Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

पशुपतिनाथ मन्दिर प्रवेश गराइयो नवनियुक्त भट्ट अडिगालाई 


सूचना कुण्ड
पशुपतिनाथ मन्दिर प्रवेश गराइयो नवनियुक्त भट्ट अडिगालाई 

सूचनाकुण्ड समाचारदाता   

काठमाडौँ, साउन २४ ः    पशुपति क्षेत्र विकास कोषले नवनियुक्त भट्ट वी यस विनय अडिगालाई आज विधिवत् रुपमा पशुपतिनाथको मूलमन्दिरमा प्रवेश गराएको छ । विधिवत् रुपमा पशुपतिनाथ मन्दिर प्रवेश गर्नुभएका भट्ट अडिगालाई मूल भट्ट गणेश भट्टले पाशुपत दीक्षा प्रदान गर्नुभएको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो ।    
    
नवनियुक्त भट्टले आर्यघाटअघिको विष्णुपादुकामा बसी प्रायश्चित्त गोदान गरेर पशुपति क्षेत्रका विभिन्न देवीदेवताको विधिअनुसार दर्शन र परिक्रमा गरी मन्दिर प्रवेश गर्नुभएको हो । नवनियुक्त भट्ट अडिगाले भण्डारेश्वर–ताम्रेश्वर–खञ्जनेश्वर–कृष्णेश्वर–शङ्कराचार्य मठ–झम्केश्वर– पशुपतिस्थित चाँगुनारायण– आगमघर–रुद्रगारेश्वर– वासुकीनाथको मन्दिर हुँदै पशुपति मूलमन्दिरस्थित बूढानीलकण्ठ–आर्यघाट–भद्रेश्वर–चतुःषष्टि लिङ्गबाट मूलभट्ट निवास–कुमारीस्थान–कीर्तिमुख भैरव–उन्मत्तभैरव आदि देवीदेवताको दर्शन एवं पूजा आराधना गर्दै पशुपतिनाथ मूल मन्दिर प्रवेश गर्नुभएको हो । उहाँलाई मूलभट्टले पाशुपत दीक्षासहित मन्दिर प्रवेश गराउनुभएको थियो ।    
    
 नियुक्तिपछि भट्ट अडिगा पाँच दिनसम्म पहिले बम्बै ढुकुटी घर भएको स्थान हाल श्रीकृष्ण मन्दिरसँगै गुप्तवास बस्नुभएको थियो । मूलभट्ट संयोजकत्वको विद्वत् परिषद्को सिफारिसमा भट्ट अडिगालाई पशुपति क्षेत्र विकास कोषले अनुमोदन गरेको थियो ।    
    
दक्षिण भारतको त्रिलिङ्गी ब्राह्मण परिवारका अडिगा पशुपतिनाथको दक्षिण मुहारको पुजारीका रुपमा नियुक्त हुनुभएको कोषका प्रवक्ता एवं कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो । यस मुहारका पुजारी रमाकारान्त भट्टले करिब चार महिनाअघि स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिनुभएको थियो । राजीनामा दिएको चार महिनामा प्रशासनिकलगायत प्रक्रिया पूरा गरी उहाँलाई दक्षिण मुहारको पुजारीका रुपमा नियुक्त गरिएको हो ।–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend