँले वेदको रक्षा गर्नुभएको विषय विभिन्न पुराणमा उल्लेख गरिएको छ । मत्स्य अवताररूपी भगवान् विष्णुले जलमात्र पिएर सत्यव्रत राजासहित सप्तऋषिलाई मत्स्य पुराण सुनाउनुभएको थियो भन्ने विश्वास गरिन्छ । भगवान् विष्णुले भक्तलाई रक्षा पनि गर्नुभएको थियो ।    
    
 पूर्वकल्पमा ब्रह्माजीको मुखबाट निस्किएको वेदलाई मायावी दानवराज ह्यग्रीवले नष्ट गर्न खोजेपछि भगवान् विष्णुले मत्स्य अवतार लिई वेदको रक्षा गर्नुभएको विषय मत्स्य पुराणलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।    
    
 पुरुषोत्तममासमा यहाँको कुण्डमा स्नान गरी मत्स्यरूपी भगवान् विष्णुको पूजा, आराधना एवं दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वासले महिनाभर यहाँ लाखौँ भक्तजन आउने गरेको मेला व्यवस्थापन समितिको सदस्यसमेत रहनुभएका ध्रुव बस्नेतले जानकारी दिनुभयो ।    
    
यहाँको कुण्डमा वर्षामा पानी सुक्ने र हिउँदमा पानी आउने अनौठो दृश्यसमेत देखिने गरेको उहाँले सुनाउनुभयो । हालसम्म २० लाखभन्दा बढी भक्तजनले मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेको मेला व्यवस्थापन समितिले जनाएको छ । साउन २ गते सुरु भएको पुरुषोत्तममास मेला साउन ३१ गते बुधबार सकिने समितिको संयोजकसमेत रहनुभएका चन्द्रागिरि नगरपालिका–९ का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिनुभयो ।    
    
 मूल मेला बुधबार सकिने भए पनि पूर्णाहुतिसहित मत्स्यनारायण मेलाको औपचारिक समापन भने भदौ १ गते गरिने उहाँले जानकारी दिनुभयो । मेलाको सुरुका दिनमा भन्दा अन्तिम समयतिर धेरै भक्तजन मत्स्यनारायण मन्दिर क्षेत्रमा आएको जनाइएको छ । मत्स्यनारायण शब्द अहिले अपभ्रंश भएर मच्छेनारायण भएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend