Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

  बजारीकरण नहुँदा गाउँमै कुहियो प्याज


सूचना कुण्ड
  बजारीकरण नहुँदा गाउँमै कुहियो प्याज

सूचनाकुण्ड समाचारदाता 
बझाङ, साउन २१ : खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँका शेरबहादुर कार्कीले प्याज खेती गर्न थालेको डेढ दशक भइसक्यो । प्याजखेतीमा अब्बल कृषकको पहिचान बनाउनुभएका कार्कीलाई गत वर्षयता भने पछुतो लाग्न थालेको छ । मेहनतको फल (प्याज)ले भान्छा नपाएपछि शेरबहादुरको घरमा निराशा छाएको छ ।    
    
 घरको भान्छा हुँदै पालिकाबासीलाई समेत तरकारी खुवाउने सपना देख्नुभएका शेरबहादुरले छिमेकीको अधियाँ जमिन थपेर पनि उत्पादन बढाउनुभएको थियो । हरेक वर्ष जमिनसँगै प्याजखेती थप्ने शेरबहादुरलाई उत्पादनमा भने कमी कहिल्यै भएको थिएन । पर्याप्त उत्पादन हुने तर बजारीकरणको समयमा बिर्को लाग्ने समस्याले भने कार्की कहिल्यै सन्तोषजनक हुन पाउनुभएन ।    
    
 यो सिजनमा पनि शेरबहादुरले २० क्विन्टलको हाराहारीमा प्याज फलाउनुभयो । मनसुनको सुरूआतसँगै बारीको सबै प्याज भित्र्याउनुभएका कार्कीलाई अहिले सोही प्याजको गन्धले सताएको छ । “रातदिन मेहनत गरेर धेरै प्याज फलाइयो”, उहाँ भन्नुहुन्छ, “अहिले कुहिएर घर नै गनापट्ट (गन्धमय) छ ।”    
    
 शेरबहादुरका अनुसारका उहााको प्याज अढाई क्विन्टल जति गाउँमै किनबेच भयो । “पल्लो गाउँबाट आएकाले खाद्यान्नसँग प्याज साटेर पनि लिए । किन्नेले पनि २०/२५ रुपैयाँ प्रतिकेजीमा लिए । अब नौ क्विन्टलको हाराहारीमा छ । बाँकी सबै कुहिएर फालिसक्यौँ”, कुरा गर्दै उहाँको अनुहार मलिन हुन्छ ।    
    
 राजुदेवी बिष्टको बारीमा यस वर्ष झण्डै पौने केजी बराबरको एकै दाना प्याज फल्यो । हिउँदभरको गोठेमल हाल्नुको परिणाम भन्दै धेरैले प्रशंसा पनि गरे । खेतभरि गहुँ लगाउने योजना रद्द गरी दशौँ क्विन्टल प्याज फलाउँदासमेत अहिले भोकमरीको जोखिम भएको छ ।    
    
 “खेतमा गहुँ छर्ने भन्दै आफन्तबाट बीउ ल्याएका थियौँ”, उहाँले भन्नुभयो, “छिमेकीको सल्लाहमा एक्कासि गहुँ छर्ने योजना रद्द गरेर प्याज लगायौँ । त्यसको उत्पादन पनि सोचेभन्दा राम्रो भयो । तर, किन्ने मान्छे कोही आएनन् । सात÷आठ कट्टा कुहिइसक्यो । अब बजार खोज्न कहाँ जाऊँ !”    
    
 यसपटक विष्टको परिवारले करिब १७ क्विन्टल बराबर प्याज उत्पादन ग¥यो । डेढ क्विन्टल बिक्री भएको र दुई क्विन्टल जति वल्लोपल्लो गाउँमा आफन्तलाई दिएकोबाहेक सबै प्याज थन्किएको छ । “त्यसमध्ये पनि दैनिक तीन/चार किलो बराबर कुहिन थालेको छ । प्याजका लागि गहुँ पन्छ्याउँदा अहिले खाद्य सङ्कट हुनेजस्तो छ”, उहाँले भन्नुभयो ।    
    
 सुतारीगाउँमा कार्की र विष्टको जस्तै समस्या सबै गाउँलेको छ । पछिल्लो केही वर्षयता सबै किसान गहुँ छोडेर प्याज खेतीतर्फ आकर्षित भएपछि उत्पादन ह्वात्तै बढेको थियो । स्थानीय राजेश कार्कीले भन्नुभयो, “सुतारीगाउँको माटो प्याजकै लागि मात्रै उपयुक्त रहेछ । अन्य खेती गर्दा यस्तो उत्पादन हुँदैन । गाउँलेले धेरै प्रकारको खेती गरे तर, प्याज मात्रै अत्यधिक फल्न थाल्यो ।”    
    
 राजेशका अनुसार सुतारीगाउँमा ३४/३५ परिवारले प्याजखेती गर्छन् । “एउटै परिवारले पनि कम्तिमा १८÷२० क्विन्टल प्याज फलाउँछन्”, उहाँ भन्नुहुन्छ, “फलेकोमध्ये धेरै परिवारको आधा भागजति कुहिसक्यो ।” बजारका लागि गाउँ गाउँमा जाँदा पनि बिक्री नहुने गरेको उहाँले बताउनुभयो ।    
    
 “राज्यले सङ्कलन केन्द्र बनाएर बजारीकरण गरिदिए कृषकलाई धेरै हौसला मिल्ने थियो । उत्पादन अझै बढ्थ्यो”, राजेशले भन्नुभयो, “सुतारीगाउँमै जिल्लाभरिलाई पुग्ने प्याज फल्छ । तर, बाहिरको आयातलाई प्राथमिकता दिएको सरकारले हाम्रो उत्पादनलाई ख्यालै गरेन । यदि सरकारले बजारका लागि उचित व्यवस्था गरिदिने हो भने बेहिसाबले प्याज फलाई दिन्थ्यौँ ।”    
    
 सुतारीगाउँमा प्याजको जसरी अरू तरकारी फल्दैन । “प्याज भने बाटोको तलमाथि खसेको भए पनि राम्रो गानु (फल) लागेको हुन्छ”, उहाँ भन्नुहुन्छ । कार्कीका अनुसार गाउँभर करिब साढे तीन सय क्विन्टल प्याज अहिले नै कुहिसक्यो । “अहिले बचेको प्याजलाई पनि जोगाउन सकिएन भने असोजदेखि नै आफैँले किनेर खानुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो ।    
    
 यता खप्तडछान्ना गाउँपालिकाका कृषि शाखा प्रमुख गौरीशङ्कर रोकाया भने सुतारीगाउँको प्याजले बजार नपाएको बारे आफूलाई जानकारी नभएको बताउनुहुन्छ । “सुतारीगाउँमा प्याज उत्पादन धेरै हुन्छ भन्ने त थाहा थियो । तर, यसपटक कति उत्पादन भयो भन्ने कृषकले हामीलाई खबर नै गर्नुभएन”, उहाँले भन्नुभयो, “उहाँहरूले जानकारी गराउनुभएको भए सबै प्याज ढुवानी गरिदिन्थ्यौँ ।” अहिले पनि प्याज बचेको भए कृषकको मागअनुसार बजारका लागि ढुवानी गर्न सक्ने उहाँले बताउनुभयो ।    
    
 रोकायाका अनुसार कृषि शाखाले गाउँपालिकास्तरीय कृषक सञ्जाल गठन गरेको छ । कृषक र पालिकाको समन्वय बढाउन गठन गरिएको सञ्जालमा सबै गाउँबाट सदस्य छन् । “सञ्जालका सदस्यले गाउँका कृषकका गतिबिधिबारे जानकारी दिनुहुन्छ । सुतारीगाउँमा पनि दुई जना सदस्य हुनुहुन्छ । उहाँहरूले जानकारी नै दिनुभएन । समयमै जानकारी आएको भए प्याज कुहिने थिएन”, रोकायाले भन्नुभयो ।    
    
 अहिले पनि कृषकले प्याज बेच्नका लागि पालिकासँग समन्वय गरेमा तुरून्तै बजारसम्म पु¥याउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरूले बेच्न चाहनुभयो भने कृषि शाखासँग समन्वय गर्नुपर्छ । तुरून्तै बजारसम्म पु¥याउँछौँ ।”    
    
 यता कृषि ज्ञानकेन्द्रका बझाङका प्रमुख टेकबहादुर विष्टले भने खप्तडछान्नाको प्याज ढुवानी गर्न सडकले साथ नदिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “खप्तडछान्नामा प्याज धेरै नै उत्पादन हुन्छ । तर, मनसुन सुरू, प्याज कोर्ने सिजन र सडक बिग्रने समय एउटै भएको हुँदा बजारसम्म ल्याउन सकिएन ।”    
    
 विष्टका अनुसार प्याज जेठ अन्तिम सातासम्म कृषकले भित्र्याइसक्छन् । मनसुन पनि त्यसै समयदेखि सुरू हुन्छ । सडक बन्द हुने पनि त्यही समय हो । “प्याजको आयु लामो पनि हुँदैन”, विष्टले भन्नुभयो, “एक/दुई महिनामै बन्द कोठामा थन्क्याएको प्याज कुहिन थाल्छ । भण्डारण गर्न कोल्डस्टोर नभए जोगाउनसमेत कठिन हुन्छ ।”    
    
 परम्परागत तरिकाले कृषकले आलु राख्दा पनि बढी कुहिएको उहाँले बताउनुभयो । “बन्द कोठामा राखेर पनि बढी कुहिन्छ”, प्याज राखेको कोठामा चारैतिरका झ्याल खुला गरेर राख्न सुझाव दिँदै उहाँले भन्नुभयो ।    
    
 खप्तडछान्नामा अधिकांशले आफूलाई पुग्ने गरी प्याज फलाउने गरेको विष्टको बुझाइ छ । “खप्तडछान्नामा धेरैले आफूलाई पर्याप्त हुने गरी प्याज लगाउनुहुन्छ । उहाँहरूले खासै किन्नुहुन्न । बढी उत्पादन गर्ने कृषकका लागि सडकले धोका दिन्छ । पालिकाभन्दा बाहिर जान पाउँदैन ।”    
    
 जिल्लाभरको अवस्था हेर्दा भने खोलानाला नजिक मात्रै कृषकले प्याज रोप्ने गरेको विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “खोलानाला, कुलो नजिक भएका कृषकले आफूलाई पुग्ने गरी प्याज रोप्छन् । बाँकी सुक्खा ठाउँमा भने यसको उत्पादन नै छैन । जिल्लाभरको तथ्याङ्क हेर्दा भने ६० हेक्टर जति जमिनमा प्याज उत्पादन भइरहेको छ ।”    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend