Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 सहर झरेर कृषि उद्यम  


सूचना कुण्ड
 सहर झरेर कृषि उद्यम  

सूचनाकुण्ड समाचारदाता  
गण्डकी, साउन ९ : रमेश श्रेष्ठ विदेशको रहरले आठ वर्षअघि दोलखाको मेलुङबाट काठमाडौँ झर्नुभएको थियो । उमेर छँदै कमाउने सोचले पहिलोपटक घर छोड्नुभएका उहाँ महिनौँसम्म म्यानपावर कम्पनी धाउनुभयो । विदेशको सपना बीचमै त्यागेर श्रेष्ठले एकाएक बाटो मोड्नुभयो । पोखरामा उहाँका दाइ देव पहिलेदेखि नै रेष्टुराँ चलाउनुहुन्थ्यो । दाइकै सल्लाहमा श्रेष्ठ पनि २०७२ सालको हिउँदतिर पोखरा आउनुभयो । दाइभाइ मिलेर नयाँ व्यवसायको योजना बुने ।    
    
 “विदेशको काम नबनेपछि दाइले पोखरा बोलाउनुभयो, पोखरामा व्यावसायिक तरकारी खेतीको सम्भावना देखेपछि दाइभाइ मिलेर कृषि फार्म सुरु ग¥यौँ”, ३८ वर्षीय श्रेष्ठले भन्नुभयो, “अहिले २४ रोपनी जग्गामा तरकारी खेती गरेका छौँ ।”    
    
 सुरुमा चाउथेमा छ रोपनी जग्गाबाट सुरु गरेको ‘श्रेष्ठ कृषि फार्म’ अहिले पोखरा महानगरपालिका–२६ आशीर्वाद मार्गसम्म विस्तार भएको छ । “पहिलो वर्ष इलामबाट बाँस ल्याएर १८ टनेलमा तरकारी खेती सुरु गरियो”, श्रेष्ठले भन्नुभयो, “त्यतिबेला चाउथेमा कृषि फार्म हाम्रो मात्र थियो, अहिले जस्तो बस्ती विस्तार भइसकेको थिएन, हामीले टनेल राख्दा खेतै ढाकिएजस्तो देखिएको थियो ।”    
    
 प्रतिरोपनी वार्षिक रु २१ हजार तिर्ने गरी जग्गामा भाडा ल्याएर कृषि फार्म चलाइएको श्रेष्ठले बताउनुभयो । पछि उहाँका दाइ देव कृषि पेसाबाट हात झिकेर पुरानो रेष्टुराँ व्यवसायमै केन्द्रित हुनुभयो । यता श्रेष्ठले कृषि फार्म एक्लै हाँक्न थाल्नुभयो । तीन वर्षयता फार्मको सबै जिम्मेवारी उहाँकै काँधमा छ ।    
    
 “दुवै ठाउँमा गरेर २४ रोपनी जग्गामा तरकारी खेती लगाएका छौँ, गत हिउँदमा मात्रै झन्डै रु नौ लाखको काँक्रा बेचेँ”, उहाँले भन्नुभयो, “फार्ममा मौसमी र बेमौसमी तरकारी उत्पादन हुँदै आएको छ ।” फार्मबाट वार्षिक रु ३० लाख जतिको कारोबार हुन्छ ।    
    
 “वर्षको १२÷१५ लाख रुपैयाँ कमाउन विदेश जानु पर्दैन, सीप जानेको र मेहनत गर्न सक्नेले कृषिबाटै भविष्य बनाउन सक्छन्”, श्रेष्ठले भन्नुभयो, “हामी पनि बाहिरबाट आएर पोखरामा सङ्घर्ष गरिरहेका छौँ, सफलतामा पुग्न त अझै बाँकी नै छ ।”    
    
 कृषि उपार्जनका लागि पोखरा उब्जाउ क्षेत्र भएको थाहा पाएपछि दाइको साथ लाएर कृषिमा होमिएको उहाँले बताउनुभयो । “घरबाट विदेश जान भनेर निस्केको थिएँ, तर कर्मले यता डो¥यायो, आज म यसैमा खुसी र सन्तुष्ट छु”, श्रेष्ठले भन्नुभयो ।    
    
 फार्ममा दुई जनाले रोजगारी पाएका छन् । कृषि व्यवसायमा उहाँलाई श्रीमती सुनिताको दरिलो साथ छ । छोरा सागर र छोरी रक्षा विद्यालय पढ्दैछन् । कृषिप्रतिको लगाव र प्रतिफल देखेर उहाँको कृषि फार्मलाई पोखरा महानगरले गत महिना रु ६२ हजार प्रोत्साहन रकम दिएको थियो । त्यसअघि उहाँले महानगरबाटै प्लास्टिक पोखरी र मिनिटिलर हलो अनुदानमा पाउनुभएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाबाट एक रोपनी क्षेत्रफलमा आधुनिक प्रविधियुक्त ‘हाइटेक टनेल’ निर्माणका लागि रु १६ लाख अनुदान पाएको श्रेष्ठले बताउनुभयो ।    
    
 यसैगरी ‘श्रेष्ठ कृषि फार्म’सँगै जोडिएको छ ‘एस्कोल कृषि फार्म’ । सो फार्म बागलुङको पाण्डवखानीका कर्ण पुनले सञ्चालन गर्नुभएको हो । चौध वर्षअघि पोखरा झर्नुभएका उहाँ पनि कृषिबाट चिनिएका पात्र हुनुहुन्छ । पुनले १७ रोपनी जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ ।    
    
 पुनले कृषि फार्म खोलेको भर्खर दुई वर्ष बितेको छ । त्यसअघि रिठ्ठेपानीमा चार वर्ष तरकारी खेती र केही वर्ष रामबजारमा किराना पसल चलाएको अनुभव पुनसँग छ । कोभिड–१९ महामारीमा अन्य व्यवसाय खुम्चिएपछि पुनः कृषितिरै फर्किएको उहाँले सुनाउनुभयो । “२२ टनेलमा तरकारी खेती छ, अहिलेसम्म झन्डै रु २० लाख जति लगानी भइसकेको छ, यस वर्ष रु ३० लाखको कारोबार गर्ने र रु १५ लाख बचाउने लक्ष्य छ”, पुनले भन्नुभयो । उहाँको फार्ममा मुख्य गरी साग, काँक्रो, गोलभेँडा, घिरौँला लगायतको खेती हुन्छ । हिउँदमा बन्दा र काउली पनि लगाउने गरेको पुनले बताउनुभयो ।    
    
 गत वर्ष तरकारी बेचेर रु सात लाख कमाएको उहाँले बताउनुभयो । उत्पादन गर्न सकेमा बेच्न समस्या नरहेको भन्दै पुनले पोखरामा सञ्चालित तरकारी बजारबाट सहज रुपमा कृषि उपज बिक्री हुँदै आएको बताउनुभयो । “कृषि बजार व्यवस्थापन समितिले पनि किसानलाई राम्रो सुविधा दिएको छ, बजार व्यवस्थापन पनि चुस्त छ”, उहाँले भन्नुभयो, “उत्पादन भएको तरकारी कहाँ बेचौँ भन्नुपर्ने अवस्था छैन ।”    
    
 चार वर्ष कारिया बसेर २४ वर्षअघि घर फर्कनुभएका पुनले केही वर्ष बागलुङ सदरमुकाममा होटल व्यवसाय पनि गर्नुभएको थियो । होटल व्यवसाय खस्कँदै गएपछि सपरिवार पोखरा झरेर कृषिमा सङ्घर्ष सुरु गरेको उहाँले बताउनुभयो । “कृषिमा मेरो पहिलेदेखिकै रुचि थियो, पोखरामा खाली जग्गा पाएपछि व्यावसायिक रुपमा तरकारी खेती सुरु गरेँ”, पुनले भन्नुभयो, “भने जति जग्गा र लगानीको जोहो हुन सके तरकारी खेतीलाई अझै विस्तार गर्ने सोचमा छु ।”    
    
 बेमौसमी तरकारी खेती विस्तारमा गत महिना उहाँले पोखरा महानगरबाट रु एक लाख ५१ हजार प्रोत्साहन रकम पाउनुभएको थियो । महानगरबाट असिना छेक्ने जाली, कास्कीस्थित कृषि ज्ञान केन्द्रबाट टनेल र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट मिनिटिलर हलोमा अनुदान पाएको पुनले सुनाउनुभयो ।    
    
 “सानोतिनो अनुदान दिनुभन्दा वास्तविक किसान पहिचान गरेर राज्यले बिनाधितो ऋण दिने सुविधा ल्याउन सके किसानलाई ठूलो फाइदा पुग्ने थियो”, ५६ वर्षीय पुनले भन्नुभयो, “राम्रो नीति र किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन सके कृषिबाटै देशले काँचुली फेर्न सक्छ, यसतर्फ राज्यको ध्यान जानुपर्छ ।”    
    
 पुन पनि सपरिवार पोखरामै बस्नुहुन्छ । श्रीमती कुन्दरासहित उहाँ आफैँ पनि दैनिक फार्मको काममा खटिनुहुन्छ । छोरी सविना स्नातकोत्तर र छोरा जीवन स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । छोराछोरीको पढाइदेखि घरव्यवहार फार्मकै आम्दानीबाट धानिने गरेको छ । कृषिबाट कमाएको पैसाले पोखरामा घडेरीसमेत जोड्नुभएको छ । लगानी जुटाउन सके पाँच÷सात जनालाई रोजगारी दिने गरी तरकारी खेती विस्तार गर्ने योजना उहाँको छ । पुनको फार्ममा एकजना श्रमिकले नियमित रोजगारी पाउनुभएको छ भने आवश्यकताअनुसार ज्यालादारीमा पनि कामदार खटिने गर्छन् ।    
    
 दोलखाका श्रेष्ठ र बागलुङका पुनलाई जोड्ने सेतु नै कृषि बनेको छ । गाह्रोसाह्रोमा दुवैले एकापसमा सघाउँछन् । कृषिका ज्ञान र अनुभव साँट्छन् । पोखरा महानगरको कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले श्रेष्ठ र पुनले तरकारी खेतीमा नमूनायोग्य काम गरेको बताउनुभयो ।    
    
 “बाहिरी जिल्लाबाट पोखरा आएर अर्कैको जग्गामा ठूलो लगानी र श्रम खर्चनुभएको छ, मेहनत गरे कृषिमा अवसर छ भन्ने उदाहरुण पनि हो यो, स्वदेशमै केही गर्नुपर्छ भन्ने युवाका लागि उहाँहरु प्रेरणा बन्नुभएको छ”, कडरियाले भन्नुभयो, “उहाँहरु जस्ता व्यावसायिक किसानको हित र उत्थानका लागि महानगर सधैँ साथमा छ ।”    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend