सूचनाकुण्ड समाचारदाता
काठमाडौँ, साउन ९: वरिष्ठ उद्योगपति एवं समाजसेवी बनवरीलाल मित्तलको स्मृतिग्रन्थ ‘बनवरीलाल मित्तल एक प्रेरणा पुरुष’ सार्वजनिक भएको छ । श्री एयरलाइन्सका संस्थापक अध्यक्षसमेत रहनुभएका मित्तलको जीवनीमा आधारित स्मृतिग्रन्थको आज एक कार्यक्रमकाबीच मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले लोकार्पण गर्नुभयो ।
मित्तलको स्मृतिमा बनवरीलाल स्मृतिग्रन्थ प्रकाशन समितिले प्रकाशनमा ल्याएको उक्त ग्रन्थमा ख्यातिप्राप्त विभिन्न व्यक्तित्वहरुको एक सय ४७ वटा लेख समेटिएको छ । ती लेखमा राजनीतिज्ञदेखि उद्योगपति, विभिन्न पेसा र व्यवसायमा आबद्ध विशिष्ट व्यक्तिले मित्तलको व्यक्तित्व र जीवनसँग जोडिएका विषय स्मृतिग्रन्थमा समावेश गरिएको छ । साहु हनुमानप्रसादका छोरा बनवरीलाल मित्तलको विसं १९९२ चैत १० गते जन्म भएको थियो । उहाँको विसं २०७२ मङ्सिर ९ गते निधन भएको थियो । उद्यमशीलताका बुहविधाबाट मित्तलको व्यावसायिक जीवन प्रारम्भ भएको थियो । उहाँले निर्माण व्यवसाय, पूर्वाधार विकास, व्यवसायका अतिरिक्त पश्मिना, गलैँचा, तयारी पोसाक, चिया खेतीको उद्यमतालाई विदेश निर्यात गर्नुभएको थियो । ६४ वर्षको उमेमार श्री एयरलाइन्सको स्थापना गरी हवाई सेवा उद्योगमा पनि मित्तलले उल्लेखनीय योगदान गर्नुभएको छ ।
सो अवसरमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले मुलुकको आर्थिक र सामाजिक क्षेत्रमा बनवरीलाल मित्तलको उल्लेखनीय योगदान रहेको उल्लेख गर्दै उहाँको जीवन र तत्कालीन परिवेशलाई सङ्ग्रहित ग्रन्थ उपयोगी हुने बताउनुभयो ।
उहाँले मित्तलजस्तो बहुआयामिक व्यक्तित्वका बारेमा समेटिएको ग्रन्थले समाजलाई नयाँ आयाम दिने विश्वास व्यक्त गर्नुभयो । नेपालको इतिहासको कुनै कालखण्डमा पारिवारिक विरासत कायम गरेको मित्तल परिवारले उद्यमशीलताको प्रवद्र्धन, सामाजिक कार्य र धार्मिक चेतना अभिवृद्धिमासमेत महत्त्वपूर्ण योगदान रहेको उहाँले स्मरण गर्नुभयो ।
संस्कारयुक्त शिक्षा नै समाज रुपान्तरणको आधार हो भन्दै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले मित्तल परिवारको कुशल अभिभावकीय, शिक्षा र संस्कार समाजका लागि प्रेरणादायी भएको उल्लेख गर्नुभयो । “बनवरीलाल मित्तलमा प्रष्ट विचार, उपयुक्त दृष्टिकोण र अध्यात्मिक चरित्र थियो जसले समयको महत्व बुझ्ने र जीवनलाई सधैँ सक्रिय बनाइराख्नुभयो उहाँबाट समाजले धेरै कुरा अनुशरण गर्नसक्नुपर्छ”, उहाँले भन्नुभयो ।
उहाँले देशमा पलायन भइरहेको युवाशक्तिलाई रोक्न र स्वरोजगारी बनाउन अशल, सुसंस्कारयुक्त शिक्षा र चेतना आजको अपरिहार्य भएको बताउनुभयो । स्मृतिग्रन्थको समीक्षा गर्दै डा गोविन्द टण्डनले मित्तलको जीवनीसँग जोडिएका तत्कालीन परिवेशका जीवन्त तस्बीर स्मृतिग्रन्थमा भेटिने भन्दै यो कालजयी कृतिको रुपमा आएको विश्वास व्यक्त गनुृभयो । एक अशल अभिभाव भएर कसरी घरपरिवार मात्रै हैन देश समाजलाई योगदान दिनसक्छ भन्ने सन्देश ग्रन्थले लिएको उहाँले उल्लेख गर्नुभयो ।
अर्का समीक्षक प्राध्यापक शिवगोपाल रिजालले मित्तल बहुआयामिक व्यक्तित्व भएको र उहाँले आर्थिक, सामाजिक र सांस्कृति क्षेत्रमा अनुललिनय योगदान गरेको उल्लेख गर्नुभयो ।
उद्यमी एवं साहित्यकार वसन्त चौधरीले बनवरीलाल मित्तलको नेपालको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । बनवरीलाल स्मृतिग्रन्थ प्रकाशन समितिका संयोजक एमडी अग्रवालले उद्यमी, परोपकारी, समाजसेवी, पर्यटन अभियान्ता, धार्मिक तथा सांस्कृतिक समाज सुधारका रुपमा परिचित मित्तलको नेपालको आर्थिक, धार्मिक र सामाजिक क्षेत्रमा प्रभावशाली भूमिका रहेको उल्लेख गर्नुभयो ।
श्री एयरलाइन्सका कार्यकारी अध्यक्ष सुधीर मित्तलले बनवरीलाल मित्तल कुशल अभिभावक, सफल उद्यमी, सामाजिक र धार्मिक व्यक्तित्व रहेको र उहाँको प्रेरणाबाट उद्योग व्यवसायलाई निरन्तर अघि बढाइएको बताउनुभयो ।
–––
